लोकतन्त्रको लाभांश

लोकतन्त्रको लाभांश

लोकतन्त्रको धज्जी उडाउँदै र लोकतन्त्रलाई नै लज्जित तुल्याउँदै लुटतन्त्र मच्चाउनेहरूलाई न्यायको कठघरामा नउभ्याउँदासम्म र सर्वसाधारणले लोकतन्त्रको लाभांश उपभोग गर्ने अवसर नपाएसम्म लोकतन्त्रका लागि सहिद हुनेहरूको आत्माले पनि शान्ति पाउने छैन।

संसारमा राजनीतिक क्रान्ति किन हुन्छन् ?

परिवर्तनका लागि। शोषण र अन्याय–अत्याचारबाट मुक्तिका लागि। स्वतन्त्रता र समानताका लागि। समान अवसरका लागि। अनि आर्थिक विकास र समृद्धिका लागि। संसारभर राजनीतिक क्रान्तिको इतिहासको कुरै छोडौं। नेपालमा पनि समय–कालमा धेरै राजनीतिक क्रान्ति भए। राणाशासनविरुद्धको क्रान्तिदेखि राजाविरुद्धको क्रान्तिसम्म।

२००७ सालको क्रान्तिले देशमा प्रजातन्त्र आयो। निरंकुशताबाट देश मुक्त भयो। जनता स्वतन्त्र भए। पछिल्लो पुस्ताले देखेभोगेको राजनीतिक क्रान्ति २०४६ र २०६२–६३ को हो। २०५२ फागुन १ देखिको दसवर्षे माओवादी जनयुद्ध पनि हो। यी क्रान्ति र जनआन्दोलनहरूको समष्टि उपलब्धि भनेको देशमा बहुदलीय व्यवस्थादेखि लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धति लागू हुनु हो। स्वतन्त्रता र समानतालाई लोकतन्त्रको प्रमुख सिद्धान्त भनिएको छ। यी सिद्धान्तहरूको प्रतिबिम्ब कानुनसमक्ष सबै नागरिक बराबर हुने र राज्यको शक्तिमा सबैको समान पहुँच हुन्छ। सबै नागरिकले संविधानप्रदत्त स्वतन्त्रताको उपभोग गर्न पाउँछन् भनिएको छ।

तर जनताको उत्साहपूर्ण त्याग र बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थाले सबै जनतालाई बराबरको दृष्टिले हेर्न सकेको छ त ? सबै जनताले संविधानप्रदत्त स्वतन्त्रताको उपभोग गर्न पाएका छन् त ? राज्यको शक्तिमा सबै जनताको समान पहुँच पुगेको छ त ? अनि जनताले लोकतन्त्रमा प्राप्त हुने सबै प्रकारका सुख र सुविधा समान वा समावेशी ढंगले पाए त ?

यावत् प्रश्नको जवाफ नकारात्मक आउने अवस्था छ। तीतो यथार्थ ओकल्नुपर्दा अहिले देशमा जनतालाई लोकतन्त्रको अनुभूति नै भएको छैन। शासन पद्धतिको नाउँ फेरिएको छ, अवस्था उस्तै छ। शासन फेरिएको छ, शासकहरू उस्तै छन्। जनताको अवस्था जस्ताको तस्तै छ। बरु अझ दयनीय बन्दैछ।

धेरैवटा राजनीतिक क्रान्तिपछि आर्थिक क्रान्तिको सुनौलो अवसर प्राप्त भएको छ। तर त्यस्तो क्रान्ति हुनै सकेको छैन। त्यस्तो क्रान्ति गर्ने इच्छाशक्ति कुनै राजनेता वा कुनै शासकमा देखिएको छैन। अझै पनि राजनीतिक क्रान्तिको व्याख्या र त्यसको उपलब्धि संस्थागत गर्ने प्रयासमै सबै शक्ति उपयोग भइरहेको छ। लोकतन्त्रमा पनि जनताले पाउने सेवा र सुविधामा कुनै सुधार आएको छैन। सहजरूपमा सेवा र सुविधा पाउने अवस्था छैन। देशको कर्मचारीतन्त्र भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ। न्याय पाउँछु भन्ने विश्वास पनि छैन जनतालाई। न्यायालयमाथि नै शंका र अविश्वास बढेको छ। जनता निरीह बनाइएका छन्। जनताका अधिकार सुरक्षित छैनन्। अनि राज्यको नीति र व्यवहार जनहित अनुकूलका छैनन््। जनताको बलिदानबाट प्राप्त लोकतन्त्र संस्थागत गर्ने कार्यमा अनेकौं बाधा अड्चन छन्। संविधान नै अमान्य भएको छ कसैकसैलाई।

