प्रधानमन्त्रीकै दलका प्रवक्ता भन्छन्- महँगी नियन्त्रणमा सरकार चुक्दैछ
काठमाडौं : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि सापकोटाले महँगी नियन्त्रणमा आफ्नै पार्टी अध्यक्ष नेतृत्वको सरकार चुकिरहेको बताएका छन्। दस वर्षपछि फेरि पार्टी प्रवक्ताको जिम्मेवारीमा आएका नेता सापकोटाले सञ्चारकर्मीसँग कुरा गर्दै महँगी नियन्त्रण गर्न आफू जोडले पार्टीभित्र कुरो उठाउने बताए।
‘महँगीको मारमा जन्ता छन्, मैले बुझेको छु। यसमा सरकारको पहल कदमी पुगेको छैन,' सञ्चारकर्मीको प्रश्नमा उनले भने, 'अनुगमन गर्ने र बदमासी गर्नेलाई कारबाही गर्ने कुरामा सरकारले सशक्त कदम चाल्नुपर्छ।’
महँगीको मारमा जनताहरू परेको बताउँदै उनले अब बस्ने पार्टीको पदाधिकारी बैठकमा यो कुरा सशक्तरूपमा उठाउने बताए। 'हुन्छ, गर्दैछौं, गरिनुपर्छ भन्ने उत्तर परम्परागत भयो नि? भन्ने प्रश्नमा उनले थपे, 'सिस्टम बसाल्ने कुरो पार्टीको मात्रै होइन, राज्यकै पनि हो। सिस्टम बसाल्न मुखले भनेर हुँदैन। काम गरेरै देखाउनुपर्छ।'
उनका अनुसार हालै सम्पन्न केन्द्रीय समितको बैठकमा पार्टीको ठोस कुरो भनेको सरकार र पार्टी नेतृत्व एक्सन ओरेन्टेड हुनुपर्छ। राष्ट्रिय जीवनका सबै क्षेत्र, पार्टी, अभियान सबै कामकाजी हुनुपर्छ। ‘जनताले महँगी घटेको थाहा पाउनुपर्छ। म पहल गर्छु। जोडजाड तरिकारले कार्यान्वयनमा ल्याउँछु,' उनले भने।
प्रतिक्रिया दिनुहोस !
