३४ वर्षपछि ऐतिहासिकस्थल खोज्दै एमाले

८४ वर्षीय बलबहादुर भन्छन्- सदस्यता नवीकरण गर्ने बेला आयो

८४ वर्षीय बलबहादुर भन्छन्- सदस्यता नवीकरण गर्ने बेला आयो

उदयपुर : ३४ वर्षपछि नेकपा एमालेका नेतालाई आफ्नै घरमा देख्न र भेटन पाउने खबरले ८४ वर्षीय बलबहादुर सुनवार निकै उत्साहित छन्। एक पटक झल्यास मदन भण्डारीसँगै अन्य नेतालाई देखेपछि भेटघाट र सबै संवादमा विश्राम लागेको थियो। त्यसपछि कम्युनिष्ट आन्दोलनमा सँगै हिँड्ने योजना बनाए पनि अहिलेको जस्तो सूचना सञ्चार नहुँदा कसैसँग सम्पर्क नै गर्न नसकेको उनले सुनाए।

उनले यो भेटलाई आफ्ना पुराना कथा पोख्ने र नेतासँग नवीकरण गर्ने अवसरका रूपमा लिएका छन्। भन्छन्, ‘३४ वर्ष अघिका नेता सबैसँग त भेट नहोला जतिसँग हुन्छ त्यसैलाई एउटा अवसर ठान्छु।' उमेर ढल्कदै गर्दा कम सुन्ने र देख्ने गरेका उनी नेताहरूको आगमनमा निकै खुशी देखिन्छन्। 

आफूले बनाएको घरमा एमालेले सचिवालय बैठक आयोजना गरेकोमा खुशी व्यक्त गर्दै उनले भने, ‘सहज परिस्थितिमा यो कुनाकाप्चा यसरी बैठक हुन्छ जस्ता लागेको थिएन्, जे होस् सम्झिएर आउनु भएछ सारै खुशी छु।' 

नेताहरू आउने खबरले उनी आफू र छिमेकीलाई बोलाएर सरसफाइमा जुटेका छन्। विगतलाई सम्झँदै सुनवारले भने, ‘भूमिगत अवस्थाको तत्कालीन समयमा राज्यबिरुद्ध कठिन संघर्षरत कम्युनिष्ट पार्टी नेकपा मालेलाइ चौथो महाधिवेशन आयोजना गर्न जोखिम मोलेर आफ्नो घर उपलब्ध गराएको थिए।'

सुनुवारले देशमा आमुल परिवर्तनका लागि आफूले जोखिम मोलेर घर उपलब्ध गराएको बताए। त्यस समयमा हल्लाखल्ला नगरी कार्यक्रम गर्नु बाध्यता रहेकाले सीमित नेता कार्यकर्ताको उपस्थितमा महाधिवेशन सम्पन्न भएको बताए। 

३४ वर्षपछि ऐतिहासिकस्थलमा एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक शनिबार ऐतिहासिकस्थल धनगढीमाई नगरपालिका-१४ सर्रेआम्बासीमा बस्दै छ। पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि १४ किलोमिटर उत्तरी क्षेत्रमा पर्ने उक्त स्थान नेकपा एमालेका लागि ऐतिहासिक स्थल हो।

२०४६ भदौ ९ देखि १४ गतेसम्म तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन भएको थियो। उक्त महाधिवेशनले २० सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै मदन भण्डारीलाई महासचिवका रूपमा अघि सारेको थियो। त्यहीँ ठाउँ हो जहाँबाट मदन भण्डारीको राजनीतिक नेतृत्वको उदय भएको थियो भने जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शन सिद्धान्तका रूपमा अघि सार्ने निर्णय भएको थियो।

