जब भेटिए काबुलिवाला...

जब भेटिए काबुलिवाला...

‘काबुलिवाला, ए काबुलिवाला’, मैले ठूलो आवाजमा बोलाएँ। रहमत झस्किए। ‘काबुलिवाला, कस्तो छ तपार्ईंको खबर ?’ उनले बुझेनन्। ‘म रहमत। सञ्चै छु। तर मैले चिनिनँ।’

कथा सम्माननीय टैगोरले रहमत खानलाई भेट्नुअघि काबुलिवालाको भाइको घरमा भएको घटनामा आधारित छ। काबुलिवालाले या त यो घटना लेखकलाई भनेनन् वा विश्वप्रसिद्घ कथाकारले मिनी र मुख्य पात्रबीच त्यसलाई उप्काउन चाहेनन्। जे होस्, घटना आलो नभए पनि हृदयविदारक थियो।  

अफगानिस्तान। काबुल। मध्यपूर्वको सिमाना रहेको दक्षिण एसियाली देश मौलिक भौगोलिक र जातीय विविधताको सौन्दर्यसाथ आधुनिकतातर्फ उक्लँदै थियो। अनौपचारिक डिजाइनमा बनेका घरका छेउछाउ छरपस्ट पारामा खोलिएका पसल अनि रंगीबिरंगी मानिसका निरन्तर चलिरहने हल्लाखल्ला अफगान जीवनशैलीको पहिचान बनेको थियो। त्यसमै रमाउँदै रहमान खान अर्थात् काबुलिवालाको ठूल्दाइको पारिवारिक जीवन चलिरहेको थियो। मर्यादाभित्र बसेर सम्पन्नतातर्फ लम्कँदै गरेको खान परिवार सामाजिक प्रतिष्ठा आर्जन गरिरहेको थियो। 

एक चकमन्न औंसीको साँझ। खान परिवार हाँसीखुसी रात्रिकालीन खाना खाइसकेका थिए। मध्य ३० मा हिँडिरहेकी छोटे खान पत्नी फतिमा र १४औं वसन्त पार गरी १५ लागेकी ठूली छोरी अमिना घरधन्धा गर्न जुर्मुराउन लाग्दै थिए। दुई छोरालाई लिएर बढे खान केही सय मिटर पर रहेको काका रहमतको घरतर्फ लम्कन लाग्दै थिए। 

खासमान खान परिवारको घरमा विवाह थियो। यो खबरले परिवारमा हर्ष सँगसँगै वैवाहिक संस्कारको बोझ थपिएको थियो। चटारो र हतारोले गाँजेको थियो।

तपाईंको परिवारलाई खान परिवारमा जोडेर कल्पना गर्नुहोस् त। 

त्यो रात। एकाएक हतियारधारी एक दर्जन डाकु घरभित्र छिर्छन्।

आमाको हातमा रहेको थोत्रो भाँडो भुइँमा गल्र्याम्म बजारिन्छ।

रहमान र दुवै छोराका हात खुट्टा बाँधेर काठको कुर्सीमा राखिन्छ।

मुकुन्डोधारी दुई अधबैंसे अमिनाको हात समात्न लाग्छन्। 

अमिनालाई प्रतिकार गर्न आमाले सहयोग गर्ने प्रयत्न गर्छिन्। 

दुई किशोरले फतिमालाई झम्टेर भुइँमा लडाउँछन्।

लुटपाट गर्ने गरिरहन्छन्। कोही शरीरको त कोही सम्पत्तिको। डकैती केही समय चलिरहन्छ। 

डाँकाहरू नथाकुन्जेल आमाछोरी छट्पटिन्छन्। 

उता विवश मर्दका आँखा सर्मले एकोहोरिइरहन्छन्।  रसाइरहन्छन्।  

यो घटनापश्चात् मानसिक रूपमा रुग्ण बन्दै गरेको खान परिवार तितरबितर हुन्छ। रहमानले आत्महत्या गर्छ। दुवै छोरा सशस्त्र विद्रोहतर्फ लाग्छन्। गर्भिणी अमिनालाई लिएर फतिमा अर्को सहरतिर जान्छे। बसाइँ सर्न बाध्य बनेको काबुलिवालाको पनि आर्थिक अवस्था खस्कँदै जान्छ।

