सुन्दरता लुकाइरहेछ कर्णाली

सुन्दरता लुकाइरहेछ कर्णाली
सबैले आहा भनेर सम्बोधन गर्ने गरे पनि पर्यटन पूर्वाधार विकास नहुँदा ओझेलमा परेको कर्णालीको मुख्य पर्यटकीय गन्तव्य रारा ताल । इन्सेक्टमा, सुर्खेतको काँक्रेबिहार मन्दिर र कालीकोटको पचालझरना ।

सरकारी उदासीनता र भौगोलिक जटिलताले हो कर्णालीका सम्भावनाहरू सधैं ओझेलमा परेको छ। त्यसैले सुनलाई सिरानी हालेर नुनको खोजीमा हिँडिरहेको कर्णाली सधैं रोग, भोक, अशिक्षा, गरिबी र विकटताले मात्र चिनिन्छ।

वीरेन्द्रनगर : कर्णाली भन्नासाथ विकट, रोग, भोक, अशिक्षा र गरिबी सँगै आउँछ। भन्ने र बुझाउनेले पनि कर्णाली बाहिर पुगेर त्यस्तै बुझाए। यो अवस्थामा विस्तारै सुधार आउँदैछ। तर, यहाँको भू–बनोटको प्रचार नभएर मात्रै हो, कर्णालीलाई भू–स्वर्ग मान्दा पनि हुन्छ। यहाँ पुगेर अध्ययन गरेकाहरू भन्छन्, ‘प्राकृतिक सुन्दरताले भरिपूर्ण कर्णालीको सुन्दरता देखाउन मात्रै सके कर्णालीलाई यसैले पाल्छ।’

कर्णालीमा पर्यटनको प्रचुर संभावना भएका दर्जनौं स्थान छन्। तर, अधिकांश ओझेलमा। यसको विकासका सँगै प्रचार हुन सकेको छैन। सरकारी उदासीनता र भौगोलिक जटिलताले हो कर्णालीका सम्भावनाहरू सधैं ओझेलमा परेको छ। त्यसैले सुनलाई सिरानी हालेर नुनको खोजीमा हिँडिरहेको कर्णाली सधैं रोग, भोक, अशिक्षा, गरिबी र विकटताले मात्र चिनिन्छ। 

काँक्रेविहार सधैं ओझेलमा

कर्णालीको प्रवेशद्वार सुर्खेतको वीरेन्द्रनगरबाट १० मिनेट दूरीमा एउटा घनाजंगल छ। जंगलै जंगलको बाटो हुँदै एउटा डाँडाको टुप्पोमा पुग्नासाथ देख्न सकिन्छ बौद्ध देव–देवताका मूर्तिहरू कुँदिएका ढुंगाहरू। यो प्राचीनस्थल नै ‘काँक्रेविहार’ हो। काँक्रेविहार कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित धार्मिक एवं पर्यटकीय स्थल हो। यस स्थलका बारेमा आजसम्म पनि विवाद र रहस्य छँदैछ। यसको नामकरण र निर्माण कहिले र कसरी भयो भन्ने बारेमा अझैसम्म ठोस कारण प्रमाणित हुनसकेको छैन। न त राम्रोसँग यस स्थलवरपर उत्खनन एवं अध्ययन नै हुन सकेको छ। 

काँक्रेविहारको बारेमा अझै पनि खोज र उत्खनन गरेर प्रमाणित गर्न नसक्ने हो भने इतिहास गन्जागोलमै रहने छ। पुरातात्तिक विभागले २०५७ सालमा स्थानीयको मागअनुरूप काँक्रेविहारको भग्नावशेष भएको स्थानमा उत्खनन गरेको थियो। त्यस क्रममा पुरातत्व विभागको टोलीले बौद्ध मूर्ति फेला पार्नुको साथै हिन्दू देवी देवताका मूर्तिहरू पनि फेला पारेको थियो। साथै काँक्रेविहार तेह्रौं शताब्दीमा बनाइएको हुनुपर्छ भनेर अनुमान पनि गरेको थियो। 