राजमार्गदेखि टाढा त्यसमा पनि वनजंगल भित्र पर्ने ठाउँ भएकाले तत्कालीन समयमा सुरक्षाका दृष्टिकोणले नेताहरूलाई उक्त ठाउँ सुरक्षित मानिन्थ्यो। यस हिसाबले पनि नेकपा एमालेका लागि उक्त ठाउँ ऐतिहासिक रहेकाले मदन भण्डारी फाउन्डेसनद्वारा गठित चौथो महाधिवेशन स्थल संरक्षण समितिको आग्रहमा एमालेले उक्त ठाउँलाई बैठकस्थलका रूपमा रोजेको हो। 

संरक्षण समितिका सहसंयोजक भागवत राउतले, ‘इतिहासलाई जीवन्त दिन, यसको महत्व, गरिमा र इतिहासमा नेपाली वामप्रजातान्त्रिक आन्दोलनलाई संगठित रूपमा अघि बढाउन यो स्थानले भूमिका निर्वाह गरेकोले पार्टीको बैठकको माग गरेका हौ, जुन स्वीकार गरिदिनु भएको छ।'

उनले थपे, ‘जननेता भण्डारीले राजनीतिक रूपमा जुन उच्चस्थान र पदमा पुग्नु भयो त्यसमा उदयपुर र सिराहा जिल्लाको योगदान कत्ति थियो भन्ने कुरा झल्किन्छ किन कि कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्षको उपलक्ष्यमा निर्माण गरिने स्तम्भ पनि सोही स्थानमा शिलान्यास गरिँदै छ।' 

बैठक हुने निश्चय भएसँगै स्थानीय नेताहरू विभिन्न समितिहरू निर्माण गरी तयारीलाई तीव्रता दिएको राउतले बताए। नगरपालिकासँगको समन्वयमा कच्ची सडक विस्तार र सुधार, सरसफाई, खानेपानीको पहुँच लगायतका काममा जुटेका छन्। 

उक्त ठाउँमा मदन भण्डारी पार्क निर्माण गरेर राजनीतिक पर्यटनको विकास गर्ने, पुस्तकालय स्थापना गर्ने योजना रहेको एमालेका पोलिटब्युरो सदस्य तथा सिरहा जिल्ला इन्चार्ज सुमनराज प्याकुरेलले बताए। बैठकस्थलमा ऐतिहासिक राष्ट्रिय महत्व राख्ने सहिद स्तम्भको आइतबार नै शिलान्यास गर्ने कार्यक्रम रहेको उनले बताए।

जसमा झापा, छिन्ताङ, नख्खु जेल ब्रेक र सिरहामा सहादत प्राप्त गरेका सहिदहरू लगायत कम्युनिष्ट आन्दोलनको ७५ वर्षे इतिहासमा योगदान दिने सहिदहरूको नाम स्तम्भमा समेटिने उनले बताए। 

यस अवसरमा पुस्तक विमोचन, वृत्तचित्र प्रदर्शन गर्ने तथा सिरहा जिल्लाका कष्टकर जीवन बिताएर पार्टीलाई यहाँसम्म ल्याउने र भूमिगत अवस्थामा पार्टीलाई योगदान दिने नेताहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए। पुस्तकमा कम्युनिष्ट आन्दोलनमा कष्टकर जीवन बिताएर पार्टीलाई यहाँसम्म ल्याउनेहरूको योगदान समेटिएको छ। 

यसरी रोजाईमा पर्‍यो सर्रेआम्बासी   

तीन दशक अघि नेपालमा तानाशाही शासकहरूले कम्युनिष्ट पार्टीमाथि कडा प्रतिबन्ध लगाएपछि नेताहरू सुरक्षित स्थानको खोजीमा थिए। प्रतिबन्धित अवस्थामा नेता कार्यकर्ता धरपकट हुने सम्भावना भएपछि चुरे जंगलको बीचमा रहेको सर्रेआम्बासीलाई नेताहरूले सुरक्षित स्थान ठानी अधिवेशनस्थल बनाएको बलबहादुर सुनवारले सुनाए। 

