मिथिला नगरपालिकाले बल्ल ल्यायो नीति कार्यक्रम, बजेटमा अझै ढिलाइ

मिथिला नगरपालिकाले बल्ल ल्यायो नीति कार्यक्रम, बजेटमा अझै ढिलाइ
सुन्नुहोस्

ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। 

एक महिना ढिलो गरी भएको नगरपालिकाको नगरसभाको १२ औं अधिवेशनमा आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम पेश गरिएको हो।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐनको प्रावधान अनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेश गर्नुपर्छ। 

तर, मिथिला नगरपालिकाले एकमहिना भन्दा बढी ढिलो गरी आयोजना गरेको नगरसभामा भने बजेट प्रस्तुत गरेनन्। आर्थिक वर्ष २०८०/०८१ बजेट आन्तरिक तयारी नपुगेको कारण सभामा प्रस्तुत नगरिएको नगरपालिका कार्यालय श्रोतले जनाएको छ।

ढल्केवरस्थित कबर्ड हलमा आयोजित नगरसभामा नगरपालिकाका मेयर महेन्द्र महतोले चालु आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम मात्र प्रस्तुत गरे। मेयर महतोले सभामा पेश गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ। 

१५ शैय्याको अस्पतालको पूर्वाधार निर्माण कार्यलाई प्राथमिकतामा राखी अस्पताल सञ्चालनको व्यवस्था मिलाइनुका साथै ढल्केवरमा ट्रमा सेन्टर स्थापना हुने कार्यका लागि संघय सरकारसँग आवश्यक समन्वय गरिने नीति लिएको मेयर महतोले बताए। 

उनका अनुसार शिक्षित तथा दक्ष जनशक्ति स्थानीय स्तरमै उत्पादन गर्न स्नातक तह अध्ययन गर्ने क्याम्पसको पूर्वाधार निर्माण गरी सञ्चालन गरिने नीति लिइएको छ।

मिथिला सागर पोखरीयालाई स्तरोन्नति गरी आम्दानीमुलक बनाइने योजना रहेको उनले सुनाए। ‘मिथिलाको पाहुना नगरको गहना’ भन्ने मूल नाराका साथ पर्यटन प्रबर्द्धन कार्यक्रम सञ्चालन गरिनुका साथै ‘पर्यटकको मित्र मिथिला चित्र’ कार्यक्रम मार्फत मिथिला चित्रकला मार्फत पर्यटन प्रवर्द्धनको कार्यक्रम सञ्चालन गरिने मेयर महतोको भनाइ छ। 

नगरसभामा पेश गरिएको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमले दूरगामी, उज्जवल एवं समृद्ध नगर निर्माणको आधार तयार गर्ने आफूले विश्वास लिएको मेयर महतोले बताए।

‘हाम्रो मिथिला हाम्रो शान : समृद्ध नगर हाम्रो अभियान’ लाई मूर्तरुप दिन असिमित सम्भावनाहरूलाई सदुपयोग गर्दै सम्मुनत नगर निर्माणका लागि सभाले तय गर्ने नीति कार्यक्रमले नगर विकासको लागि कोशेढुंगा सावित हुनेमा मेयर महतोले विश्वास व्यक्त गरे।

नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले भने नगरसभालाई बहिष्कार गरेको छ। सोमबार नगरसभामा एमालेबाट निर्वाचित उपमेयर सुनिता सिंह बुढाथोकीसहित एमालेबाट निर्वाचित कुनै पनि प्रतिनिधि उपस्थित थिएनन्। नगरसभामा गठबन्धन आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस सहितका दलहरूको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

नगरसभाको उदघाटन सत्रमा बोल्दै कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मिथिला नगरपालिकाको विकासको जिम्मा जनताले नेपाली कांग्रेसलाई दिएकाले यो नगरको विकास हुनेमा निश्चिन्त रहन आग्रह गरे।

कांग्रेसले गर्न थालेको विकास र नगरपालिकाको समुचित व्यवस्थापनबाट अत्तालिएर केही समूह नगरसभामा नआएको भन्दै उनले गठबन्धन आवद्ध शक्ति मिलेर नगरपालिकाको विकास गर्नुपर्नेतर्फ जोड दिए। 

चालु आर्थिक वर्ष २०८०/०८१को बजेट बाँडफाँटका लागि पाँच सदस्य समितिसमेत गठन भएको र बुधबार फेरि नगरसभा बैठक बस्ने मिथिला नगरपालिकाका प्रवक्ता रामबहादुर स्याङ्दनले जानकारी दिए।

नगरसभाको उद्घाटन सत्रमा नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री शत्रुधन महतो, माओवादी नेता रामकुमार महतो लगायतले शुभकामना मन्तव्य राखेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.