खस राजाहरू हिन्दू र बौद्ध धर्म दुवै मान्ने भएकाले काँक्रेविहार बनाउने क्रममा धार्मिक सहिष्णुता कायम राख्न दुवै धर्मका मूर्तिहरू राखिएका हुनु सक्ने यहाँका जानकारहरूको भनाइ छ। उत्खननले यस कोणबाट सोच्न, अनुमान लगाउन र तथ्य खोज्न सजिलो पारिदिएको छ। यो मन्दिर धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण भए पनि हाल गुमनाम छ। स्थानीय मिलन श्रेष्ठले भने, काँक्रेबिहार मन्दिरमा राख्न खोजिएको मूर्ति हाल प्रहरी हिरासतमा छ। काँक्रेबिहार संरक्षित बने भएकाले त्यहाँ अन्य कुनै संरचना निर्माण गर्न नपाउने कानुनी जटिलता पनि भयो। बुद्ध धर्मालम्बीहरू र अन्य जातिगत द्वन्द्वका कारण पनि काँक्रेविहार मन्दिर विवादको सिकार बनिरहेको छ। जसले यो पर्यटकीय स्थल नै ओझेलमा परेको छ। 

बेला–बेला चर्चा हुने त्रिवेणी पाटन

चुन र बुकीले ढपक्क ढाकेर बनेको सुन्दर पाटन। पाटनको बीच भागमा तीनवटा खोलाहरू। तीनवटै खोलाको संगममा सानो मन्दिर। मन्दिरको छेउबाट बगेको पानीको कलकल आवाज। चराचुरुङ्गीको चिरबिर स्वर। यत्रतत्र रंगीचंगी फूलहरू। सजाएर राखिएको जस्तै थुम्का–थुम्का परेको कुहिरो। थरिथरिका जडिबुटीको मग्न बास्ना। यहीँ हो कालीकोटको त्रिवेणी पाटन।

nullपर्याप्त पर्यटन पूर्वाधार विकास नहुँदा गुमनाम अवस्थामा रहेको कालीकोटको त्रिवेणी पाटनमा चर्दै गरेका भेडा। 

नजिकै देखिने सुन्दर हिमाल, हिउँ टेक्न पाइने र मनोरम प्राकृतिक दृश्यहरू त्रिवेणी पाटनका मुख्य विशेषता हुन। समुद्री सतहबाट झन्डै ४ हजार २ सय १९ मिटर उचाइमा रहेको त्रिवेणी पाटनको सौन्दर्य त छँदैछ। ऐतिहासिक धार्मिक तथा पर्यटकीय हिसाबले पनि उत्तिकै महत्व बोकेको छ। पाटनबाट तीनवटा मुहान फुटेर बगेको खोलाको संगम रहेकाले यसलाई त्रिवेणी पाटन भनिएको हो। यो पर्यटकीय सम्भावना बोकेको एवम् विशाल पाटन क्षेत्रको हो। बाजुरा जिल्लामा पर्ने बडीमालिका मन्दिरका कारण पनि यो चर्चामा छ। यहाँ नटेकेर कोही पनि बडीमालिका दर्शन गर्न जान मिल्दैन। त्रिवेणीमा नुहाएर सुद्धमनले पूजा गरी बडीमालिका गएपछि मात्र माईको पूजा पूरा हुन्छ।

हरेक वर्ष जनैपूर्णिमाका बेला बडीमालिकासँगै त्रिवेणीमा धुमधामसँग धार्मिक मेला लाग्ने गर्छ। जनैपूर्णिमामा भारतको कुमाउ गढवालदेखिका भक्तजनहरू त्रिवेणी आउने गरेको पुजारी कृष्णप्रसाद धमालाले बताए। भने, ‘त्रिवेणी हुँदै बडीमालिका जाने हजारौं तीर्थालु हुन्छन्।’ पश्चिम नेपालका साथै भारतबाट पनि तीर्थालुहरू यहाँ आउँछन्। जुम्ला, बाजुरा, कालिकोटबाट पूजाका बेला सरकारी अधिकारी समेतको टोली नै यहाँ आउँछ।

त्रिवेणीमा नुहाएर बडीमालिका दर्शन गरे मनले चिताएको पूरा हुन्छ। रोगव्याध नाश हुने, पदोन्नति हुने विश्वास छ। शुद्ध मनले दर्शन गरे मनोकांक्षा पूरा हुन्छ। दुःखीलाई सुख, निसन्तानलाई सन्तान, गरिबलाई धन पाइने धार्मिक विश्वास छ। सुस्वास्थ्य, धनलाभ र सुयोग्य वरबधुको कामना गर्दै पूजा गरिन्छ। null

त्रिवेणीको काखमा रहेका ३२ वटा ठूला–ठूला सुन्दर पाटनहरूले पर्यटकलाई मोहोनी लगाउँछ। त्रिवेणी आउने आन्तरिक पर्यटकहरूले भूस्वर्गको अनुभूति गर्छन्। तर, बाह्य पर्यटकको आगमन भने हुँदैन। भौगोलिक विकटता, यातायातको असुविधा, अन्य आवासीय असुविधाका कारण यो क्षेत्र ओझेलमा परेको छ। 

झरना कहिले नाप्ने ? 

