लथालिंग पार्टी सुधार्न माओवादी घर–घर पुग्ने

लथालिंग पार्टी सुधार्न माओवादी घर–घर पुग्ने
केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहाल ।

काठमाडौं : कसैले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाए त कसैले विधि र नीति मिचिएको भन्दै प्रचण्डको आलोचना गरे। पार्टी ‘सकिने बाटो’मा रहेको भन्दै चिन्ता गर्ने केन्द्रीय सदस्यको संख्या पनि उस्तै थियो। 

पाँच दिनसम्म चलेको माओवादी केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष प्रचण्डमाथि सयौं प्रश्न तेर्सिए। परिवारवाद, नातावाद र भ्रष्टाचारका विषय पनि उठान भए। ती सबै प्रश्नको जवाफ प्रचण्डले आइतबार एकमुष्ठ रूपमा दिए। अन्तिममा ‘प्रचण्ड’ जिन्दावादको नारा घन्काउन लगाएर बैठक अन्त्य भएको घोषणा गरियो। 

झन्डै तीन दशकदेखि पार्टीमा एकछत्र नेतृत्व गरेका प्रचण्डको कार्यशैलीमाथि केन्द्रीय कमिटीमा आलोचना त भयो। तर, कसैले पनि प्रचण्डको विकल्पका विषयमा शब्दसम्म उच्चारण गरेनन्। उपमहासचिव वर्षमान पुनसहितका केही नेताले प्रचण्डको ‘उत्तराधिकारी’ को हो ? भनेर नेतृत्व विकास गर्नुपर्ने माग त गरे। तर, प्रचण्डले त्यसलाई सुनेको नसुनेकै झै गरे। पार्टीमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न प्रचण्डले आत्मालोचना गरेपछि बैठकमा खुसियालिको माहौल बन्यो। सभाकक्षमा पत्रकारलाई पनि प्रवेश दिइयो। त्यसपछि पार्र्टी महासचिव देव गुरुङले नारा लगाउन आग्रह गरे। बैठकका सहभागीले ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड–लालसलाम’ भन्दै नारा घन्काए।

सामूहिक नेतृत्वमा चल्नुपर्ने भन्ने नेताहरूलाई प्रचण्डको जवाफ थियो, ‘हामी अब विधि र पद्धतिभन्दा बाहिर जानेछैनौं। पार्टीे प्रमुखको नेतृत्व वरिपरि गोलबन्द भएर जनतासँग सम्बन्ध स्थापित गर्छौं।’ यतिभन्दै हौसिएका केन्द्रीय सदस्यहरूले परर ताली पिटे। अध्यक्ष प्रचण्डले थपे, ‘हामी सबै भावनात्मक रूपले पनि एक जुट भयौं। माओवादी केन्द्र अब फेरि जाग्ने छ। माओवादीले देशको फेरि नेतृत्व लिने गरी अगाडि बढ्ने छ।’

पार्टी बैठकमा उठेका विषय वस्तुमा धेरै सजीव र जीवन्त ढंगबाट बहस र छलफल भएको उनले दाबी गरे। ‘बैठक नयाँ संवाद र निष्कर्षसहित सम्पन्न भयो,’ उनले भने। आफू नेतृत्वको सरकारले जनतामा सुशासनको आशा जगाएको प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले बताए। ‘सरकारले राज्यमा रहेका बेथिति हटाउँछ। जनतालाई सुशासन दिन्छ।’ बैठकपछि माओवादीका नेताहरूले पार्टी विधिविधान र सिस्टममा चल्ने आशा पलाएको बताएका छन्। केन्द्रीय सदस्य रामकुमार शर्माले बैठकले समाजवादी अभियान चलाउन ल्याएको कार्यक्रम र लिएको नीति राम्रो रहेको बताए।

‘यसपटकको बैठक ऐतिहासिक भयो,’ उनले भने, ‘एउटा नयाँ मोडमा पार्टी अघि बढ्छ भन्ने विश्वास छ। पार्टीले बनाएको तीन महिने कार्यक्रम एकदम वैज्ञानिक छ। कार्यविभाजन पनि राम्रोसँग भएको छ। जनताको घरघरमा माओवादी पार्टी पुग्नेबारे ल्याइएको अभियान राम्रो छ।’ अर्का केन्द्रीय सदस्य लेखनाथ दाहाल (राजन)ले पार्टी पंक्ति एकताबद्ध भएर जनताको दैलोमा पुग्ने र जनताका समस्या सुन्दै संगठन निर्माण गरिने बताए। 

