हत्केलामा ज्यान, कतिखेर के हुन्छ थाहै छैन ?

कर्णालीमा भीरको बाटो नहिँडी सुखै छैन

कर्णालीमा भीरको बाटो नहिँडी सुखै छैन
कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकास्थित रेगिलदेखि लालीघाट जाने बाटोमा पर्ने भीर । तस्बिर : बिस्नप्रसाद न्यौपाने

कर्णाली प्रदेशमा सामाजिक अपराधहरूको प्रमुख कारण नै मदिरा रहेको सरकारी तथ्यांक छ।

वीरेन्द्रनगर : उसै त कर्णाली विकट। त्यसमाथि रात दिन भीरसँग पौठेजोरी गर्नैपर्नेयहाँका बासिन्दाको बाध्यता। वस्तुभाउ चराउन होस कि, घाँस दाउरा गर्न, भीरको यात्रा नगरी सुखै छैन। विद्यालय, अस्पताल पुग्न पनि भीर काट्नै पर्ने बाध्यता छ।

त्यसैकारण, कर्णालीमा बर्सेनि ५० जनाभन्दा बढीले भीरबाट लडेर ज्यान गुमाउँछन्। प्रहरीका अनुसार तीन वर्षमा मात्रै भीरबाट लडेर १ सय ६४ को ज्यान गएको छ। कर्णालीमा कुनै न कुनै भीरबाट बर्सेनि मान्छे खसिरहन्छन्। अर्थात्, यहाँ मान्छे नखसेका भीर नै छैनन्भन्दा पनि अत्युक्ति नहोला।  

कालिकोट पचालझरना–७ मा पर्ने नागाको भीरबाट खसेर स्थानीय रज ऐडीको हालै मृत्यु भयो। पचालझरना–८ की तारा सन्ज्यालले पनि घाँस काट्न जाँदा भीरबाट खसेर ज्यान गुमाइन्। सामल पिस्न घट्ट हिँडेका रवीन्द्र सन्ज्याल पनि बयालझरनाको भीरबाट झरे, फर्केर आएनन्। कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार कर्णालीमा घाँसदाउरा गर्दा, बाटोमा हिँड्दाहिँड्दै चिप्लिएर, ढुंगा खसेर, खर काट्ने बेलामा भीरबाट लडेर बर्सेनि दर्जनौं व्यक्तिले ज्यान गुमाउने गरेका छन्।

गत वर्ष मंसिर २४ गते फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा काम गरिरहेका ५ जनाको एकै चिहान भयो। लालीघाट भीरबाट डोजर खस्दा सान्नीत्रिवेणी–१ का १७ वर्षीय चरित्र विक र १४ वर्षीय युवराज बुढासहित उमेश गिरी, रक्तिम विक र अछाम घर भएका चालक कमल सोडारीको निधन थियो। त्यही भीरबाट लडेर बर्सेनि दर्जनौंले ज्यान गुमाउने गरेको स्थानीय बताउँछन्। कालीकोटमा यस्ता दर्जनौं भीर छन्।

पलाताको रिखाखोटी भीर, पचालझरनास्थित नागभीर, चिहाणपानी भीर, गडुलगाड खोलाभीर, भंकको भीर, रास्कोटस्थित थोल्मको भीर, सान्नीत्रिवेणीस्थित आम्तडा भीर, नरहरिनाथस्थित माल्कोटको भीर, खाँडाचक्रमा कर्फुको भीर, ताडीको भीर, पिलीको भीरलगायतका अक्करे चट्टानी भीरले हरेक वर्ष ज्यान लिइरहन्छन्।

  null

कालीकोटको पचालझरना गाउँपालिका–७ नानिकोटस्थित बर्सेनि घाँस काट्न जाँदा मान्छे लड्ने नागको भीर।  तस्बिर : बिस्नप्रसाद न्यौपाने

कालीकोट मात्र होइन, सिंगो कर्णाली भीरको राजधानी होभन्दा फरक नपर्ला। जिल्लैपिच्छे दर्जनौं संख्यामा भीर छन्। तिनलाई मान्छे खाने भीर भनेर चिन्छन्, यहाँका बासिन्दाले। 