कर्णालीको अर्को प्रमुख पर्यटकीय गन्तव्य भनेको कालीकोटको पचालझरना हो। पचालझरना नेपालकै अग्लो झर्ना भए पनि नेपालकै अग्लो भन्न पाइएको छैन। तत्कालीन जिल्ला विकास समिति, त्यसपछि स्थानीय सरकार र जिल्ला समन्वय समितिले पटक–पटक पर्यटन बोर्डमा अभिलेख गरी बैधानिक्ता दिनका लागि दाबी पेस गरे पनि नेपाल पर्यटन बोर्डमा अभिलेख नगर्दा नेपालकैै अग्लो दाबी गरिएको पचालझरना ओझेलमा परेको छ। 

कालीकोटको पचालझरना कुल ३ सय ८१ मिटर उचाइ छ। हाल नेपालकै अग्लो भनिएको तेह्रथुम जिल्लाको ह्याप्तुङ झरना ३ सय ६५ मिटर उचाइको छ। उक्त ह्याप्तुङ झरनाभन्दा कालीकोटको पचालझरना १६ मिटरले अग्लो छ। तर, पर्यटन बोर्डले कालीकोटको पचालभरनालाई नेपालकै अग्लो झरना भनेर अभिलेख गरी घोषणा नगर्दा नेपालकै अग्लो झरनालाई पनि भन्न पाइएको छैन। जिल्ला सदमुकाम मान्माबाट करिब तीन घण्टा गाडी र चार घण्टा पैदल यात्रा गरेपछि प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने पचालझरना निकै रोचक छ। बाह्रै महिना निरन्तर पानी बगिरहने उक्त झरना सहज रूपमा अवलोकन गर्नका लागि सडक र पदमार्ग निर्माणको कार्य पनि भइरहेको छ। यसको प्रचारप्रसार र सेवा सुविधा दिन सक्ने हो भने यो झरना नेपालकै पर्यटकीय गन्तव्य बन्नेमा दुई मत छैन। 

पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीले भने, ‘पचालझरनालाई नेपालकै अग्लो झरनाका रूपमा मान्यता दिन पहल भइरहेको छ। यसका लागि पर्यटन बोर्डले नापी विभागमा यसको उचाई नापजाँच गरी प्रमाणित गर्न पत्र पठाएको बुझिएको छ।’ पचालझरनाबाट खसेको पानी करिब १० किलोमिटर ओरालो बगेर कर्णाली नदीमा मिसिएको छ।

शे–फोक्सुन्डो तालमा कमै पर्यटक

कर्णालीभित्रको डोल्पा जिल्लामा पर्ने शे–फोक्सुन्डो ताल प्राकृतिक सौन्दर्यका दृष्टिले महत्वपूर्ण रमणीय गन्तव्य हो। शे–फोक्सुन्डो ताल धर्तीको अनुपम र सुन्दर उपहार जीवनमा एकपटक पुग्नैपर्ने स्वर्गको एउटा टुक्रा जस्तै भन्छन् यहाँ आउने पर्यटकहरू। डोल्पाकै सामाजिक अभियान्ता रामचन्द्र न्यौपानले भने,‘पदयात्रामा रमाउने र यसको मजा लिनेहरूका लागि शे–फोक्सुन्डो तालको पदयात्रा महत्वपूर्ण छ। यो तालमा पुग्नका लागि शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको क्षेत्र भएर यात्रा गर्नुपर्छ।’ डोल्पाको प्रमुख आकर्षणको रूपमा रहेको यो तालमा जानका लागि चैत, वैशाख र जेठ महिना तथा भदौ, असोज र कात्तिक अति उत्तम महिना हो। कर्णाली आएपछि शे–फोक्सुन्डो ताल र उपल्लो डोल्पा नजानु भनेको फुर्सदमा पछुताउनु जस्तै हो। 

nullडोल्पाको शे–फोक्सोन्डो ताल।

डोल्पाको उत्तरी भेगमा पर्ने शे—फोक्सुन्डो ताल नेपालकै गहिरो ताल हो। यसको गहिराई १ सय ४५ मिटर रहको छ। लम्बाइ ४ दशमलव ८ किमि चौडाइ १ दशमलव ६ किमि रहेको छ। सदरमुकाम दुनैदेखि झन्डै तीन दिनको पैदलयात्रा पछि शे—फोक्सुन्डो ताल पुगिन्छ। यहाँ पुगेका सबै पर्यटकहरू तालको मनमोहक दृश्यबाट मोहित भएर ताललाई कसैले भू–स्वर्ग भनेर पुकार्छन् भने कसैले नीलो हिराको रूपमा समेत चर्चा गर्छन्।