काबुलिवाला कमाउन पाँच वर्षकी छोरी छाडेर भारत पसेको छ। टाउकोमा मुमफली बदाम, काजु बेच्दाबेच्दै आफ्नै छोरी उमेरकी बाबु मोसाई कि छोरी मिनीसँग उसको दोस्ती बढ्छ। 

उनीहरूको मित्रता गज्जबको छ। सम्पन्नतालाई भुइँचालोले भत्काएपछि आफ्नो छोरीको न्यास्रो मेट्न मिनीलाई भेट्नु उसको आदत बस्छ। मुमफली, बदाम र काजुमा लोभिनु पाँचवर्षे बालिकाको नियति बन्छ। 

मजबुरीमा बिदेसिनु। पैसाको जोहो गर्न नसकेर परिवारबाट सम्पर्कविहीन रहनु। मिनीको विवाहको दिन आफ्नी छोरीको पनि विवाह गराउनुपर्ने कुराले झस्काउनु। बाबु मोसाई मिनीको विवाह खर्च कटाएर विदेशी काबुलिवालाको हात थमाउनु। उसको जीवनमा अविस्मरणीय क्षण बनेर आउँछ। काबुलिवाला अन्ततः काबुल फर्कन्छ।

काबुल छोड्दा र आउँदा त्यहाँ धेरै परिवर्तन देखिन्छ। 

उसले काबुल छोड्दा ‘द काईट रनर’ जन्मिएको थिएन। जब ऊ फर्किन्छ प्रोटागोनिस्ट अमिर र उसको साथी हसनको बालपन लगभग बितिसकेको हुन्छ। दस बर्से आक्रमणले घाइते बनेको अफगानका चोइटाचोइटाबाट रगत तप्ततप्त चुहिरहेको हुन्छ । मानिसले भरिपूर्ण भए पनि सहर मौन लाग्छ। उदास। उमंगविहीन। 

ऊ आफ्नो घर पुग्छ तर त्यो खाली हुन्छ। श्रीमती र छोरीलाई खोज्छ। तर केवल शून्यता देख्छ। उनीहरूको अवस्था सोधीखोजी गर्न समेत समस्या पर्छ उसलाई। 

केही पर खेल्दै गरेका दुई बालक देखिन्छन्। 

नजिक पुग्छ र सोध्न खोज्छ।

बालकहरू अक्क न बक्क पर्छन्। नौलो मानिस देखेर असुरक्षित आमा चिल देखेर चल्ला छोप्न कुदेकी पोथीझैँ दगुर्दै आइपुग्छिन्। र, बच्चालाई घर जाने इशारा गर्छिन्। 

ती महिलाले रहमतलाई चिन्छिन् र आफ्नो घरमा आउन निम्ता दिन्छिन्। 

‘पृथ्वी गोलो छ, पालो पर्खन सक्नुपर्छ, रहमत’, उनी भन्छिन्। 

रहमत, खान परिवारको सान सुनेर छक्क पर्छ। काबुलमा भतिजाको मान र राज हेर्न उसका आँखामा उत्सुकता भरिएर आउँछ। श्रीमती र छोरी सोरायालाई भेट्न हतारो पर्न थाल्छ। छोरी सरकारी उच्च ओहोदामा पुगेको थाहा पाउँदा उसलाई संसार विजय गरेर आएको भान हुन्छ। एकपछि अर्को सुखद खबरले उसको गह भरिएर आउँछ। 

‘तर बिचरा फतिमा’, राम्रो खबर भन्दाभन्दै ती महिला अड्किन्छिन्। ‘के भयो र भाउजूलाई ?’ रहमानले झस्कँदै सोध्यो।

उनी फतिमाको कथा भन्न थालिन्। छोराहरूको लाख कोसिसका बाबजुत फतिमा मानसिक रूपमा कहिल्यै स्वस्थ हुन सकिनन्। निराशाले घेरिएकी उसले उदासीलाई चिर्न सकिनन्। आँखामा पोतिएको डर र लाजलाई लुकाउन सकिनन्। आफ्नै छोराका आँखामा हेरेर माया भर्न सकिनन्। ऊनले अनि आफ्नै पतिको बाटो रोजिन्।