जाजरकोटको बारेकोट गाउँपालिकामा मात्र बर्सेनि भीरबाट खसेर दर्जनभन्दा बढी मानिसले ज्यान गुमाउने गरेका छन्। यस्तै जाजरकोटकै नलगाड नगरपालिकाको गेरेनी भीरबाट लडेर ज्यान गुमाउनेको संख्या पनि धेरै छ। कर्णाली राजमार्गको कालीकोट खण्ड एसमोडको भीरमा हरेक वर्ष गाडी खस्छ। साँघुरो सडक भएकाले अग्लो डरलाग्दो भीरबाट गाडी खस्दा हालसम्म ३५ भन्दा बढीले ज्यान गुमाइसकेका छन्। 

स्थानीय मानबहादुर बिष्टका अनुसार यस मोडमा मात्र विगत चार वर्षयता गाडी र ट्रक गरी ११ वटा दुर्घटना भएका छन। ‘यहाँ गाडी खसे मान्छे बाँच्ने सम्भावना नै छैन,’ विष्ट भन्छन्, ‘११ पटक भएको दुर्घटनामा ३५ जनाभन्दा बढीले ज्यान गुमाइसके।’ 

कर्णालीमा भीरबाट लडेर र रूखबाट खसेर ज्यान गुमाउनेको तथ्यांक भीरभन्दा पनि डरलाग्दो छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा गत तीन आर्थिक वर्षमा भीरबाट लडेर मात्र १ सय ६४ जनाले ज्यान गुमाएका छन्। आर्थिक वर्ष २०७७/०७८ मा ३९ जना, आर्थिक वर्ष २०७८/०७९ मा २ जना, आर्थिक वर्ष २०७९/०८० मा ७२ जनाले ज्यान गुमाए।

भीरबाट ज्यान गुमाउनेमा सल्यानमा धेरै 

प्रदेश प्रहरी कार्यालयका अनुसार तीन वर्षमा सल्यानमा सबैभन्दा बढी ३५ जनाले भीरबाट लडेर ज्यान गुमाएका छन। सुर्खेतमा ११, दैलेखमा १६, कालीकोटमा २४, जाजरकोट २६, , रुकुममा १९ जना, जुम्लामा १०, मुगुमा ७, हुम्लामा ३, डोल्पामा २ जनाले भीरबाट खसेर ज्यान गुमाएका छन्।

जोखिमयुक्त बाटोमा चिप्लिएरै २३ जनाले ज्यान गुमाएका छन्। यस्तै रूखबाट खसेर मात्र कर्णालीमा गएको तीन वर्षमा २१ जनाले ज्यान गुमाएको प्रहरीको भनाइ छ। कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी ढकाल भौतिक पूर्वाधारको अभावमा कर्णालीका नागरिकले अनाहकमा ज्यान गुमाउनु परिरहेको बताउँछन्। 

nullकालीकोटको तिलागुफा नगरपालिका–७ छाप्रेमा बर्सेनि पहिरो खस्दा मानवीय क्षति हुँदै आएको छ।  

सडकजस्तो भौतिक पूर्वाधारको अभावमा यहाँका बासिन्दाले अनाहकमा ज्यान गुमाइरहेका छन्,’ ढकालले भने, ‘यहाँका बासिन्दाले नैसर्गिक अधिकार नपाएकामा कसैको चासो देखिँदैन।’ डर लाग्दालाग्दै पनि भीरको बाटो हिँड्नुपर्ने कर्णालीको बाध्यतालाई सबैले सुन्नुपर्ने उनको भनाइ छ। 

सामाजिक अभियन्ता हिरासिंह थापाले भने, ‘कर्णालीमा जोखिमयुक्त सडक, भीरका बाटो, घाँस दाउरा गर्ने डर लाग्दा भीरले बर्सेनि मान्छे खाइरहेका छन्। सरकारले ती भीरमा लडेर अकालमै ज्यान गुमाउने नागरिकको बाँच्न पाउने अधिकारको हनन् गरेको छ।’ संविधानमा सबै नागरिकको बाँच्न पाउने अधिकार मौलिक हकका रूपमा व्यवस्था गरिएको छ र व्यवहारमा अधिकार महसुस गर्न नपाउँदा मानिसको बाँच्न पाउने अधिकार प्रत्याभूत नभएको थापाको दाबी छ। ‘जोखिमयुक्त कर्णाली राजमार्ग, गाउँका भीरका बाटोको सुधार जस्ता आधारभूत कामहरू पनि गर्न सरकार चुकिरहेका छ,’ थापाले भने।