अर्को रिग्मो तालको नामले पनि चिनिने उक्त ताललाई २०६४ असोज ६ गते रामसार क्षेत्रमा समेत समावेश गरिएको छ। निकुञ्जलाई सन् १९९९ मा विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि समेत प्रस्ताव गरिएको थियो। यहाँको प्राकृतिक सौन्दर्यताको हिसाबमा कमै पर्यटकहरू आउने गरेको त्रिपुराकोटका स्थानीय रमानन्द उपाध्यायले बताए। 

रारा जाने बाटो कहिले बन्छ ? 

कर्णालीका अर्को निकै आकर्षण पर्यटकीय गन्तव्य मुगुको रारा ताल हो। यहाँ बर्सेनि हजारौं पर्यटकहरूको ताँती नै लाग्ने गरेको छ। २०२० साल चैत महिनामा मुगुको रारा ताल पुगेका तत्कालीन राजा महेन्द्रलाई राराले यतिसम्म लोभ्यायो कि उनले राराको सुन्दरतालाई स्वर्गकी अप्सरा उपनाम दिए। रारामा आगन्तुकलाई स्वागत गर्ने जो कोहीले राराका बारेमा वर्णन गर्दा सबैभन्दा पहिले सुनाउने किस्सा हो यो। हुन पनि नीलो मसी पोखिएजसरी विराजमान छ, रारा।

सफा, सुन्दर र निर्मल अनुहारमा गाढा नीलो आकृति लिएको रारामा वरिपरिका सल्ला, धुपीका रुखहरूको बिम्ब कुनै ‘प्रोफेसनल आर्टिस्ट’को क्यानभासभन्दा कम्ता छैन। सिस्ने र कान्जिरोवा हिमाल रारामै आएर टुक्रुक्क बसेजस्तो दृश्यले हरेकलाई मन्त्रमुग्ध पार्छ। कर्णालीको मुगुमा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध यो ताल समुद्र सतहदेखि २ हजार ९ सय ७२ मिटर उचाइमा टुसुक्क बसेको छ। रारा वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १ सय ६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। सल्लाघारीको बीचबाट निकै सुन्दर गोरेटो निर्माण गरिएको छ।

nullकर्णालीको मुख्य पर्यटकीय गन्तव्य रारा ताल

घोडाबाट जानेहरू पनि यही मार्ग प्रयोग गर्छन्। यो मार्ग निकुञ्जको बीचमा अवस्थित कोणधारी जंगलको बीचमा छ। चराको चिरबिर, सुरम्य आवाज, झ्याउकिरीको आवाजले मदहोस पार्छ जोकोहीलाई। राराको छेवैबाट बनाइएको यो बाटोबाट जंगलमा अनेकन फूलहरू मुस्कुराइरहेको देख्दा कसको मन प्रफुल्लित नहोला र ? 

आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको मुगु जिल्लामा अवस्थित रारा ताल सन् २००८ मा रामसार क्षेत्र घोषणा गरिएको थियो। तालको औसत लम्बाइ ५ किलोमिटर, चौडा ३ किलोमिटर र गहिराइ १ सय ६७ मिटर छ। रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र २ सय ७२ प्रजातिका चराचुरुंगी पाइन्छन्। 

तर, रारामा जाने पर्यटकहरूका लागि न सुविधायुक्त होटल छ। न रारा जाने बाटो नै सहज छ। न अन्य पर्यटकिय पुर्वाधारहरू नै बनेका छन्। जसका कारण एक पटक रारा गएका पर्यटक फेरी फर्किंदैनन्। स्थानीय पदम मल्लले भने, आहा रारा भन्नेहरू नै छ्या सडक भनेर कर्णाली राजमार्गलाई घृणा गर्ने गर्छन्। रारा जाने् सडक, होटल र अन्य पूर्वाधारले सम्पन्न बनाउने हो भने राराले कर्णालीको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिनेछ। 