दुःखित हुँदै रहमान आफ्नो भतिज, श्रीमती र छोरीको ठेगाना लिँदै त्यहाँबाट बिदा भयो।

यहाँ आएर बल्ल कावुलिवालको कथा संयोगान्त बन्यो। 
      
मैले सुखी काबुलिवालालाई पछ्याउन छोडिदिएको थिएँ। आफ्नै जीवनको चक्करमा घुम्न थालें। पढाइ अनि तत्पश्चात् जागिर। जागिर अनि विवाह। आफ्नो देश नेपालमा चलिरहेको आन्तरिक गृहयुद्ध। चन्दा आतंकदेखि हत्या, बलात्कारका समाचार। दैनिकी यसमै बित्न थाल्यो। नकारात्मक वातावरणले आफ्नो ऊर्जालाई क्षयीकरण गर्दै लाँदै थियो। यसैबीच मैले पनि बिदेसिने निर्णय गरें।

संघर्षमय आप्रवासी समय बिताइरहेको म। जीवन हेर्ने प्रत्येकको आफ्नै दृष्टिकोण हुन्छ। सबैले सुख, दुख, खुसी, पीडा, प्रेम, जीवन, मृत्युलाई परिभाषित गर्न खोजिरहन्छन्। म समग्रको धारणलाई सम्मान गर्दै स्वतन्त्र जीवनको दर्शनलाई आत्मसात् गरी बढिरहेको थिएँ। यसैबीच मेरो थुप्रै पात्रसँग भेट भयो र हुँदै थियो। 

त्यसैबीच, एक दिन अचानक बूढा काबुलिवालासँग भेट भयो। 

अस्ट्रेलियाको इद मार्केट। लकेम्बा। कुप्रँदै वृद्ध समूहमा हिँड्दै गरेका काबुलिवालालाई चिन्न मलाई कुनै गाह्रो परेन। 

‘काबुलिवाला, ए काबुलिवाला’, मैले ठूलो आवाजमा बोलाएँ। 

रहमत झस्किए। 

नजिकै गएर जिज्ञासा राखें, ‘काबुलिवाला, कस्तो छ तपार्ईंको खबर ?’ 

उनले बुझेनन्। छेवैमा भएका अर्का वृद्धले पास्तो भाषामा उल्था गरिदिए। 

‘म रहमत। सञ्चै छु। तर मैले चिनिनँ’, उनले आफ्नै भाषामा भने। कसैले अनुवाद गरिदियो।

अलमल्ल हुँदै बिस्तारै उनले भने, ‘काबुलिवाला भनेर मलाई मिनीले मात्र बोलाउँथी। तपाई को हो ?’

मैले काबुलिवाला र उनैको कथालाई काबुल पुग्दासम्म पछ्याइरहेको कुरा सुनाएँ। उनी अवाक् बने।

के भयो ? कसरी उनी यहाँ आइपुगे ? मेरो मथिंगल झन् धुम्न लाग्यो। उनले भने खासै बोल्ने चासो देखाएनन्। 

केही बेर पछ्याइहेरें। तर, त्यो मेलाको भीडमा काबुलिवाला कता हरँउ, हराए। 

कुरा जोडिनु जो थियो। एक दिन काबुलिवालालाई त्यही एरियाको एक अफगानी रेस्टुरेन्ट अगाडि चिया खाँदै बसेको देखें। 

म नजिकै गएँ र भनें, ‘काबुलिवाला बा, तपाईँलाई कस्तो छ ?’

