जुगलको आलु राजधानी निर्यात

जुगलको आलु राजधानी निर्यात

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको हिमाली क्षेत्र जुगल गाउँपालिकामा उत्पादित आलुले राजधानी काठमाडौंमा बजार पाउन थालेको छ।

हिमाली चिसो हावामा उत्पादित अर्ग्यानिक लेकाली आलुले राजधानीमा राम्रै बजार पाउन थालेको जुगल गाउँपालिका-६ का वडाध्यक्ष टंक तामाङले बताए। हालसम्म करिब ३ टन आलु बिक्री वितरणका लागि राजधानी निर्यात भइसकेको उनले जानकारी दिए। 

वडाध्यक्ष तामाङका अनुसार यो वर्ष वडा नम्बर ६ मा मात्र झण्डै १२ टन आलु उत्पादन भएको छ। जिल्लाकै कर्णाली भनेर चिनिने जुगलमा गएको वर्षबाट किसानहरूले व्यवसायिक रुपमा आलु खेती गर्न थालेका थिए। त्यसअघि यहाँका किसानहरूले निर्वाहका लागि मात्रै आलु खेती गर्दर्थे। 

पछिल्लो समय व्यावसायिक रूपमै किसानहरू आलु खेतीतर्फ आकर्षित हुन थालेपछि बजार व्यवस्थापनका लागि स्थानीय सरकारले नै प्रयास थालेको थियो। स्थानीय सरकारको सहजिकरणमा अहिले धमाधम राजधानी काठमाडौंमा आलु निर्यात हुन थालेको छ।
वर्षायाममा गाउँसम्म यातायात नपुग्ने हुँदा यसअघि नै आलु ढुवानीलाई लक्षित गरी बाटो सोलिङ र स्तरोन्नति गरिएको वडाध्यक्ष तामाङले बताए। 

उत्पादित आलु बजारसम्म पुर्‍याउनका लागि वडाबाट डेढ लाख बजेट विनियोजन समेत गरिएको उनले जानकारी दिए। राजधानी काठमाडौंमा जुगलको आलुको माग बढेपछि ब्राण्डिङको तयारी समेत भइरहेको उनले जनाए। 
‘हामीले जुगल गाउँपालिकाको यो वडालाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्दै विषादीरहित अर्गानिक उत्पादनमा स्थानीय कृषकहरूलाई प्रोत्साहन दिइरहेका छौं’, तामाङले भने-‘यो क्षेत्रको कृषकहरूलाई आर्थिक उपार्जनमा टेवा पुर्‍याउने योजना वडाले तयार पारेको छ, यसको एउटा पाटो आलु उत्पादन र त्यसको बजारीकरण पनि हो।’ 

आलु मात्र नभई प्रांगारिक मलको प्रयोग गरेर रैथाने बाली र तरकारी उत्पादनका लागि किसानहरूलाई प्रोत्साहन गरिरहेको उनले बताए। 

वडा कार्यालयले नै निःशुल्क आलु ढुवानी सेवा प्रदान गरेको र राजधानीमा आलुको माग पनि बढेकोमा कृषक किसान चन्द्रबहादुर श्रेष्ठ खुशी छन्। यसअघि आलु रोप्ने गरेता पनि बेचबिखनका लागि खेती नगरेको उनको भनाइ छ। ‘अहिले फलेको आलु बजारमा लैजान समस्या छैन, वडा कार्यालयले सबै जिम्मा लिएको छ’, उनले भने। 

स्थानीय जनप्रतिनिधिले उत्पादित आलुको बिक्री वितरणको जिम्मा लिएपछि आफूहरूलाई सहज भएको अर्का किसान वसन्त श्रेष्ठले बताए। आफूले उत्पादन गरेको आलुले बजार पाउन थालेपछि किसानहरू पनि हौसिएका छन्। 

राजधानी काठमाडौंमा आलुको खपत राम्रै भएपछि आफूहरूमा हौसला बढेको जुगल गाउँपालिका वडा नम्बर ६, स्याउजेका कृषक देवीबहादुर श्रेष्ठले बताए। हिमाली भेगमा अन्य उब्जनी नहुने र आलु खेतीको सम्भावना बढी हुने भएकोले व्यावसायिक आलु खेतीतर्फ यहाँका कृषकको आकर्षण बढेको उनले बताए।

आम्दानीको अन्य गतिलो आयस्रोत नभएको कारण आलु उत्पादनले स्थानीयको आयआर्जनमा महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष रेशम स्याङ्वोले बताए। 

जुगलको मुख्य बजार ढाँडेमा कृषि उपज संकलन केन्द्र निर्माण हुँदै गरेको जानकारी दिँदै संकलन केन्द्र निर्माण सकिएपछि किसानहरूलाई थप राहत हुने अध्यक्ष स्याङ्वोको विश्वास छ। 

जुगल हिमालको फेदमा यस क्षेत्रलाई कृषि, पर्यटन र पशुपालनमा आत्मनिर्भर बनाउन पालिकाले विभिन्न योजना तर्जुमा गरेका जानकारी जनाउँदै स्याङ्बोले सम्भावित उत्पादन क्षेत्रको अध्ययन गरी आलु पकेट क्षेत्रको घोषणा गर्ने योजना रहको बताए। 


सिन्धुपाल्चोकको हिमाली क्षेत्र जुगल गाउँपालिकामा उत्पादित आलु राजधानी काठमाडौंमा निर्यातको तयारी गर्दै स्थानीय कृषक। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.