पर्यटक कुरेको पञ्चकोसी ज्वाला

दैलेख जिल्लाको दुल्लु नगरपालिका स्थित पञ्चकोसी ज्वाला क्षेत्र नेपालकै एक पवित्र तीर्थस्थल हो। यो क्षेत्रमा नित्य प्रज्वलित ज्वालाहरू अवस्थित भएकाले यस तीर्थस्थललाई ज्वाला क्षेत्र अथवा ज्वाला तीर्थ पनि भनिन्छ। हिन्दू धर्मको पवित्र धार्मिक ग्रन्थ स्कन्द पुराणमा यस क्षेत्रलाई बैश्वानर तिर्थ भनेर वर्णन गरिएको छ। यस तीर्थलाई अग्नि तीर्थ भनेर पनि चिनिन्छ।

नेपाली भाषाको उत्पत्ती स्थान जुम्लाको सिंजालाई मानिन्छ। त्यससँगै दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको दुल्लु पनि अर्को इतिहास हो। अहिलेसम्मको अध्ययन अनुसार सबैभन्दा पुरानो मानिएको दामुपाल, अढइपालद्वारा शाक्य ९ सय तिन तदानुसार विक्रमसंवत १ हजार ३८ को शिलालेख यसै क्षेत्रमा रहेको छ। यसका साथै विक्रम संवत १४१४ को पृथ्वी मल्लले बनाएको ७ हात लामो कीर्ति स्तम्भ पनि यसै क्षेत्रमा रहेको छ। दैलेख त्यसै क्षेत्रका सांसद धनश्याम भण्डारीले भने, यसका साथै पादुकामा रहेको अशोक चल्लको स्तम्भ शिरस्थानमा रहेको अभिलेखका साथै बाटोभरि जताततै गाडिएका वीर खम्बाहरूमा भएका अभिलेखहरूले नेपाली भाषा तथा पश्चिम नेपालको इतिहास केलाउनमा धेरै महत्व राख्छन्। तसर्थ यो क्षेत्रलाई नेपालकै ऐतिहासिक महत्व बोकेको स्थानको रूपमा लिइन्छ। कुनाकन्दरा, पहाडका चुचुराहरू मन्दिर र देवस्थलले सिंगारिएको पञ्चकोसी अत्यन्तै सुन्दर छ।

ज्वाला क्षेत्रअन्तर्गत १ सय ८ शक्तिपीठ पर्छन्। भैरवी, मालिका, स्वामी कार्तिक्य, बिन्ध्यावासीनी, लामाद्धाला आदि चर्चित छन्। स्थानीय समाजसेवी हिरासिंह थापाले भने, ‘पञ्चकोसी ज्वाला क्षेत्र हिन्दु धर्मावलम्बीका लागि मात्र नभएर बौद्ध धर्मावलम्बीका लागि पनि उत्तिकै महत्वपूर्ण मनिन्छ। पश्चिम नेपालका हिन्दू धर्मावलम्बीहरूले यस क्षेत्रमा देव कर्म, पितृकर्मलगायतका धार्मिक अनुष्ठान गर्नाले सिद्धी प्राप्त हुने विश्वास गर्दछन्। पञ्चकोसी दर्शनले पितृ उद्धार, मनोकांक्षा पूरा हुनुका साथै आत्मीय आनन्द र शान्ति प्राप्त हुन्छ।’ यसलाई प्रवद्र्धन गर्नाका लागि केही महिना अगाडि प्रदेश सांसद भण्डारी, दैलेखकै फोटो पत्रकार भरतबन्धु थापालगायतको टोलीले पशुपतिदेखि पञ्चकोसी दैलेखसम्म धार्मिक यात्रा पनि गरेका थिए। 

मानसरोवर देखाउने त्यो लिमी

नेपाली भूमि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीबाट कैलाश मानसरोवरको दर्शन सजिलै गर्न सकिन्छ। हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी लाप्चाबाट दर्शन गर्न सकिने भएपछि यस स्थान मानसरोवरको दर्शन गरिने नेपालको एकमात्र भू–भागका रूपमा पनि चिनिँदै आएको छ। कैलाश मानसरोवर दर्शन गर्ने एक नयाँ एवं उत्कृष्ट गन्तव्यस्थलका रूपमा हुम्लाको लिमी लाप्चा बनेको छ। चीनले कैलाश मानसरोवर जाने हिल्सा नाकामा रोक लगाएपछि नेपालकै लिमी लाप्चाबाट कैलाश मानसरोवर दर्शन गर्ने आन्तरिक पर्यटकहरू बढ्दै गएका छन्। 

