अब पस्दैन बस्तीमा नारायणी नदी

अब पस्दैन बस्तीमा नारायणी नदी
भरतपुर महानगरपालिका–२७ को नारायणी नदी किनारमा तटबन्ध गरेपछि सुरक्षित बनेका स्थानीय नदी हेर्दै। अनिल ढकाल
सुन्नुहोस्

चितवन : अघिल्लो वर्षसम्म जब वर्षातको समय आउँथ्यो नारायणी सुसाएसँगै मेघौलीवासीलाई निद्रा पर्दैनथ्यो। नदीको सतह बढेसँगै छटपटाउँथे। कोही नदी हेर्न पुग्थे त कोही परिवार कुरेर बस्थे। वर्षातमा नारायणीको सतह बढे गाउँमा बाढी पस्ने खतराले हुन्थ्यो। गतवर्षसम्म बाढी पसेर बालबच्चा काखमा च्यापेर रातारात भाग्नुपरेको घटना उनीहरूमा ताजै छ। तर, अब भने उनीहरू ढुक्कले निदाउँछन्, कारण– तटबन्धनले गाउँलाई सुरक्षित बनाएको छ। 

नदीमा तटबन्ध लगाउन थालेसँगै उनीहरूको मुहारमा खुसी छाउन थालेको थियो। डिलमा बसेर नारायणी नियालिरहेका भरतपुर–२८ सालबासका गुनबहादुर कुमाल दंग देखिन्थे। अनि, गत वर्ष यो समयमा बाढी पस्ने खतराले सुत्न नपाएको भोगाई सुनाए। ‘कतिखेर बाढीले लाने हो भन्ने डर थियो। रातिमा कहिल्यै सुत्न नसक्ने अवस्था थियो,’ उनले भने, ‘अहिले ढुक्कले निदाउन पाएका छांै।’ 

तटबन्धनको काम थालिएपछि नदी तटीय क्षेत्रको पश्चिम चितवनका नागरिक ढुक्कको शास फेर्छन्। गतवर्ष उनीहरूमा भागाभाग थियो। यो वर्ष त्रास नभएपछि खुसी हुँदै डिलमा रमाइरहेका थिए। बाढी हेरेर पनि भ्याप्पै सुत्ने अवस्था थियो। अहिले तटबन्धनले सुरक्षित महसुस गरेका छन्। पहिला त्रासमा बस्नुपथ्र्यो अहिले बाढी पस्दैन है भन्नेमा ढुक्क छन् उनीहरू। सालबासका गञ्जसिंह कुमालले ढुक्कले निदाउन पाएको खुसी साटे। ‘रातभरि बाढी हेर्न ड्याममा बस्न पथ्र्यो। अहिले नदीले खोल्न नसक्ने भएपछि बाढीको खतरा छैन,’ कुमालले भने, ‘परिवार च्यापेर कता हिँड्ने हो झै हुन्थ्यो। अहिले आनन्दले परिवारसँगै बस्न पाएका छौं।’

नदी तटीय क्षेत्रलाई पर्यटकीय मार्ग बनाउने भरतपुर महानगरको योजनाले नै उनीहरूलाई खुसी दिएको हो। पाँच अर्बको लगानीमा नारायणीमा तटबन्धको काम भइरहेको छ। बहुवर्षे आयोजनाको डेढ वर्षअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गरेका थिए। भरतपुर महानगरपालिकाको पहलमा आयोजनामा बजेट विनियोजन गरिएको हो। सुरुवातमा बाढीको अत्याधिक जोखिममा रहेका बाह्रघरे, गाजीपुर, हीरापुर, सिसई, भगडी, बालुवालगायतका स्थानमा तटबन्धन गरिएको हो। 

पाँच खण्डमा विभाजन गरेर तटबन्ध गरिएको छ। नारायणघाटदेखि गोलाघाटसम्मको ३५ किलोमिटरमध्ये २२ किलोमिटरमा तटबन्ध भइरहेको छ। तटबन्धनको करिब ३५ प्रतिशत काम सकिएको छ। तटबन्धको काम सकिएपछि पूर्णरूपमा बाढी नियन्त्रण हुने महानगरकी मेयर रेनु दाहाल बताउँछिन्। ‘पश्चिम चितवनको यो क्षेत्र जिल्लाकै सबैभन्दा बढी जोखिमयुक्त क्षेत्र हो। हरेक वर्ष बाढी पसेर जनता अन्यत्र बस्नु परेको थियो। विगत जस्तो जटिल परिस्थिति यो वर्ष छैन,’ दाहालले भनिन्, ‘अबको दुई वर्षमा निर्माण सम्पन्न भएपछि यसरी बाढीको त्रासमा आउन पर्दैन।’ 

तटबन्धनबाट १ लाख ९८ हजार ६ नागरिक लाभान्वित हुने महानगरले जनाएको छ। यसले १४ हजार १९ हेक्टर जमिन जोगिने जनाएको छ। तटबन्ध गरेपछि त्यसमा हरियाली बनाएर पर्यटकीय क्षेत्र बनाउने महानगरको योजना छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.