आँखाको संक्रमण बढेसँगै स्याङ्जाका ४ नगरपालिकाका विद्यालय बन्द

स्याङ्जा : आँखा पाक्ने तथा दुख्ने संक्रमण बढ्न थालेपछि स्याङ्जा ४ वटा नगरपालिकाले विद्यालयका पठनपाठनका कार्य बन्द गर्ने सूचित गराएका छन्। चार पालिका अन्तरगतका सामुदायिक तथा संस्थागततर्फका विद्यालय बन्द गरिएका हुन्।
केही दिनदेखि आँखा पाक्ने रोग देखिएपछि पुतलीबजार, भीरकोट र गल्याङ् नगरपालिकाले थप संक्रमण फैलिन नदिनका लागि भन्दै ४ देखि ६ दिनसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। वालिङ नगरपालिकाले भने यसअघि नै बन्द गरिसकेको छ।
ग्रामिण क्षेत्रमा भन्दा बजार क्षेत्रका पालिकाहरुमा आँखा पाक्ने रोगको संक्रमण बढी देखिएको छ। विद्यार्थीका पढाइमा असर नपर्ने गरी हिउँदे तथा वर्षे बिदामा पढाउने गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिए। उनका अनुसार पुतलीबजारले आइतबारदेखि ५ दिन विद्यालय बन्द गर्ने भएको छ।
यो रोग संक्रामक भएकाले सजिलै सर्न सक्ने र धेरै संख्यामा यसको संक्रमण फैलन सक्ने बताइएको छ। आँखा पाक्ने रोगको संक्रमण रोक्न विद्यालय बन्द गरिएको गल्याङ् नगरप्रमुख गुरुप्रसाद भट्टराईको भनाइ छ।
आँखा रातो हुने, चिलाउने, आँखाबाट आँसु बगिरहने, कचेरा तथा चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने सुनिने, आँखा बिझाउने, दुख्ने, उज्यालोमा हेर्न कठिन हुने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराइ स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधी गर्न र घरमै आराम गरी सुरक्षित भइ बस्न सुझाव दिइएको भीरकोट प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए।
सरुवा रोग भएकाले संक्रमित व्यक्तिको नजिक नजाने, संक्रमित भिडभाडमा नजाने, संक्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै रुमाल, सिरानी तन्ना प्रयोग नगर्ने, तथा जथाभावी आँखा नछुने, आँसु पुछ्नु परेमा छुनु अगाडि र छोइसकेपछि राम्रोसँग साबुन पानीले हात धुने, व्यक्तिगत सरसफाइमा ध्यान दिने जस्ता कार्य गर्न सुझाव दिइएको छ।
प्रतिक्रिया दिनुहोस !
