कांग्रेसले टुंग्यायो संसदीय समितिको उम्मेदवार : कुन समितिमा को ?
काठमाडौं : नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवार टुंगो लगाएको छ।कांग्रेसले आफ्नो भागमा परेको ४ वटा समितिको सभापतिको उम्मेदवारहरुको नाम टुंगो लगाएको कांग्रेस सांसद रामहरी खतिवडाले जानकारी दिए।
‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयनका लागि आज उम्मेदवारको मनोनयन हुँदैछ। कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा देउवा, संसदीय सुनुवाइ समितिमा जीवन परियार, अर्थ समितिमा सन्तोष चालिसेलाई उम्मेदवार बनाउने सहमति गरेको छ। कांग्रेसभित्र चार सभापतिमध्ये संस्थापन इतरले दुई समितिको दाबी गरेको थियो।
खतिवडाले भने, ‘मलाई भर्खरै टेलिफोन आयो राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवार दिनका लागि तयारी हुनु भनेर। म राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दिँदैछु।’ उनले अन्य समितिको उम्मेदवार पनि टुंगो लागिसकेको बताए।
हाल समितिका बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै आएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप निर्वाचन प्रक्रिया अघि बढेको हो।
समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।