वीरगन्जमा परीक्षार्थीबाट रकम लिएर ह्वाट्स एप ग्रुपमा प्रश्नपत्र, एक जना पक्राउ

वीरगन्जमा परीक्षार्थीबाट रकम लिएर ह्वाट्स एप ग्रुपमा प्रश्नपत्र, एक जना पक्राउ
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा त्रिभुवन विश्वविद्यालयको परीक्षामा रकम लिएर विद्यार्थीलाई पास गराउने क्रम अझै रोकिएको छैन। 

शुक्रबार भएको बीबीएस दोस्रो वर्षको लेखा विषयको परीक्षामा पनि वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका परीक्षार्थीबाट रकम लिएर प्रश्नपत्र आउट गरी उत्तर मोबाइलको ह्वाट्सअप ग्रुपमा पठाएको भेटिएको छ। 

यसअघि गत बुधबार पनि ठाकुरराम क्याम्पसकै विद्यार्थीलाई परीक्षामा उत्तीर्ण गराउनका लागि उत्तरपुस्तिका (कापी) नै हेरफेर गर्दै गरेको अवस्थामा प्रहरीले क्याम्पसको परीक्षा शाखाका पूर्व प्रमुख मोहन यादव र परीक्षा केन्द्रका केन्द्राध्यक्ष विनोद स्वर्णकारलाई रंगेहात पक्राउ गरेको थियो। 

शुक्रबार तेस्रो दिनको परीक्षामा भने मोबाइलको ह्वाट्सअप ग्रुपमा आएको उत्तर लेखिरहेका परीक्षार्थीहरूबाट १ सय ५० वटा मोबाइल प्रहरीले नियन्त्रणमा लिएको छ। 

ठाकुरराम बहुमुखी क्याम्पसको बीबीएस दोस्रो वर्षको परीक्षा गत बुधबारदेखि वीरगन्जस्थित त्रिजुद्ध माविमा चलिरहेको छ। परीक्षाको तेस्रो दिन शुक्रबार लेखा विषयको परीक्षा थियो। परीक्षा चलिरहेका बेला मोबाइलको ह्वाट्सअप ग्रुपबाट उत्तर सारिरहेको अवस्थामा प्रहरीले परीक्षार्थीहरूबाट १५० थान मोबाइल नियन्त्रणमा लिएको हो।

प्रहरीले एक जना परीक्षार्थीलाई पनि नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका ११ घर भएका ठाकुरराम क्याम्पसकै परीक्षार्थी सिद्धार्थ चौधरी रहेका छन्। चौधरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए। 

शुक्रबार मोबाइलको ह्वाट्सअप ग्रुपबाट उत्तर सार्ने परीक्षार्थीहरूबाट प्रहरीले नियन्त्रणमा लिएका मोबाइलहरू भने परीक्षा केन्द्रका केन्द्राध्यक्ष नवीन श्रीवास्तवले सम्बन्धित विद्यार्थीहरूलाई नै फिर्ता दिएका छन्। 

जबकी त्रिभुवन विश्वविद्यालय परीक्षा नियमावलीमा परीक्षाहल भित्र परीक्षार्थीले परीक्षाको मर्यादा भंग हुने किसिमको कुनै गतिविधि गरेको फेला परेमा सम्बन्धित परीक्षार्थीको परीक्षा नै रद्द गर्नसक्ने वा कारबाहीका लागि त्रिवि परीक्षा बोर्डमा सिफारिस गर्न सक्ने अधिकार परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई रहेको ठाकुरराम क्याम्पसकै क्याम्पस प्रमुख रञ्जित यादवले बताए।

तर केन्द्राध्यक्ष मिश्रले भने मोबाइलको ह्वाट्सअप ग्रुपमा आएको उत्तर उत्तरपुस्तिकामा सारिरहेकै अवस्थामा भेटिएका परीक्षार्थीहरूलाई कुनै कारबाही नगरी परीक्षा सकिएपछि मोबाइलहरू फिर्ता दिनुले उनको भूमिकामाथि पनि प्रश्न तेर्सिएको छ। 

मिश्र स्वंयले पनि परीक्षा हलभित्रै परीक्षार्थीले ह्वाट्सअप ग्रुप मार्फत मोबाइलमा आएको उत्तर सारिरहेको अवस्थामा प्रहरीले १ सय ५० थान मोबाइल नियन्त्रणमा लिएर आफूलाई जिम्मा लगाएको स्वीकारे। तर परीक्षा सकिएपछि ती मोबाइल सम्बन्धित परीक्षार्थीहरूलाई फिर्ता गरिदिएको उनले बताए। 

