काठमाडौं : क्वीन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले राष्ट्रियसभा बैठक अवरोध गरेको छ। बैठक सुरू हुनेवित्तिकै एमाले सांसद भैरव सुन्दर श्रेष्ठले उच्चस्तरीय छानबिन समिति नबनाएसम्म बैठक अगाडि बढ्न नदिने चेतावनी दिए।
उनले सुन तस्करी प्रकरणमा एमाले टु्लुटुलु हेरेर बस्न नसक्ने बताए। श्रेष्ठले सुन तस्करी प्रकरणमा देखिएको घटनाक्रम हेर्दा सरकारमा रहेका व्यक्तिहरुको संलग्नता र सेटिङ भएको देखिएको आरोप लगाए।
एमाले सांसदहरूले अवरोध जारी राखेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यस विषयमा सरकारको ध्यानाकर्षण गराउने भन्दै बैठक सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाउन पनि आग्रह गरे।
पटक पटक आग्रह गर्दा पनि एमाले सांसदहरूले आफ्नो अडान नछोडेपछि अध्यक्ष तिमिल्सिनाले बैठक साउन २२ गते सोमबार सम्मका लागि स्थगित गरेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !