सिमसारमा डुबेर किशोरको मृत्यु
विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–५ स्थित हसिया सिमसारमा डुबेर शुक्रबार दिउँसो एक किशोरको मृत्यु भएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका–३ घर भएका १६ वर्षीय अभिनन्दन आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार साथीहरूसँग सिमसार घुम्न गएका आचार्य दिउँसो सवा ३ बजेतिर पौडी खेल्न भनेर बाँधको पानीमा छिरेका थिए।
पौडी खेल्न नजान्ने उनको दहबाट बाहिर निस्कन नसक्दा डुबेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। डुबेको ठाउँबाट शव निकालेर प्रहरीले पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको छ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक उदय शम्शेर राणा नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार किशोरसँगै घुम्न गएका अरू साथीहरू भने सकुशल छन्।