कोसीका मुख्यमन्त्री थापाको विश्वासको मतविरुद्ध एमाले दियो सर्वोच्चमा रिट

कोसीका मुख्यमन्त्री थापाको विश्वासको मतविरुद्ध एमाले दियो सर्वोच्चमा रिट
फाइल तस्बिर।
सुन्नुहोस्

 विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक तरिकाले लिएको विश्वासको मतका विरुद्ध नेकपा एमाले रिट लिएर सर्वोच्च अदालतमा पुगेको छ।  थापाले संविधानविपरीत विश्वासको मत लिएको भन्दै एमालेले सर्वोच्चमा रिट दिएको हो । रिट दायरको प्रक्रियामा छ।

एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यन्त्री हिक्मतकुमार कार्कीसहितका नेताहरू रिट दायर गर्न सर्वोच्च पुगेका छन् । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेतासमेत रहेका थापाले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने क्रममा सभामुख इस्राइल मन्सुरीले समेत मत दिएका थिए ।  

सभामुखले पक्ष वा विपक्षमा मतदान गर्न नपाउने संवैधानिक व्यवस्था छ । मत बराबरी भएको अवस्थामा भने निर्णायक मत दिन पाउँछन् । मुख्यमन्त्रीले संविधानको उल्लंघन गरेर विश्वासको मत लिएका कारण सर्वोच्चमा रिट दायरको प्रक्रिया अघि बढाइएको एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । 

‘हामीले रिट दिइसकेका छौं । दर्ताको प्रक्रियामा छ,’भण्डारीले भने, ‘संविधान, कानुन र संसदीय अभ्यासविपरीत विश्वासको मत लिने काम भएको छ । त्यो बदर हुनुपर्छ भन्ने हाम्रो माग छ ।’ उनका अनुसार सभामुखको आसनमा बसेका व्यक्तिले निर्धारित समय सकिएपछि विश्वासको पक्षमा मत दिएर मुख्यमन्त्रीले विश्वासको मत पाएको भन्दै जबरजस्ती आफैंले घोषणा गर्नु संविधानको धारा १८६ र प्रदेशसभा नियमावलीविपरीत रहेको दाबी रिटमा गरिएको छ । 

थापा गत साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् । प्रदेशसभा बैठक आह्वान गरेर बिरामी परेको भन्दै उपसभामुख सिर्जना दनुवार काठमाडौं लागेपछि अध्यक्ष मण्डलका सदस्य एवं काँग्रेसका प्रदेशसभा सदस्य मन्सुरीले सभाको अध्यक्षता गरेका थिए । 

मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजनपछि दिएको मत सच्याउने समयमा सभाध्यक्षको आसनमा नेकपा (माओवादी केन्द्र)की प्रदेशसभा सदस्य गीता तिम्सिनालाई बोलाउँदै मन्सुरी मतदान प्रक्रियामा सहभागी भएका थिए । उनकै मतका आधारमा मुख्यमन्त्री थापाले ४७ मत पाएका हुन् । विपक्षमा ३० मत परेको थियो । 

सभामुख बाबुराम गौतम पदबाट राजीनामा दिएर थापाको नेतृत्वमा सरकार गठन प्रक्रियामा सहभागी भएका थिए । गौतम सरकारका आर्थिक मामिला तथा योजना मन्त्री छन् । अहिले कोसीमा सभामुख खाली छ । सभामुख कुनै पनि दलले लिन मानिरहेका छैनन् ।  

एमाले प्रमुख सचेतक भण्डारीले अनधिकृत तरिकाले मतदानमा सहभागी भएर मुख्यमन्त्रीले विश्वासको मत पाएको भनेर सभामुखले गरेको घोषणा उत्प्रेषणको परमादेशबाट बदर गरिपाउँ भनेर रिट दिएको बताए । ‘बराबरी भएको अवस्थामाबाहेक सभामुखले मत दिन पाउने व्यवस्था छैन । त्यो हुँदा मुख्यमन्त्रीको पक्षमा ४६ मत मात्रै परेको हो,’ उनले भने । 

भण्डारीका अनुसार असंवैधानिक तरिकाले लिएको विश्वासको मत बदर गर्दै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नयाँ सरकार गठनका लागि आदेश जारी गर्नुपर्ने मागसमेत रिटमा गरिएको छ । यो उपधाराअन्तर्गत प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ । 

कोसीको ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ जना प्रदेशसभा सदस्य छन् । एमाले र राप्रपा एउटा गठबन्धनमा छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.