चीन जोड्ने सडक ठाउँ ठाउँमा अवरुद्ध

चीन जोड्ने सडक ठाउँ ठाउँमा अवरुद्ध

सिन्धुपाल्चोक : नेपाल–चीन जोड्ने अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको खाडीचौर–कोदारी सडक खण्ड अवरुद्ध भएको छ। बलेफी गाउँपालिका-८ जुरेदेखि सीमा क्षेत्र कोदारी, मितेरी पुलसम्मका सडकखण्डमा पहिरो र ढुङ्गा खसेर सडक खण्ड अवरुद्ध भएको हो। 

ठाउँ ठाउँमा पुरानो पहिरो खस्ने, ढुङ्गा खस्ने, ठाडो खोलामा बाढी आउने भएकाले सवारी साधनमा जोखिम मोलेर यात्रु आउजाउ गर्ने गरेका छन्। सडकको अवस्था कन्तविजोग भएपछि यातायात र पैदलयात्रामा अति जोखिम भइरहेको तातोपानीका स्थानीय कर्मा शेर्पाले बताए।

सो सडक खण्ड अन्तर्गत बाह्रबिसेदेखि तातोपानीसम्म पहिरोको जोखिम बढेको छ। २६ किलोमिटर लामो सडक खण्डको ठाउँ ठाउँमा पहिरो र भोटेकोशी नदीको कटानले सवारी साधन आवत जावतमा जोखिम बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

चाकु बजारभन्दा केही माथि रहेको झ्याले भीरबाट पहिरो आएर राजमार्ग दिनहुँ अवरुद्ध हुँदै आएको छ। ठाडो खोलाले साँधी खोल्सा खण्ड जीर्ण बनेको छ। डाक्लाङ सडकखण्ड चिराचिरा परेको छ। 

१० किलो, लार्चा खण्डमा पहिरोको जोखिम बढेको छ। बाह्रबिसेदेखि मितेरी पुलसम्मको सडकखण्डमा पहिरो आउने, भासिने, भोटेकोशी नदीको बाढीले तान्ने भएका कारण सवारी साधन आउजाउमा समस्या हुने गरेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेले जानकारी दिए।

सडक डिभिजन कार्यालय चरिकोटले बाटो सफा गर्न एउटा लोडर र एउटा ट्रकलाई नियमित काममा खटाएको छ। तर सडकभरि पहिरो, जताततै बाढीको कटान र कतिपय ठाउँमा सडक भासिएकाले सुधार गरेर साध्य नै नभएको डिभिजन कार्यालयले जनाएको छ।

कोदारी खण्ड, तातोपानी खण्ड, मितेरी पुल क्षेत्रका सडकमा माथिबाट ढुङ्गा खस्ने भएकाले सवारी साधन र पैदलयात्री उच्च जोखिममा भएको लार्चा प्रहरी चौकीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले बताए। वर्षासँगै भोटेकोशी नदीको बाढीले कटान र झ्याले, बसेरी, चाकु, झिर्पु, महभीर, सिरिसे, जम्बु, खाग्दल, दसकिलो, दुगुना, लिपिङ खण्डमा माथिबाट पहिरो आउने र ढुङ्गा खस्ने गरेको छ। ठाउँ ठाउँमा पुरानो पहिरो खस्ने, ढुङ्गा खस्ने, ठाडो खोलामा बाढी आउने भएकाले सवारी साधनमा जोखिम मोलेर यात्रु आउजाउ गर्छन्।

भूकम्प पछि मात्रै खाडीचौर–कोदारी सडक स्तरोन्नति गर्न १ अर्ब ३६ करोड रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ। चाइना रेलवे कन्स्ट्रक्सन ब्यूरो ग्रुप कम्पनीले भूकम्प पछि सडक फराकिलो र स्तरोन्नति गरेको थियो। 

कम्पनीले दोस्रो चरणको मर्मत अन्र्तगत सो सडक खण्डका विभिन्न १७ स्थानमा पहिरो नियन्त्रण र मर्मत सम्भारको काम समेत गरेको थियो। 

तर कम्पनीले राम्रो काम नगरेकोले अहिले खाडीचौर–कोदारी सडक खण्डको अवस्था नाजुक भएको अध्यागमन कार्यालय कोदारीमा कार्यरत कर्मचारी तिलक मगर बताउँछन्। ‘अन्तर्राष्ट्रिय नाका रहेको सडकको हालत यस्तो छ, कतिखेर पहिरोले सडक लैजाने हो भन्ने डरै डरमा रहनुपर्ने अवस्था छ’, उनले भने-‘दुर्घटनाको सम्भावना पनि अत्याधिक छ, यस्ता कुरामा माथिल्लो निकायबाट ध्यान दिनु जरुरी छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.