भौगोलिक विकटता, जंगलको छेउ रहेकाले प्रहरी प्रशासन जान नसक्ने र पुगिहाले पनि जंगलमा भाग्नलाई सहज हुने भएकाले उक्त ठाउँ रोजाइमा परेको हुन सक्ने उनको अनुमान छ। बलबहादुरको घर पहिलादेखि नै नेताहरूको सेल्ट्रर (लुकुछिपी बस्ने र भेटघाट) स्थल थियो। 

त्यहीँ बसेर पञ्चायती व्यवस्थाको अन्त्यका लागि विभिन्न खालका योजना बनाउने, पार्टीको नयाँ रणनीति, बैठक गर्ने ठाउँका रूपमा रहेको उनको भनाइ छ। 'सुरक्षाको दृष्टिकोणले महाधिवेशन स्थलका रूपमा नेताहरूको रोजाइमा तत्कालीन सिरहाकै फुलवरियाकट्टी गाविस ६ मोतियाही थियो,' पोलिटब्युरो सदस्य प्याकुरेलले भने, ‘तर काठमाडौंबाट आउने क्रममा नेताहरूले कार्यक्रम स्थल लगायतका महत्वपूर्ण निर्णय, दस्तावेजहरू बाटोमा झारेपछि प्रहरीले कागजात फेला पारेमा खतरा हुन सक्ने भन्दै सम्भावित हुन सक्ने खतरालाई जोगाउन स्थान परिवर्तन गरिएको हो।'

त्यो डकुमेन्ट प्रहरीले फेला पार्यो भने सबै नेताहरू एकैसाथ गिरफ्तार हुने खतरा रहेकाले ठाउँ सारिएको उनले बताए। ‘मदन भण्डारी, सिपी मैनाली, मोदनाथ प्रश्रित, प्रदिप नेपाल लगायतका ५०/६० जना नेता आएर ७ दिन लगाएर महाधिवेशन र बैठक गरेका थिए,' नेतालाई सेल्टर दिएर राखेका सुनवारले भने, ‘१० दिनसम्म महाधिवेशन चल्ने कुरा थियो, डकुमेन्ट हराएकाले सुरक्षा व्यवस्थाकै कारण चाँडो सक्नु पर्यो।'

महासचिव मदनको इतिहासलाई मेटिन नदिन मदन भण्डारी फाउन्डेसनले बलबहादुरको घर क्षेत्रमा नै ‘मदन भण्डारी स्मृति पार्क' निर्माण योजना अघि सारको छ। पहिलो चरणमा उक्त क्षेत्रलाई प्रदेश सभा सदस्य मदनसेन श्रीवास्ताले संसदीय पुर्वाधार विकास कार्यक्रमअन्तर्गत घेरावेरासहितको पार्क तयारी गरिदिएको उपाध्यक्ष राउतले बताए।

पार्कभित्र मदनसँग जोडिएका र सिरहा जिल्लाका कम्युनिष्ट नेताहरूको इतिहास, आन्दोलनलाई केन्द्रित रहेर सँग्रालय निर्माण गरिने उनले बताए। त्यसैगरी साइकल चढ्दै गरेको मदनको सालिक निर्माण, ताप्लेजुङको ढुगेंसाँघुमा रहेको घर भौगालिक विकटता र टाढा रहेकाले पनि त्यो घर झल्काउने गरी सोही आकारको कोसेली घर निर्माण गर्ने, त्यसभित्र भण्डारीसँग जोडिएका जीवनी, इतिहास, स्थानीय सामग्री राखिने उनले बताए।

पार्कभित्र सामान्य जीवन सरह खानपिन हुने गरी कम्युनिष्ट होमस्टे सञ्चालन, बाहिरका विद्यार्थी पढ्न आउने गरी भोकेसनल, व्यावसायिक शिक्षा सञ्चालन गर्ने, जनपार्क निर्माण, महाधिवेशनमा आएका नेताहरूको तस्बिर राख्ने योजना रहेको राउतले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.