जनताको बलिदानबाट प्राप्त लोकतन्त्र जनताको हित र मुलुकको सुरक्षित भविष्य अनुकूल हुन्छ कि हुँदैन भन्नेमा अझै पनि अन्योल कायम छ। विद्वान्हरूले लोकतन्त्रको प्राण भनेको नागरिकले मर्यादित जीवन जिउन पाउने नियमित अवस्था हो भनेका छन्। तर देशमा अहिले त्यस्तो अवस्था फिटिक्कै छैन। स्वतन्त्रता, समानता र न्याय अनुभूत वा प्रत्याभूत भएको स्थितिमा मात्रै लोकतन्त्रको अनुभूति हुने हो। अहिले जनताले लोकतन्त्रको अनुभूति गर्न सक्ने अवस्था छैन। बरु लुटतन्त्रको भयावह अवस्थाले जनता पीडित, आजित र आक्रोशित छन्। लोकतन्त्रको दुरुपयोगले गर्दा लोकतन्त्रप्रति नै क्रमशः नकारात्मक भाष्यको निर्माण हुँदैछ। यो स्थिति लोकतन्त्रका लागि शोभनीय होइन।

लोकतन्त्रको स्थापनामा जनताको योगदान अविस्मरणीय र अतुलनीय छ। त्यो योगदानमात्रै होइन, लगानी पनि हो। लोकतन्त्रमा लगानी गरेका जनताले लाभांशको आशा गर्नुलाई अन्यथा भन्न मिल्दैन। सिद्धान्ततः लगानीकर्ताले लाभांश खोज्नुलाई अनुचित र अव्यावहारिक भन्न पनि मिल्दैन। लाभांशकै लागि लगानी गर्ने हो। लोकतन्त्रका लागि जनताले विचार, समय, सिद्धान्त र श्रममात्रै लगानी गरेका होइनन्, जीवन नै लगानी गरेका छन्। जीवनको आहुति दिएर सहिद पनि बनेका छन्। तिनै सहिदका परिवारदेखि लोकतन्त्र प्राप्तिका लागि सहयोग र समर्थन गर्ने आम जनताले लोकतन्त्रको लाभांश उपभोग गर्न पाउनुपर्छ। तर पाएका छैनन्। यही नै अहिलेको विडम्बना हो। लोकतन्त्रप्रति नकारात्मक भाष्य निर्माण हुँदै जानुको मुख्य कारण पनि हो।

लोकतन्त्रको लाभांश तिनैले मात्र उपभोग गरेका छन्, जो टाठाबाठा छन्, जो सत्तामा पुगेका छन्, जसले पद ओगटेका छन्, जो राजनीतिक शक्तिमा पुगेका छन्, जो राजनीतिक शक्तिको आसेपासे बनेका छन् र जो राजनीतिक पार्टीका कार्यकर्ता बनेका छन्। हो, अहिले लोकतन्त्रको लाभांश राजनीतिक दलका ठूला नेता, तिनका आसेपासे, कार्यकर्ता, केही कर्मचारी, ठेकेदार, व्यापारी आदिले मात्रै पाएका छन्। यी सबैको साँठगाँठमा देशमा खुल्लमखुला लुटतन्त्र मच्चाइएको छ। लुट्ने होडबाजी चलेको छ देशमा। त्यसैले स्रष्टा भन्न बाध्य छन्, ‘लुट्न सके लुट कान्छा, अरू देशमा पाइँदैन नेपालमै हो छुट...।’

लोकतन्त्र र सुशासनको नारा दिँदै सत्ता र शक्तिको आडमा जताततै लुट्ने होडबाजीमा अग्रपंक्तिमा उभिएका छन् देशका नेताहरू नै, जसले लोकतन्त्रका लागि अपील गरेका थिए र जीवन नै बलिदान दिन जनतालाई प्रेरित गरेका थिए। जनताले लोकतन्त्रको लाभांश होइन, लुटतन्त्रको पीडा मात्रै पाएका छन्। जनता लोकतन्त्रको लाभांशको हकदार भएर पनि लुटतन्त्रको पीडा भोग्न विवश हुनुपर्ने अवस्था आउनु भनेको लोकतन्त्रको सरासर दुरुपयोग हो। लोकतन्त्रको उपहास हो। लोकतन्त्रको धज्जी उडाउँदै र लोकतन्त्रलाई नै लज्जित तुल्याउँदै लुटतन्त्र मच्चाउनेहरूलाई न्यायको कठघरामा नउभ्याउँदासम्म र सर्वसाधारणले लोकतन्त्रको लाभांश उपभोग गर्ने अवसर नपाएसम्म लोकतन्त्रका लागि सहिद हुनेहरूको आत्माले पनि शान्ति पाउने छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.