हात्ती दिवसमा सौराहामा वनभोज
भरतपुर : सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ। अन्तर्राष्ट्रिय हात्ती दिवसका अवसरमा युनाइटेड हात्ती सञ्चालन सहकारीले हात्तीको वनभोजको आयोजना गरेको हो।
चितवन राष्ट्रिय निकुञ्ज र सौराहाका व्यवसायीले पालेका सहित ६५ वटा हात्तीलाई वनभोज खुवाइएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्तीलाई केक खुवाएका थिए।
हात्तीलाई खीर, केक , उखु , कुची , सख्खर खुवाइएको थियो। पर्यटनमा पहिचान बोकेको हात्तीलाई बिदा दिएर वनभोज खुवाइएको युनाइटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष दिपेन्द्र खतिवडाले बताए।
निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय कुमार श्रेष्ठले नेपालमा हात्तीको अवस्था, महत्त्व, रहनसहन र स्याहार सुसारका विषयमा जानकारी गराएका थिए।
बासस्थानकै कारण हात्तीको संरक्षणमा चुनौती देखिए पनि संख्याको हिसाबमा चित्त बुझ्ने अवस्था भएको प्रमुख संरक्षण अधिकृत पुनले बताए।
खुम्चिँदै गएको वन क्षेत्रका कारण हात्तीको वासस्थान, वनविनाश, खानेकुरा र पानीको अभावले हात्ती संकटमा रहेको संरक्षणकर्मी रामकुमार अर्यालले बताए। हरेक वर्ष अगष्ट १२ मा अन्तर्राष्ट्रिय हात्ती दिवस मनाइन्छ।