उनले मलाई बस्ने इसारा गरे।

‘हिन्दी बुझ्नुहुन्छ ?’ भन्ने बित्तिकै हाम्रो दोहोरो कुराकानी चल्न थाल्यो।

उनलाई मिनीलाई भेट्ने खुब चाहना रहेछ। 

‘काबुलबाट कसरी फेरी यहाँ आइपुग्नु भयो बा ?’ मैले प्रश्न गरें। 

उनका आँखा भरिए। मलाई बेकारमा सोधेझैं भयो। 

उनी सामान्य हुँदै गए। र, कथालाई निरन्तरता दिए। 

रसियनले छाडेपश्चात् बिस्तारै काबुल स्थिरतातर्फ बढ्दै थियो। युद्धका घाउहरू क्रमशः निको हुँदै थिए। काबुलमा मेरो परिवारसँग भेट भयो। श्रीमती, छोरी, भतिजा, नाति, नातिना र आफन्तजनसँग जीवन रमाइलो थियो। मैले भतिजा र छोरीको सहयोगमा एक पसल खोलें। अर्काको देशमा अनागरिक भएर बाँचिरहेको जीवनमा एकाएक प्राण भरिएर आयो। मेरो लत्रिएको शिरमा स्वाभिमानको ज्वाला बिस्तारै प्रज्वलित हुन लाग्यो। मेरो परिचय काबुलिवालाबाट खान चाचामा परिवर्तन भयो। 

खान चाचाको कुरा सुनेर मेरो उत्सुकता भन् बढ्न थाल्यो। 

‘अनि खान चाचा, के भयो त्यस पछि ?’ म विज्ञासु बनें।

‘के हुनु थियो र ! सबैले सुनेको, अमेरिकन अफगानिस्तान युद्ध’, उनी बोले।  

फिरंगी गोला, बारुद, ट्यांकर लिएर हाम्रा गल्ली गल्ली हिँड्न लागे। लडाकु र फिरंगीको विनाशकारी नृत्य चल्न लाग्यो। गोलाका आवाजले अफगानी आकाश र पहाड गुञ्जन लागे। व्यस्त सहरमा बमका आवाज सामान्य सुनिन थाले। मानवीय शरीरका चोइटा र खुनका छिर्का गल्ली गल्लीमा छरिन लागे। मानिसले मानिस हुन पाउन छाड्यो।

एक गयो, अर्को आउँछ। अर्को गयो, तेस्रो तयारीमा छ। देशहरू विकसित कहलिए पनि त्यहाँ बस्ने मानवीय सोच पशुतुल्य छ। व्यवहार हिंस्रक नै छ। नाफाका लागि रगतको व्यापारमा लागेका छन् शक्तिशालीहरू। 

खान चाचाको रिस मर्ने छाँटकाँट देखिनँ। 

दसबर्से सशस्त्र युद्धका दृश्य त मसँग पनि थिए। तल्ला घरे बिधवा भाउजू, स्कुलडाडाका टुहुरा रत्ना र शिव। भालाले घोपीघोपी मारिएका हरि सर र एसपी न्यौपाने मामा। सामूहिक बलात्कार गरी फालिएकी रमा। बेपत्ता छोराको अवस्था बुझ्न यताउता भौंतारिरहेका सेता घरे ठूलोबुबा।

उनी अझै बर्बराइरहेका थिए। एकोहोरिएर बेहोसमा। मैले उनलाई झकझकाएँ। 

बिचरा, उनकी छोरीको गोली लागेर मृत्यु भएछ। श्रीमतीको आत्मघाती आक्रमणमा। एक भतिजलाई लडाकुलाई सहयोग गरेको आरोपमा मारिएछ। एकको अवस्था अहिलेसम्म अज्ञात रहेछ। 

निरन्तर १३ वर्षको युद्धपश्चात्को शरणार्थी जीवन रहेछ यो। भतिजाका दुई छोरा, अफ्ताव र जमिर।  यी दुई नातिसँग खान चाचा अस्ट्रेलिया आइपुगेका रहेछन्। खान परिवारमा बाँचेका, मात्र यी तीन।

हामी दुई यसरी नै गफिँदै थियौं। एउटा कार हामी बसेको बाटो छेवैमा आएर रोकियो। अफ्ताव र जमिर गाडीबाट निस्किए। जो थिए– काबुलिवालाका नातिहरू।

परिचय साटियो। पुनः भेट्ने वाचासहित काबुलिवाला नातिहरूसहित बिदा माग्दा भए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.