‘बन्दीबीच गुम्सिएको आक्रोश’ले बालसुधारगृहमा तनाव
बालबन्दी र सुरक्षाकर्मी गरी २९ घाइते, १७ फरार, २०४ पक्राउ
भक्तपुर : मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बालसुधारगृह आइतबारदेखि तनावग्रस्त थियो। अचानक एक बन्दीको सुधार गृहमै मृत्यु भएपछि सुरु भएको तनावले सोमबारसम्म आइपुग्दा विकराल रूप लियो। आइतबारको घटनापछि निकै त्रासमा रहेका बन्दीहरूले सोमबार मध्याह्नपछि बालसुधार गृहको पछाडिको गेट तोडफोड मात्रै गरेनन्, सुधारगृहमा रहेका २ सय २१ जना बाहिर निस्केर प्रहरीमाथि नै जाइलागे।
मुख्य गेट तोडफोड गरी बाहिर निस्किएका बालबन्दी र प्रहरीबीच झडप हुँदा २९ जना घाइते भए। प्रहरीले तीन राउन्ड गोली चलाउँदा दुई जना बालबन्दीलाई गोली लाग्यो र घाइते भए। बन्दीतर्फ घाइते भएका ६ मध्ये दुई जनालाई गोली लागेको थियो। त्यसमध्ये एक गम्भीरको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
सोमबारको घटनामा बालबन्दीको आक्रमणबाट १९ सुरक्षाकर्मी घाइते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए। उक्त घटनामा १० बालबन्दी घाइते भएका छन्। बन्दीको आक्रमणबाट हात भाँचिएका प्रहरी निरीक्षक सञ्जीव ओलीको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। घाइतेको भक्तपुरको नागरिक कम्युनिटी अस्पताल, मध्यपुर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिए।
बाल सुधारगृहमा रहेका २ सय ९९ जना बालबन्दीमध्ये सुधारगृहको गेट तोडफोड गरेर २ सय २१ जना फरार भएका थिए। भक्तपुर र काठमाडौंका बिभिन्न ठाउँबाट प्रहरीले २ सय ४ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए। फरार रहेकामध्ये सबै नेपाली र धेरै तराईमूलका रहेका जानकारी दिँदै उनले थप १७ जना पनि चाँडै पक्राउ गरिसक्ने दाबी गरे। सुधारगृहभित्र रहेको केटी बन्दी र केही बालकहरू भने गृहमै त्रसित भएर बसेका थिए।
बन्दीले गेट तोडफोड गरेर बाहिर निस्कँदै घरेलु हतियार र ढुङ्गा प्रहार गरी प्रहरीमाथि नै आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन बाध्य भएर प्रहरीले गोली चलाउनु परेको प्रहरी उपरीक्षक केसीले बताए। सुधार गृहको भान्छालगायतमा रहेको लाठी, भाला, खुकुरी, चक्कुलगायतका हतियार लिएर बाहिर निस्किएका बन्दीले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीको भागदौड चलेको प्रत्यक्षदर्शी स्थानीयले बताए। प्रत्यक्षदर्शीका अनुसार बन्दीले उनीहरूलाई सानोठिमीको एसओएससम्म लखेटेको, केहीलाई कुटपिट गरेको, ढुङ्गाले हानेको र नारा लगाउँदै सडक–सडक हिँडेका थिए।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले गोली चलाउन आफूले आदेश नदिएको जानकारी दिए। अवस्था भयावह भएपछि प्रहरीले गोली चलाउन बाध्य भएको जानकारी पाएको सुनाए। सुधारगृहका गेट तोडफोड गरेर बाहिर निस्किएको बालबन्दीले सुधारगृहका विभिन्न सामानहरू तोडफोड गरेका छन्। सुधारगृहको व्यवस्थापन गर्दै आएको यूसेप नेपालको कार्यालयमा समेत उनीहरूले तोडफोड गरेका छन्।
यूसेप नेपालका कार्यकारी निर्देशक केशव सुवालले आइतबारको घटनाबारे गृह मन्त्रालयमा छलफलका लागि गएको बेलामा यता यस्तो घटना भएको भन्दै बन्दीको तोडफोडबाट यूसेपमा कति क्षति भयो भन्नेबारेमा यकिन भइनसकेको बताए।
बन्दीबीच गुम्सिएको आक्रोश पोखियो
बालसुधारगृह भित्र बन्दीमा वर्षौंदेखि आक्रोश थियो। घटनाबारे जानकारी दिँदै एक बन्दीले भने, ‘आजको घटना हिजोको घटनासँग मात्रै जोडिएको छैन, यहाँभित्र वर्षौंदेखि गुम्सिएर रहेको आक्रोश एकैपटक पोखिएको हो। यहाँभित्र बन्दीलाई हुने विभेद, गुणस्तरहीन खाना, पानी, शिक्षाको अवसर धेरै छन्, मैले यहाँको सुधारका लागि २० वटा बुँदा बनाएर माग गर्न खोज्दा मैमाथि जाइलाग्ने काम भयो।’
पाँच वर्षदेखि सुधार गृहमा रहेका अर्का एक बालबन्दीका अनुसार सुधारगृहभित्रै बन्दीका दुइटा गुट छन्। सुधारगृहका इन्चार्ज एवं व्यवस्थापन समूहसँग निकट रहेका गुटले अर्को पक्षलाई पेल्ने, हेप्ने र विभेद गर्दै आएको थियो।
सोमबार पनि सुधारगृहभित्रै यी दुई समूहबीच झडप भएको थियो। झडपमा तोडफोडसमेत भएको थियो। गुणस्तरीय खाना, पानी, सहज शिक्षा, समयमै औषधि उपचार नपाउने त्रासमा सधैं यहाँको बन्दी रहनु परेको ती बालकले बताए। त्यहाँ भित्रको विभेदको आक्रोश पनि सोमबारको घटनाको एउटा रूप भएको उनकौ भनाइ थियो।
के–के भयो, आइतबार र सोमबार ?
