माओवादी केन्द्रको तीन महिने विशेष रुपान्तरण अभियान
हरेक वडाका प्रत्येक घरमा पुग्न कार्यकर्तालाई दाहालको निर्देशन

काठमाडौं : नेकपा माओवादी केन्द्रले तीन महिने रुपान्तरण विशेष अभियान सञ्चालन गर्ने भएको छ। केन्द्रले भदौ १६ गतेदेखि तीन महिनासम्म विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने भएको हो।
गत मंसिरमा भएको निर्वाचनमा तेस्रो पोजिसनमा खुम्चिएको माओवादी केन्द्रले संगठन विस्तार गर्न रुपान्तरण अभियान सञ्चालन गर्न लागेको हो।
केन्द्रीय कमिटीको बैठकको समापन समारोहलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रत्येक वडाका प्रत्येक घरघरमा पुगी अभियान सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्।
दाहालले भने, 'वडाका कुनै पनि घर छुट्नु हुँदैन। यो अभियानले नयाँ पार्टी निर्माणमा सहयोग गर्छ।' अध्यक्ष दाहालले अझैं पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूले पार्टीलाई घेराबन्दीमा पारिरहेको बताए।
दाहालले पार्टी एक ढिक्का भएर अघि बढ्ने विश्वास व्यक्त गरे। उनले अहिले सरकारले थालेका सकारात्मक कामहरू जनतासँग स्थापित गरेर परिवर्तनको स्वामित्व लिनेगरी नागरिकसमक्ष जान एकजुट भएको बताए।
दाहालले माओवादी केन्द्रले देशको फेरि नेतृत्व लिनेगरी अगाडि बढेको उद्घोष गरे।
प्रतिक्रिया दिनुहोस !
