बालसुधार गृहको गोलमाल कथा
विभिन्न अपराधमा संलग्न बालबालिका देशका विभिन्न बालसुधार गृहहरूमा राखिएका छन्। उनीहरूको मनस्थिति सुधार गरी असल नागरिक बनाउन र बाल मस्तिष्कमा कारागारको असर नपार्न सुधारगृहमा राख्ने गरिएको हो। तर, मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बालसुधार गृहमा भएको घटनाले बालसुधार गृहको व्यवस्थापनबारे गम्भीर प्रश्न उठाएको छ। जहाँ राखिएका बालबालिकाको व्यवस्थापनमा बालसुधार गृहहरूले गम्भीर लापरबाही गर्ने गरेको पनि यो घटनाले देखाएको छ।
आइतबार अचानक एक बन्दीको सुधार गृहमै मृत्यु भएपछि सुरु भएको तनावले सोमबारसम्म आइपुग्दा विकराल रूप लियो। बालबन्दीहरूले बालसुधार गृहको पछाडिको गेट तोडफोड मात्रै गरेनन्, सुधार गृहमा रहेका २ सय २१ उनीहरू बाहिर निस्केर प्रहरीमाथि नै जाइलागे। बालबन्दी र प्रहरीबीच झडप हुँदा २९ जना घाइते भए।
सुधार गृहमा रहेका बालबन्दीहरूले सुधार गृहभित्रैबाट घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए। बालबन्दीहरूले सुधार गृहको लापरबाहीका कारण ज्यान गएको आरोप लगाएको छ। यो घटनालाई बालबन्दीहरूको आवेगको रूपमा मात्र हेरिनु हुँदैन। बाल सुधार गृहहरूभित्र हुने विकृति र त्यसभित्रको भद्रगोलको पनि यो घटनाले संकेत गरेको छ। त्यसैले यस घटनाको निष्पक्ष छानबिन गरी मृत्युबारे यथार्थ सार्वजनिक गरिनुपर्छ। साथै बालसुधार गृह नै तोडफोड गरेर सयौंको संख्यामा बन्दी बाहिर निस्कने र भाग्नेसम्मको घटनाले यसभित्रको सुरक्षाबारे पनि गम्भीर प्रश्न उठाएको छ। सरकारले यसमा मौन बस्न मिल्दैन। घटनाको गहिराइमा पुगेर भोलिका दिनमा हुन सक्ने अन्य यस्तै घटनामा समेत सतर्क हुनुपर्नेसम्म सम्भावित परिणामका लागि तयार हुनुपर्ने देखिन्छ।
सुधार गृहमा राखेर सुधारको अपेक्षा गरिएकाहरूको मनोवृत्ति सुधार गर्न बालसुधार गृहले कत्ति काम गर्न सक्यो भन्ने पनि प्रश्न उठेको छ। त्यसैले यस्ता बालसुधार गृहहरू राज्य आफैंले सञ्चालन गर्ने र त्यसभित्रको व्यवस्थापन प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्छ। अन्यथा योभन्दा ठूलो क्षति र भद्रगोल राज्यले व्यहोर्नुपर्ने हुन सक्छ।
देशभर रहेका बालसुधार गृहहरूको हालको अवस्था, त्यहाँ भइरहेको सुधारको प्रयास र व्यवस्थापनलाई यो घटनाले गिज्याएको छ। गिज्याएको मात्र छैन, गिजोलिदिएको पनि छ। त्यसैले राज्यले तत्कालै यो घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने हुन्छ। यहीँबाट पाठ सिकेर बालसुधार गृहको प्रभावकारी व्यवस्थापन र नियमनमा प्रभावकारी कदम चाल्नु पनि जरुरी भएको छ।