प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार गत तीन आर्थिक वर्षमा मात्र जाजरकोट, रुकुम, कालीकोट, डोल्पा, सुर्खेत, सल्यान, मुगु हुम्लाजस्ता जिल्लाका डरलाग्दा भीरपाखामा लडेर ज्यान गुमाउनेको संख्या निकै धेरै छ।

आर्थिक वर्ष २०७७/०७८, २०७८/०७९ र २०७९/०८० मा भवितव्यमा मात्र ७ सय ५५ जना नागरिकले अकालमै ज्यान गुमाएका छन्। यसलाई बिभिन्न क्षेत्रगत रूपमा हेर्दा गत तीन आर्थिक वर्षमा भीरबाट लडेर मात्र १ सय ६४ जना, खोलाले बगाएर र पानीमा डुबेर १ सय ६५ जनाले ज्यान गुमाएका छन्। बाढी र पहिरोमा परी १ सय ३९ जनाले ज्यान गुमाएका छन्। आगलागी, मदिरा सेवन, चिप्लिएर, करेन्ट लागेर रूखबाट खसेर, ढुंगा लागेर, माटोको ढिस्कोले पुरिएर, पखाला लागेर, घरको छानो भत्किएर, पिङबाट खसेर, बिस्फोटक पदार्थ पट्किएर, नदीले बगाएर जस्ता बिभिन्न २९ वटा कारणले २ सय ९८ जना नागरिकले अकालमै ज्यान गुमाएका छन्। 

कालीकोटको खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीले भने, ‘हरेक वर्ष रूख र भीरबाट लडेर धेरै नागरिकहरूले ज्यान गुमाइरहेका छन्। बर्सेनि दर्जनौँ मानिसहरूले रूख, भीरबाट लडेर र नदीमा बगेर ज्यान गुमाउनुपर्ने बाध्यता छ।’ निकै डरलाग्दा भीर पाखा, भीरालो जमीन, खाँडाचक्र नगरपालिकाका दुईवटै छेउबाट तिला र कर्णाली नदी, बाढी र पहिरोका पनि उत्तिकै जोखिम भएकाले मानिसले अकालमै ज्यान गुमाउनु पर्ने समस्या रहेको शाही बताउँछन्। ‘कसरी हुन्छ अब जोखिम कम गर्न नगरपालिकाले जोखिमयुक्त बाटोको सुधार, मेला जानुपर्ने समस्या कम गर्न खेतबारीमै घाँस खेती जस्ता कार्यक्रमहरू अगाडी बढाउने तयारी गरेको छ,’ शाहीले भने। कर्णालीमा लडेर ज्यान गुमाउनेमा अधिकांश चौपाया पाल्ने किसान छन्।

कालीकोटको पचालझरना गाउँपालिकाकी पूर्वउपाध्यक्ष तारा न्यौपानेले भनिन्, ‘रूखभीरबाट बर्सेनि मृत्यु हुन थालेपछि खेतबारीमै डालेघाँस लगाउन उत्प्रेरित गर्नेदेखि नांगो भीरपाखामा बोटबिरुवा रोप्ने अभियान चलाएका थियौं। तर, खडेरीले लगाएका बिरुवा बचाउनै मुस्किल भयो। नांगा डाँडाहरू जस्ताका तस्तै छन्। मानिसले घाँस दाउरा गर्नकै लागि भीरबाट ज्यान गुमाउनुपर्ने बाध्यता पनि अन्त्य भएन।’ 

