सडकमा बेवारिसे भेटियो चार महिने शिशु, बारा प्रहरीद्वारा उद्धार
![सडकमा बेवारिसे भेटियो चार महिने शिशु, बारा प्रहरीद्वारा उद्धार](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_nfdbmEHObz_GOQ185hyiQ.jpg)
सिमराः बारा र रौतहटको सिमानामा पर्ने धन्सार पुल नजिकको सडकमा मंगलबार बेवारिसे भेटिएको चार महिने शिशुलाई प्रहरीले उद्धार गरी अस्पताल लगेको छ।
इलाका प्रहरी कार्यालय निजगढको प्रहरीले टोलीले सडक छेउमा फेला परेको शिशुलाई उद्धार गरेर कलैयास्थित अस्पताल लगेको हो।
सडक छेउमा बालकलाई बेवारिसे अवस्थामा देखेपछि यात्रुले प्रहरीलाई खबर गरेका थिए। यात्रुको सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले शिशुलाई उद्धार गरेर अस्पताल लगेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
शिशुलाई कलैयास्थित प्रादेशिक अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ। प्रहरी उपरीक्षक बोगटीले शिशुलाई सडकमा छोड्ने व्यक्तिको खोजी भइरहेको जानकारी दिए।
बोगटीका अनुसार शिशु फेला परेको घटना सार्वजनिक भएलगत्तै अभिभावकत्व लिनका लागि केही व्यक्तिले चासो देखाएका छन्।
पहिला अभिभावकको खोजी गरिने र अभिभावकको अवस्था पत्ता नलागेमा शिशुको पालनपोषण गर्न सक्ने व्यक्तिलाई कानुनी प्रक्रिया पूरा गरी दिइने बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)