‘संगठनात्मक क्षेत्रमा देखिएका अराजकता, अनुशासनहिनता, गुटगत मानसिकता र भ्रष्ट आचरणलाई नियन्त्रण गर्ने गरी बैठकबाट कार्यविभाजन बदलिएको छ,’ उनले भने, ‘सबै नेताहरूले आफ्नो कमजोरीको निर्मम समीक्षा गरेका छन्। त्यो कमजोरी नदोहोरिने गरी अन्तर जिल्ला नेतृत्व प्रदान गर्ने निर्णय भएको छ।’

पार्टी रूपान्तरणको अभियानबाट नेताहरू पनि रूपान्तरण हुने उपमहासचिव मातृका यादवले बताए। ‘हामी ठुल्ठूला चुनौतीको सामना गर्दै आएका छौं। विश्वास छ पार्टी निर्माण गर्ने अभियान पनि सफल हुन्छ,’ उनले भने, ‘हाम्रो पार्टी एकदमै लथालिङ थियो। अध्यक्षले बैठकमा पार्टी छ कि छैन भन्नेबारे कुरो उठाउनुभयो। जुन प्रश्न उठेको थियो त्यसको जवाफ आएको छ।’ जनताको बीचमा जाने अभियानले सबैमा उत्साह भरेको बताउँदै उनले थपें, ‘समाजवादको तयारीको अभियानका लागि बैठकले नयाँ अधार तयार पारेको छ।’

तीन महिने अभियान चलाइने

माओवादीले संगठन निर्माणका लागि तीन महिने अभियान चलाउने निर्णय गरेको छ। ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गर्ने अध्यक्ष दाहालले घोषणा गरे। सबै वडास्तरमा गएर जनतासँग छलफल गर्ने र संगठन निर्माण गर्ने बैठकले निर्णय गरेको छ। यो अभियान भदौ १६ गतेदेखि मंसिर १५ गतेसम्म सञ्चालन हुनेछ। अभियानमा पार्टी अध्यक्ष दाहाल पनि खट्ने भएका छन्। उनी सातवटै प्रदेशको सातवटा वडामा जाने छन्।

अध्यक्ष दाहालले भने, ‘पार्टीका सबै केन्द्रीय सदस्य र पार्टीका लिडरहरू जनताको दैलोमा जान्छौं। जनताको समस्या समाधान गर्न नयाँ पहल लिन्छौं।’ तीन महिने अभियानले पार्टीलाई नयाँ उज्यालो दिने उनले विश्वास व्यक्ति गर्दै भने, ‘नेपाल राज्यभित्रका सबै घरमा जान्छौं।’ अभियानपछि विधान सम्मेलन गर्ने बैठकले निष्कर्षमा निकालेको छ। यसपछि विशेष महाधिवेशन आयोजना गर्ने माओवादी केन्द्रले जनाएको छ।

नेताहरूको जिम्मेवारी हेरफेर

बैठकले नेताहरूको कार्यविभाजन हेरफेर गरेको छ। पार्टी अध्यक्ष दाहालले पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेर नयाँ जिम्मेवारी तोकेका छन्। उपमहासचिव वर्षमान पुनलाई उपत्यका विशेष प्रदेशको जिम्मेवारी तोकिएको छ।

बागमती प्रदेशको इन्चार्जमा उपमहासचिव जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ। सचिव देवेन्द्र पौडेललाई गण्डकी प्रदेशको इन्चार्ज बनाइएको छ। सुदूरपश्चिममा डिलाराम आचार्यलाई पठाइएको छ भने हितमान शाक्यलाई लुम्बिनी प्रदेशको इन्चार्ज बनाइएको छ। कोसीमा चक्रपाणि खनाल, मधेसमा लीलामणि पोखरेल र कर्णाली प्रदेशमा मातृका यादवलाई जिम्मेवारी दिइएको पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले जनाए।

जनवर्गीय संगठन विभाग प्रमुखमा पम्फा भुसाल, पार्टी प्रवक्ता तथा प्रचार विभागमा अग्निप्रसाद सापकोटा, बुद्धिजीवीमा दीनानाथ शर्मा, विज्ञान तथा प्रविधि विभागमा गणेश साह र प्रवासमा राम कार्कीलाई जिम्मेवारी प्रदान गरिएको छ। यसैगरी समाजवादी मोर्चा र पार्टी एकता संयोजनको जिम्मा उपाध्यक्ष कृष्णबहादुर महरालाई दिइएको छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.