सडक दुर्घटनामा पनि उस्तै

कर्णालीमा सवारी दुर्घटनाबाट पनि ज्यान गुमाउनेको संख्या पनि उस्तै छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार ०७० साल देखि ९ वर्षमा मात्रै कर्णालीमा १ हजार ८ सय २१ वटा सडक दुर्घटना भएका छन्। यी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ सय ९१ छ।

यस्तै दुर्घटनामा परी १ हजार ५ सय २७ कर्णालीवासी गम्भीर घाइते भएका छन्। यी दुर्घटनाको सामाजिक, मानवीय र भौतिक क्षतिको हिसाबकिताब गर्नै कठिन छ। प्रदेश ट्राफिक प्रहरीको तथ्यांकका अनुसार कर्णालीमा बर्सेनि सडक दुर्घटनाको संख्या बढिरहेको छ।

null

सुरक्षित सडकमा नागरिकहरूले यात्रा गर्न पाउने उनीहरूको अधिकार हो। तर, कर्णाली राजमार्ग सञ्चालन भएको १७ वर्ष बितिसक्दा पनि स्तरोन्नती नहुँदा नागरिक अकालमै ज्यान गुमाउन बाध्य छन्। यो पनि एक प्रकारको गम्भीर मानव अधिकार उल्लंघन रहेको बताउँदै अधिवक्ता दुर्गा साप्कोटाले भने, ‘बर्सेनि मानिसले जोखिमयुक्त यात्राकै कारण ज्यान गुमाइरहेका छन्। सरकारको ध्यान त्यतातिर पुगेको छैन। हरेक वर्ष संघीय सरकारले बजेट ल्याउँदा कर्णाली राजमार्गको स्तरोन्नति गरिनेछ भन्छ। तर, स्तोरोन्नति भने कहिलै हुँदैन। सरकारले कर्णालीका नागरिकमाथि गम्भीर लापरबाही गरिरहेको छ। यसले दुर्घटनाको जोखिम बढाइरहेको छ।’

दुर्घटनाको मुख्य मदिरा 

कर्णाली प्रदेशमा सामाजिक अपराधहरूको प्रमुख कारण नै मदिरा रहेको सरकारी तथ्यांक छ। प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा मदिरा सेवन गरी २ सय ४९ वटा घटना भएका थिए। जसमा सवारी दुर्घटना १३, जबरजस्ती करणी ३७, जबरजस्ती करणी उद्योग ७, हत्या २, ज्यान मार्ने उद्योग १७, अभद्र व्यवहार ५५, घरेलु हिंसा १ सय १४, अपराधिक उपद्रव ४ वटा घटना भएका थिए।  

यस्तै आर्थिक वर्ष ०७८/०७९ मा मदिरा सेवन गरी सवारी दुर्घटना ८, जबरजस्ती करणी १६, जबरजस्ती करणी उद्योग १६, हत्या १, ज्यान मार्ने उद्योग १७, अभद्र व्यवहार ५३, अपराधिक उपद्रव ३, घरेलु हिंसा १ सय १९ घटना भई प्रहरीमा उजुरी दर्ता भएका छन्।

आर्थिक वर्ष ०७९/०८० मा मदिरा सेवन गरी सवारी दुर्घटना १४, जबरजस्ती करणी १८, जबरजस्ती करणी उद्योग ७, हत्या ७, ज्यान मार्ने उद्योग १४, अभद्र व्यवहार ७२, अपराधिक उपद्रव ४, घरेलु हिंसा १ सय २३ गरी २ सय ५९ वटा घटनाहरू भएका थिए। मदिरा सेवन गरेर यस्ता घटना भएको भन्दै प्रहरीसमक्ष उजुरी आउने गरेका छन। कर्णालीमा ९० प्रतिशत घटना मदिराका कारण हुने गरेको प्रहरीको भनाइ छ। 

तीन वर्षभित्र भवितव्यमा ज्यान गुमाउनेको संख्या : ७ सय ५५ जना
खोलाले बगाएर र पानीमा डुबेर : १ सय ६५ जना
बाढी र पहिरोमा परी : १ सय ३९ जना
जोखिमयुक्त बाटोमा चिप्लिएर ज्यान गुमाउने : २३ जना 
रूखबाट खसेर ज्यान गुमाउनेको : २१ जना  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.