शुक्रबार त्रिजुद्ध माविमा सञ्चालित ठाकुररामको परीक्षामा परीक्षार्थीहरूबाट मोबाइल नियन्त्रणमा लिएर केन्द्राध्यक्षको जिम्मा लगाएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विदूर शिवाकोटीले भने,‘मोबाइलको ह्वाट्सअप ग्रुपमा आएको उत्तर सारिररहेको भेटिएपछि १५० थान मोबाइल नियन्त्रणमा लिएर हामीले केन्द्राध्यक्षलाई जिम्मा लगायौं, एक जना परीक्षार्थीलाई पक्राउ गरेर प्रहरी कार्यालयमा ल्यायौं। त्यसपछि केन्द्राध्यक्षले के गर्नुभयो? त्यसबारे जानकारी भएन।

जिुद्ध मावि परीक्षा केन्द्रबाट शुक्रबार नियन्त्रणमा लिइएका मोबाइलको प्रारम्भिक अनुसन्धान गर्दा उक्त ह्वाट्स ग्रपुमा १ हजार २२ जना परीक्षार्थीको मोबाइल नम्बर जोडिएको पाइएको प्रहरी निरीक्षक शिवाकोटीले बताए। 
     
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त ह्वाट्सअप ग्रुपको एड्मीन दुई जना छन्। दुवै एड्मीनको मोबाइल नम्बर एनसेलको छ। अनुसन्धान प्रभावित हुने भएकाले प्रहरीले एड्मीनको मोबाइल नम्बर खुलाउन चाहेको छैन। प्रहरी निरीक्षक शिवाकोटीले भने,‘ एड्मीन रहेका दुवै नम्बर हामीले साइबर ब्युरोमा पठाइसकेका छौ। ब्युरोको अनुसन्धानमा सबै कुरा खुल्छ।  
      
प्रहरी श्रोतका अनुसार, उक्त ह्वाट्सअप ग्रुपको एड्मीन बनेर चलाएका व्यक्तिले प्रत्येक  विषयको परीक्षा हुने दिनको लागि परीक्षार्थीबाट ३ देखि ५ हजार रुपैयाँ लिएर ग्रुपमा परीक्षार्थीको मोबाइल नम्बर जोड्ने गरेका छन्। 

परीक्षा सुरु भएलगत्तै ग्रुपमा जोडिएको परीक्षार्थीको मोबाइलमा प्रश्ननपत्र अनुसार उत्तर क्रमशः आउन सुरु भइ हाल्ने रहेछ , एक प्रहरी अधिकृतले भने,‘ यसको मतलब प्रश्नपत्र परीक्षाको एक वा दुई दिन अगावै आउट भएको हुनुपर्छ। त्यसैले त परीक्षाहलमा परीक्षा सुरु हुने बित्तिक्कै मोबाइलको ह्वाट्सअप ग्रुपमा उत्तरहरू लेखेर आउन सुरु भइ हाल्दोरहेछ।' 

काठमाडौंबाट त्रिभुवन विश्वविद्यालयको परीक्षा बोर्डले पठाएका प्रश्नपत्र सम्बन्धित क्याम्पसले प्रहरीको सुरक्षामा नराखी आफैंले राख्ने गरेको छ। परीक्षाको दिन मात्रै परीक्षा केन्द्रमा परीक्षा सुरु हुनुभन्दा केही समय मात्र पहिले ल्याएर प्रश्नपत्रको खाम खोल्ने गरिएको पाइएको ती प्रहरी अधिकृतले बताए। क्याम्पसमा प्रश्नपत्र राखिएकै समयमा त्यहाँबाट आउट गर्ने गरिएको आशंका ती प्रहरी अधिकृतको छ।  

उनले भने,‘ ठाकुरराम क्याम्पसमा रकम असुलेर परीक्षामा पास गराउने धन्दा संस्थागत रुपमै चल्दै आएको रहेछ। यो धन्दा चलाउने एउटा गिरोह नै छ। त्यही गिरोहका दुई जनालाई गत बुधबार पक्राउ गरिसक्यौ। त्यो गिरोहमा अरू को को संलग्न छन् भनेर हामीले अनुसन्धान गरिरहेका छौं। धेरै जनाको त पहिचान पनि भइसकेको छ। जरैसम्म पुग्नु पर्ने भएकाले उनीहरूको नाम अहिले नखुलाइएको हो। 

यसअघि गत बुधबार जुद्ध मावि परीक्षा केन्द्रबाटै पक्राउ परेका ठाकुरराम क्याम्पसका परीक्षा शाखाका पूर्व प्रमुख यादव र परीक्षा केन्द्रका केन्द्राध्यक्ष स्वर्णकार दुवै जना विरुद्ध शिक्षा ऐन–२०२८ को दफा १७ अनुसार मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए। 


    
  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.