शनिबार राति खाना खाएर सुतेका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेत आइतबार बिहान उठेनन्। जिल्ला प्रहरी कार्यालय रामेछापबाट २०७७ जेठ २९ गते १८ वर्षको उमेरमा पाँच वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सजाय भुक्तान गर्न बालसुधारगृह सानोठिमीमा ल्याइएका बस्नेतको आइतबार ओछ्यानमा बेहोस अवस्थामा थिए।
एक बन्दीका अनुसार उनले समयमै उपचार नपाउँदा उनको त्यहीँ मृत्यु भइसकेको थियो। आइतबार बिहान बस्नेतलाई उपचारका लागि गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पताल पुर्याइयो तर चिकित्सकले मृत्यु भइसकेको जानकारी गराए।
यो पनि पढ्नुहोस
मृतकको बाँया खुट्टाको तीघ्रामा पिलो आएको र पहिलादेखि नै आँखामा समस्या रहेको भए पनि शनिबारदेखि नै उनलाई ज्वरो आएपछि सुधारगृहका इन्चार्जले मृतकका दाजुलाई खबर गरेका थिए। त्यसपछि शनिबार राति ज्वरो आयो भन्दै सिटामोल खाएर सुते पनि बस्नेत बिहान उठेनन्। बस्नेतको मृत्युपछि सुधारगृहमा बालबन्दीमा त्रास उत्पन्न भएको एक बन्दीले बताए। दिउँसो मृतकका आफन्तले बाहिरबाट नाराबाजी गरेपछि पुरुष थुनुवाले भित्रैबाट उसको पक्षमा नाराबाजी गरेका थिए। त्यसपछि आइतबार दिउँसैबाट सुधारगृहको स्थिति तनावग्रस्त बनेको थियो।
मृतकका आफन्तले समयमै उपचार नपाउँदा ज्यान गएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए। आइतबार दिउँसो आफन्तले घटनाबारे बुझ्न खोज्दा उल्टै प्रहरी वृत्त थिमिका प्रहरीले पीडित पक्षमाथि दुव्र्यवहार गरेको आफन्तले आरोप लगाएका थिए।
मृतकका आफन्त अचानक सोमबार मध्याह्नपछि बालसुधारगृह गएर नाराबाजी गर्न थालेपछि आक्रोशित सुधारगृहका बन्दीहरूले नाराबाजी गर्दै गेट फुटाएर बाहिर निस्किएपछि अवस्था तनावग्रस्त बनेको उनको भनाइ थियो।
लापरबाही कसको ?
सरकारले हत्या, बलात्कारलगायत बिभिन्न अपराधका घटनामा दोषी ठहर गरेका बालबालिकालाई कारागारमा नराखी बालसुधारगृहमा राखेर शिक्षा, स्वास्थ्य, खानपानलगायतको व्यवस्था गर्दै आएको छ। सरकारले देशभर भक्तपुर, मोरङ, कास्की, बाँके, मकवानपुर, डोटी, पर्सा र रूपन्देहीमा बालसुधारगृह सञ्चालन गरेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सरकारले बालसुधारगृह चलाउँदै आएको छ। केही बालसुधारगृहको व्यवस्थापनको जिम्मेवारी भने गैरसरकारी संस्थाले लिँदै आएको छ।
सानोठिमीमा रहेको बालसुधारगृहको व्यवस्थापनको जिम्मेवारी भने गैरसरकारी संस्था यूसेप नेपालले लिँदै आएको छ। वर्षौंदेखि बालसुधारगृहको क्षमताभन्दा बढी बन्दीहरू यहाँ राखिएको छ। यूसेप नेपालले यहाँको सुधारगृहको क्षमता वृद्धि गर्न र सेवा सुबिधा थप गर्न पटक–पटक माग गरे पनि राज्यले नसुनेको यूसेपको भनाइ छ।
यूसेप नेपालका निर्देशक केशव सुवालका अनुसार बालसुधारगृहमा क्षमताभन्दा बढी बालबन्दीहरू छन्। यहाँ २ सय १० जनाको क्षमता रहेपछि बिभिन्न अपराधका घटनामा परेर सुधारगृहमा रहेका ४३ जना बालिका र २ सय ५६ बालक हाल २९९ बन्दी छन्। यूसेप नेपालले यहाँको क्षमता बढाउन, १८ वर्ष उमेर नाघेकालाई अन्यत्र सार्न, कम्तीमा शिक्षा १२ सम्म अध्ययनका लागि यहीँ व्यवस्थापन गर्न, सेवा सुबिधा एवं बजेट बढाउन पटक–पटक माग गरे पनि सुनुवाइ नभएपछि कठिन रूपमा व्यवस्थापन गर्दै आएको थियो।