जोगियो लाखेजात्रा फुटबलको साख

जोगियो लाखेजात्रा फुटबलको साख
सुन्नुहोस्

प्रतियोगिता जनैपूर्णिमा (भदौ १४ गते) देखि सुरु भएर श्रीकृष्ण अष्टमी (भदौ २१ गते) सम्पन्न गर्ने चलन छ। यस वर्ष भारतको एकसहित आठ टोलीले सहभागिता जनाउने छन्। ‘प्रतियोगिताको पुरानै क्रेज छ।

ताप्लेजुङ : लाखेजात्राको अवसर पारेर २०२९ सालदेखि सुरु भएको फुटबल प्रतियोगिता २०७६ सालदेखि सञ्चालन हुन सकेन। दुई वर्ष कोरोना महामारीका कारण स्थगित भएको प्रतियोगिता गत वर्ष खेल मैदान अभावका कारण हुन सकेन। तर, खेलप्रेमी र दर्शकको चौतर्फी दबाबले यस पटक आयोजकलाई तताएको छ। यसवर्ष पनि प्रतियोगिता हुन्छ कि हुँदैन भन्नेमा अन्योल थियो। अन्तिम समयमा युवाहरू जोसिएर सञ्चारकर्मीसमेत रहेका पूर्वखेलाडी देवराज गुरुङलाई लाखेजात्रा खेल सञ्चालन समितिको अध्यक्ष बनाएर प्रतियोगिता सञ्चालन गर्ने तयारी थालेका हुन्। यस पटक प्रतियोगिताको नाम दिइयो ‘ताप्लेजुङ गोल्डकप’।

‘खेल मैदान मेसिन नै लगाएर सम्याउनुपर्ने रहेछ। दर्शकका लागि मैदानको चारैतिर बाँसको अस्थायी प्यारापिट बनाउनु पर्ने छ’, अध्यक्ष देवराज गुरुङले भने, ‘खेलप्रतिको बढ्दो क्रेज र परम्परालाई मर्न नदिन प्रतियोगिता सञ्चालन गर्ने भएका हौं।’ विगतका आयोजक र पुराना खेलाडीबाट पनि सहयोग पाएकाले प्रतियोगिता सफल हुनेमा आशावादी रहेको गुरुङले बताए। 

प्रतियोगिता जनैपूर्णिमा (भदौ १४ गते) देखि सुरु भएर श्रीकृष्ण अष्टमी (भदौ २१ गते) सम्पन्न गर्ने चलन छ। यस वर्ष भारतको एकसहित आठ टोलीले सहभागिता जनाउने छन्। ‘प्रतियोगिताको पुरानै क्रेज छ। यसवर्ष पनि अन्य ठाउँमा यो समयमा प्रतियोगिता नभएकाले देशका चर्चित खेलाडीसहित विदेशी खेलाडी पनि मैदान उत्रने छन्’, अध्यक्ष गुरुङले भने, ‘हामीलाई मैदानको ठूलो चुनौती छ। सबैको सहयोगले मैदान पनि तयार भएको छ।’

भानुजन माध्यमिक विद्यालयको खेल मैदानलाई तयार गर्न स्वतस्पूmर्त सहयोग प्राप्त भइरहेको समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले बताए। यसअघि प्यारापिटसहितको संरचना भए पनि विद्यालयले कम्पाउन्ड लगाउन भत्काएकाले फेरि बनाउनु पर्ने अवस्था रहेको श्रेष्ठले बताए। श्रेष्ठका अनुसार प्रतियोगिताका लागि ४७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। चार वर्ष अघि भएको प्रतियोगितामा दर्शकबाट २० लाख रुपैयाँ उठेको थियो। ‘फुङलिङ नगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ। अरु आठ वटा गाउँपालिकाले पनि सहयोग गर्ने बचन दिनुभएको छ’, अध्यक्ष गुरुङले भने, ‘पुरस्कार प्रायोजक र सहयोगीबाट रकम जुट्ने अपेक्षा गरेका छौं।’ सदरमुकाम चलायमान हुने र लामो इतिहास बोकेको प्रतियोगिता भएकाले धेरैको सहयोग रहने समितिका पूर्वअध्यक्ष युगराज गुरुङले बताए। ‘यसले जिल्लाको अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै पर्या–पर्यटनमा पनि टेवा पुग्नेछ’, उनले भने। लाखे नाच र फुटबल हेर्न सदरमुकाम भित्रिनेहरूको ठूलै ताँती लाग्ने गरेको थियो।

एक सातामासम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल मानाभारा स्पोर्टिङ क्लब ताप्लेजुङ र जुट विकास फुटबल एकेडेमी इटहरीबीच हुनेछ। प्रतियोगिताको विजेताले तीन लाख ११ हजार एक सय ११ रुपैयाँ पाउने छन्। यस्तै उपविजेताले एक लाख ५१ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने छन्। यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.