... अनि उनले पाए नागरिकता

... अनि उनले पाए नागरिकता
प्रमुख जिल्ला अधिकारी हमालबाट नागरिकता लिँदै शेर्पा। तस्बिर : हिक्मतबहादुर नेपाली
सुन्नुहोस्

दैलेख : ढल्किँदै गरेको उमेर। दायाँ हातमा लौरो। बायाँ हात पत्नीको सहारा। उमेरले ५६ वर्ष पुगेका ठाटीकाँध गाउँपालिका–३ भुवाखाडाका चन्द्रबहादुर शेर्पा दम्पती मंगलबार जिल्ला प्रशासन कार्यालयको मूल गेटबाट भित्र पसे। नागरिकताका लागि सबै कागजात कर्मचारीलाई बुझाए। अनि शेर्पालाई प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले नागरिकताको प्रमाणपत्र प्रदान गरे। 

लामो संघर्ष र मेहनतपछि बल्लतल्ल नेपाली नागरिकताको प्रमाणपत्र हातमा पर्दा शेर्पाको अनुहारमा खुसी छायो। वर्षौंसम्म संघर्ष गरेर नागरिकता पाउँदा उनीमा खुसीको सीमा नै थिएन। अझभन्दा उनले एउटा लडाइँ नै जिते। अर्थात् नेपाली नागरिक भएको प्रमाण पाए। चन्द्रबहादुरुले यो नागरिकता सहजै भने पाएका होइनन्। उनले यो नागरिकता पाउनुको पछाडि धेरै संघर्ष छ। 

शेर्पाले प्राप्त गरेको नागरिकतामा पितृत्व र मातृत्वको ठेगान नभएको उल्लेख छ। शेर्पाको नागरिकतामा २०२४ वैशाख १५ गते जन्ममिति कायम छ। अनागरिक सरह बाँच्न बाध्य भएका शेर्पा परिवारको व्यथाबारे गत चैत ६ मा अन्नपूर्ण पोस्ट् दैनिकमा ‘परिवारै अनागरिक’ शीर्षकमा समाचार प्रकाशित भएको थियो। सोही विषयमा एपीवान टीभीले समेत समाचार प्रसारण गरेको थियो। नागरिकता प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी हमालले शेर्पा परिवारलाई अब अनागरिक भएर बाँच्नुपर्ने बाध्यता अन्त्य भएको बताए। ‘शेर्पा परिवारलाई अब जन्मदर्ता, विवाहदर्ता, मताधिकार, सिफारिस, सामाजिक सुरक्षा भत्तालगायतको सम्पूर्ण सेवासुविधा पाउने अधिकारको बाटो खुलेको छ’ हमालले भने।

शेर्पा सानै उमेरमा पूर्वी नेपालबाट आमासँगै भारतको हिमाञ्चल प्रदेश पुगेका थिए। त्यसपछि आमाले अन्तै विवाह गरेर गएपछि उनी एक्लिए। परदेशमा एक्लो बनेका शेर्पाको उतै दैलेखका सरुने सुजीसँग भेट भयो। सुजीको साथमा शेर्पा पनि दैलेखको भुवाखाडा गाउँमा आए। उनी दैलेखको भुवाखाडा गाउँमा बसोबास गर्न थालेको तीन दशक पूरा भइसकेको छ। जन्मदर्ता र नागरिकता प्राप्तिको लागि उनले सरकारी निकाय धाउन थालेको २५ वर्ष बितिसकेको थियो। उनको थर ठेगान नखुलेको भन्दै प्रशासनले नागरिकता दिन अस्वीकार गर्दै आएको थियो। बाबुको नागरिकता नहुँदा उनका ६ सन्तानको जन्मदर्ता हुन सकेको थिएन भने नागरिकता पनि पाउन सकेका थिएनन्। 

लामो संघर्षपछि उनी नेपाली नागरिक ठहरिएका छन्। अधिकारकर्मी, जनप्रतिनिधिलगायतको सहयोगले आफूले नागरिकता प्राप्त गरेको शेर्पा बताउँछन्। ‘वर्षौंदेखि नागरिकता पाउन सकेको थिइनँ’ उनले भने, ‘कोही नहुनेको सरकार हुन्छ भन्ने सुनेको थिएँ, आफैंले भोग्न पाएँ। आज मनले शान्ति पाएको छ।’ शेर्पाले लामो संघर्षपछि नागरिकता त पाए, तर उनले आफ्नै नागरिकता सहजै देख्न सकेका छैनन्। उनका दुवै आँखा हाल कमजोर भएका छन्। आँखाले धमिलो देख्ने भएका कारण आफूले वर्षौंपछि पाएको नागरिकता पनि राम्रोसँग हेर्न नपाएको उनको गुनासो छ।

अब हुनेछ जन्मदर्ता 

शेर्पा पत्नी गगनी विकको भने माइतीबाट बनाएको नागरिकता छ। तर चन्द्रबहादुरको नागरिकता नहुँदा विवाह दर्ता हुन सकेको थिएन। जसकारण उनीहरूका ६ सन्तानको न जन्मदर्ता बनेको थियो न त नागरिकता नै। अब नेपाली नागरिकता पाएसँगै शेर्पा दम्पतीको विवाह दर्ता गर्ने बाटो खुलेको छ। अर्कोतर्फ सन्तानको जन्मदर्ता र नेपाली नागरिकताको प्रमाणपत्र पाउने भएका छन्।

झन्डै २८ वर्षअघि विवाहबन्धनमा बाँधिएको शेर्पा दम्पतीका तीन छोरा र तीन छोरी छन्। जेठी छोरी पवित्रा (२५) र माइली छोरी दीपा (२३) को बिहे भइसकेको छ। दुई छोरीको समेत चार सन्तान भइसकेका छन्। अर्की छोरी १३ वर्ष पुगिन्। छोराहरू जीवन १६, राजन १२ र सुनील १० वर्षका छन्। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.