गिरिजाप्रसाद कोइरालाले भारतीय मूलका तर बेलायती व्यापारी दिनेश धमिजालाई आफ्नो व्यक्तिगत मनोमानीको आधारमा निगमको युरोपका लागि मुख्य एजेन्ट बनाए । जुन ‘धमिजा काण्ड’को नामले चर्चित छ ।
२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनाछि भएको सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड हो धमिजा । तत्कालीन शाही नेपाल वायु सेवा निगमको दुर्गतिको दिन त्यहीबाट सुरुआत भएको हो । निगमले विमान किन्ने तयारी गरेको थियो । यो २०५० सालतिर कुरा हो ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वायुसेवा निगमको कामकारबाहीमा हस्तक्षेप गरे । यसमा गिरिजाप्रसाद कोइरालाले भारतीय मूलका तर बेलायती व्यापारी दिनेश धमिजालाई आफ्नो व्यक्तिगत मनोमानीको आधारमा निगमको युरोपका लागि मुख्य एजेन्ट बनाए । जुन ‘धमिजा काण्ड’को नामले चर्चित छ । भारतीय मूलका बेलायती व्यापारी धमिजालाई निगमको युरोपेली सञ्चालन विभागको निर्देशक बनाइदिए । उनी निर्देशक भएर आउनुमा प्रधानमन्त्री कोइरालाकी छोरी सुजाता कोइराला निकट सम्बन्ध मुख्य कारण थियो ।
धमिजा सुजाताका साथी थिए । धमिजा काण्डले सुजातालाई चर्चामा ल्यायो । उनी त्यसअघि राजनीतिमा थिइनन् । र, त्यही काण्डपछि राजनीतिमा पनि सक्रिय भइन् । टेन्डर आह्वान नगरी धमिजालाई युरोपभरको एकाधिकार दिएपछि तत्कालीन विपक्षी दल एमालेले चर्को स्वरमा विरोध गर्यो । उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदनले धमिजालाई युरोपभरको एकाधिकार दिने निर्णयबाट निगमलाई करिब ४० करोड ५५ लाख रुपैयाँ नोक्सान भएको जनाएको थियो ।
अव्यावसायिक र अविश्वसनीय कम्पनीलाई सीधै एजेन्ट तोकेर विभिन्न जिम्मेवारीहरू दिएपछि ठूलो विवाद भयो । कोइरालाले निगमलाई सुधारका लागि भन्दै हस्तक्षेप गरे । उनले धमिजालाई ५५ करोड मूल्यको टिकट बिक्री गर्न युरोपका लागि एजेन्ट तोकिदिए, त्यो पनि बिनाप्रतिस्पर्धा नै ।
धमिजाको युरोपमा एक पाउन्डबराबरको सेयर भएको कम्पनी थियो । त्यतिबेला पनि संसद्को लेखा समितिमा नै यसबारे प्रश्न उठेको थियो । धमिजा निर्देशक भएर आएपछि निगमलाई ठूलै घाटा लगाए जसका कारण उनले निकै ठूलो अदालती कारबाही भोग्नु परेको थियो । तर त्यो केस पनि त्यतिकै तुहिएर गयो ।