यसरी पछिल्लो समयमा लिमी उपत्यका कैलाश मानसरोवरको दर्शन गर्न सकिने नेपालको एकमात्र भूमि बनेको छ। स्थानीय जनकबहादुर शाहीले भने, लिमीको लोलुङबाट कैलाश मानसरोवर प्रष्ट रूपमा देख्न सकिन्छ। हाम्रा पूर्खाहरू मात्रै नभएर विसं २०६० सम्म नै कैलाश मानसरोवर दर्शन गर्न जाने प्रमुख मार्ग यो नै प्रयोग हुने गरेको थियो। यो क्षेत्र हुम्ला सदरमुकाम सिमकोटदेखि १ सय ५ किलो मिटरको दूरीमा पर्छ। सडकको स्तरोन्नति हुने हो भने यो मार्गबाट अहिलेको भन्दा अझ सहज रूपमा आवतजावत गर्न सकिने छ। यसतर्फको चिनियाँ भूभागमा पुग्दा जुनसुकै क्षेत्रबाट पनि देख्न सकिने यो प्रसिद्ध तीर्थस्थल नेपालतर्फबाट भने यसै स्थानबाट मात्र सहज दर्शन गर्न सकिन्छ। लिमीको लोलुङबाट कैलाशको दर्शन गर्न पैदलै जानेहरू पनि निकै छन्। यो क्षेत्र पनि पछिल्लो सयममा सहज बन्दै आएको छ।

पहिले घोडा चढेर लिमीको गाउँबाट कैलाश मानसरोवरभन्दा उत्तरतिरको छोपाहरूको गाउँमा पुग्ने गरेका थिए। पहिला यहाँका बासिन्दा घोडाबाटै होडछुँयो भन्ने गाउँमा पुग्ने गर्थे। त्यसरी पनि एक दिनको पैदल यात्रामै लिमीबाट कैलाश मानसरोवरको दर्शन गर्न सकिन्छ। हुम्लाको सदरमुकाम सिमकोटबाट चार दिनको पैदल यात्रापछि लिमी भ्यालीको लाप्चा पुगिन्छ। सिमकोटबाट दुई दिनजति गाउँमा बास बस्दै जान सकिन्छ भने दुई दिन आफूसँग टेन्ट, खाने कुरालगायतका सामान बोक्नुपर्छ। दुई दिनमा रमणीय दृश्य अवलोकन गर्दै गोठालासँगै रात बिताउन पाइन्छ। नेपाली भूमिबाटै कैलाश मानसरोवर दर्शन गर्ने एक मात्रै जिल्ला हुम्लाको लिमी भए पनि यसको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ। धार्मिक तीर्थस्थल कैलाश मानसरोवरको दर्शन गर्दा स्वर्ग गइन्छ भन्ने हुम्लीको धार्मिक विश्वास रहेको छ। हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बीका लागि यो क्षेत्र पवित्रस्थल मानिन्छ। 

यति मात्र होइन, कर्णालीमा पर्यटकिय प्रचुर सम्भावना भएका धेरै धार्मिक तथा ऐतिहासिक स्थलहरू छन्। सुन्दर भूमिहरू पनि उत्तिकै छन्। तर, तीनिहरूको प्रचारप्रसार र संरक्षण हुन सकिरहेको छैन। जाजरकोट दरबार, रुकुमपश्चिम मुसीको दरबार, सुर्खेत बुलबुले ताल, जुम्ला सिजा उपत्यका, चन्दनाथ मन्दिरलगायतका दर्जनौं पर्यटकीय सम्भावना बोकेका पर्यटकिय स्थलहरू पर्यटकको पर्खाईमा छन्।

कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले कर्णालीको पर्यटन पूर्वाधार विकासका लागि प्रदेश सरकारले बिभिन्न निकायसँग समन्वय गरिरहेको बताए। उनले भने, हामीले प्रदेश सरकारले गर्न सक्ने काम आफैं गर्ने र बाँकी संघीय सरकारका साथै अन्य निकायहरूसँग समन्वय गरिरहेका छौं। कर्णालीमा पर्यटन पूर्वाधार निर्माण नहँदा यहाँको पर्यटन प्रबर्द्धन हुन सकिरहेको अवस्था छैन।

तस्बिर : बिस्नप्रसाद न्यौपाने र कबिराज कार्की 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.