राजनीतिमा अवसरवाद र अराजकता चुनौती : एमाले

राजनीतिमा अवसरवाद र अराजकता चुनौती : एमाले
सचिवालय बैठक सकिएपछि बैठकको निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओली  ।

 सिरहा : राष्ट्रिय राजनीति र आन्दोलनमाथि नयाँ चुनौती थपिएको निष्कर्ष निकाल्दै स्थितिलाई परिवर्तन ल्याउन एकजुट हुने निर्णय गर्दै एमालेको २५औं सचिवालय बैठक सकिएको छ। सिरहाको विष्णुपुरकट्टी सर्रेअम्बासमा बुधबार सकिएको बैठकले यस्ता चुनौतीलाई समाधान गर्दै जानेसहितका आठबुँदेमा विभिन्न प्रस्ताव र प्रतिबद्धता पनि जनाएको छ। 

यसपटक एमालेले आफ्नो ऐतिहासिक स्थलमा सचिवालय बैठक राखेको थियो। यहाँ चौथो ऐतिहासिक राष्ट्रिय महाधिवेशन पनि भएको थियो। सम्पन्न बैठकले यस ऐतिहासिक स्थललाई मुक्तिकामी जनता र प्रगतिशील शक्तिहरूको भावना र संकल्पलाई प्रेरित गर्ने गरी जनतासँग मिलेर पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने पनि निर्णय गरेको छ। 

पोलिटब्युरो सदस्य लीलानाथ श्रेष्ठका अनुसार स्थानीय जनताको चाहनाअनुरूप विभिन्न पूर्वाधारका कामहरूलाई अगाडि बढाउने निर्णय पनि भएको छ। ‘नेकपा एमालेलाई यो ठाउँसम्म ल्याइपुर्‍याउने नीति र नेतृत्व चयन गरेको यो ऐतिहासिक ठाउँ हो। पार्टीले यसलाई राम्रोसँग बुझेको छ,’ श्रेष्ठले भने, ‘त्यही भएर यो ठाउँलाई ऐतिहासिक पर्यटकीय गन्तव्यस्थल बनाउने निर्णय गरेका छौं।’

बैठकमा सहभागी नेताहरूका अनुसार नेता र नेतृत्व दुवै चुनिएको चौथो राष्ट्रिय महाधिवेशनले नेता मदन भण्डारीलाई महासचिव चयन गरेको यो स्थान हो। उक्त बैठकले मदन भण्डारीले गरेको योगदानको गर्व गर्दै उच्च मूल्यांकनसमेत गरेको छ। बैठकस्थलमा मदन भण्डारीको स्तम्भ बनाउने निर्णयसँगै शिलान्याससमेत यसै समय भएको छ। स्तम्भको शिलान्यास पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन्। यसअघि ९ गते बैठक बस्ने एमालेले घोषणा गरेको थियो।

प्रतिकूल मौसमका कारण १३ गतेलाई बैठक सारिएको थियो। बुधबार पनि ११ बजे गर्ने भनिएको बैठक करिब ३ बजेमात्र सुरु भएको थियो। सर्रे खोलामा बाढी आएका कारण धेरै नेताहरू बैठकस्थल पुग्न करिब २ किलोमिटर पैदल र स्थानीय कार्यकर्ताको मोटरसाइकल चढेर पुगेका थिए। बाढी कम भएपछिमात्र अध्यक्ष ओली आएका थिए। यही घरमा २०४६ भदौ ९ देखि १४ गतेसम्म तत्कालीन नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो।

सरकार भ्रष्टाचारमा लिप्त छ : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आफैं भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन्। बैठकपछि आयोजित सम्मान कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले सुन काण्डलगायत अन्य भ्रष्टाचारको काण्डमा सरकार लिप्त रहेको आरोप लगाए। भने, ‘सरकारले सुनकाण्डलाई सुरुमा मिडिया स्ट्न्ट गरे पनि अहिले भ्रष्टाचारी र तस्कर जोगाउने खेलमा छ।’ उनले आफ्नो पार्टीका नेताहरूलाई फसाउन जलहरि काण्डदेखि टि–स्टेटसम्मको काण्डहरूलाई उचालेर मुख्य घटनालाई दबाउन खोजेको बताए। ‘सरकारको हिम्मत छ भने सबै काण्ड उचालोस्, अन्य पार्टीका एउटा नेता पनि बच्ने छैन, सबै खोरभित्र हुनेछन्’, उनले भने। 

बैठकले गरेका निर्णयहरू 

नेकपा एमालेको केन्द्रीय सचिवालयको विशेष बैठक सम्पन्न भएपछि केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गर्दै निम्न ८ बुँदे निर्णयहरू सार्वजनिक गरेका छन्। 

१. तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माले) द्वारा आयोजित नेपाल कम्युनिस्ट पार्टीको चौथो राष्ट्रिय महाधिवेशन नेपाली कम्युनिस्ट आन्दोलनको एउटा विशिष्ट र ऐतिहासिक परिघटना थियो। २०१९ सालमा आयोजित तेस्रो राष्ट्रिय महाधिवेशनपछि विभाजित र विखण्डित हुँदै क्षत्विक्षत अवस्थामा पुगेको कम्युनिस्ट आन्दोलनलाई जगैदेखि पुनर्गठन, पुनर्निर्माण र क्रान्तिकारी धारमा एकताबद्ध बनाउने प्रयासस्वरूप सुरु भएको झापा आन्दोलन, त्यसको प्रकाशमा को–अर्डिनेसन केन्द्रको गठन र नेपाल कम्युनिस्ट पाटी (माले)को गठन आफैंमा आन्दोलनको पुनर्जीवनका कोसेढुंगाहरू थिए। दर्जनौं क्रान्तिकारी समूहहरूलाई एकताबद्ध पार्दै मुलुकको मुख्य कम्युनिस्ट शक्तिका रूपमा स्थापित नेपाल कम्युनिस्ट पार्टी (माले)द्वारा आयोजना गरिएको नेपाल कम्युनिस्ट पार्टीको यस ऐतिहासिक महाधिवेशनले झन्डै ३० वर्ष अगाडि टुटेको कम्युनिस्ट आन्दोलनको कडीलाई जोड्ने काम गर्‍यो। हामीले महाधिवेशनलाई ‘नेकपा (माले) को महाधिवेशन’ नभई ‘नेकपाको चौथो महाधिवेशन’ नामकरण गर्नुको मुख्य उद्देश्य पनि यही टुटेको कडीलाई जोड्दै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु थियो। महाधिवेशनबाट पारित प्रस्तावमा भनिएको छ– महाधिवेशन नेपाल कम्युनिस्ट पार्टीको पहिलो र दोस्रो राष्ट्रिय महाधिवेशन तथा सन् १९६२ मा केशरजंग रायमाझी गुटका विरुद्ध संघर्ष गर्दै सम्पन्न भएको तेस्रो राष्ट्रिय महाधिवेशनको वैधानिकतालाई मान्यता प्रदान गर्दछ र हाम्रो पार्टीलाई नेपाल कम्युनिस्ट पार्टीभित्रको क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी धाराको पुनस्र्थापना र विकासको अनिवार्य परिणामका रूपमा मूल्यांकन गर्छ।’ 

त्यो निर्णय कति दूरदर्शी र सही थियो भन्ने कुरा २०४७ पुसमा भएको नेकपा (माले) र नेकपा (माक्र्सवादी)को एकीकरण, २०५० मा तेस्रो राष्ट्रिय महाधिवेशनबाट महासचिवका रूपमा निर्वाचित कमरेड तुल्सीलालले नेतृत्व गर्नुभएको समूहसँगको एकीकरणलगायतका घटनाक्रमले पुष्टि गर्छन्। यिनै ऐतिहासिक मोडहरू हुँदै अगाडि बढेको नेकपा (एमाले)ले आज नेपाली कम्युनिस्ट आन्दोलनको मुख्य शक्ति, मूलप्रवाह र सही क्रान्तिकारी धारको प्रतिनिधित्व गर्छ।

२.  यस महाधिवेशनबाट कमरेड मदन भण्डारीको प्रस्तावमा नेपाली क्रान्तिको विशिष्ट कार्यक्रम पारित गर्दै इतिहासमा पहिलोपल्ट ‘बहुदलीय जनवादी शासन प्रणाली स्थापना गर्ने’ संकल्प गरिएको थियो। अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा उत्पन्न ठूला विवादहरूको पृष्ठभूमि, कम्युनिस्ट पार्टी हुनका लागि त्यसले हिंसात्मक बाटो र जनवादी (या सर्वहारा) अधिनायकत्वको अवधारणा बोकेकै हुनुपर्ने जस्तो गरेर स्थापना गरिएका कतिपय गलत संगठनहरू र कम्युनिस्ट आन्दोलन जडसूत्रवाद तथा विसर्जनवादको चुनौतीबीचबाट गुज्रिरहेको बेला निकालिएको यो निष्कर्ष आफैंमा ऐतिहासिक महत्त्वको थियो। यस पार्टीमा २०३७ साल र त्योभन्दा अघिदेखि सञ्चालित विचारधारात्मक बहसको वस्तुनिष्ठ संश्लेषण तथा सही निष्कर्ष थियो। यसले नेपाली क्रान्तिको आफ्नै मौलिक, सिर्जनात्मक तथा विशिष्ट बाटोको दिशानिर्देश गरेको थियो।

चौथो राष्ट्रिय महाधिवेशनको यसै निष्कर्षलाई अझ मूर्त, व्यापक र सैद्धान्तिकीकृत गर्दै २०४९ सालमा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनबाट हामीले नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा ‘जनताको बहुदलीय जनवाद’ पारित गर्‍यौैं, जुन आज नेपाली विशिष्टतामा माक्र्सवादको सिर्जनात्मक प्रयोग तथा नेपाली क्रान्तिको मौलिक सिद्धान्तका रूपमा स्थापित छ। गएका ३० वर्षका व्यावहारिक परीक्षणका क्रममा यस सिद्धान्तको सच्चाइ बारम्बार पुष्टि भएको छ र यसले नेपाली कम्युनिस्ट आन्दोलनलाई मात्रै होइन, सिंगोे नेपाली समाजलाई सही दिशाबोध र मार्गदर्शन गरेको छ। जबजको बिजारोपण गर्ने महाधिवेशनका रूपमा चौथो राष्ट्रिय महाधिवेशनको ऐतिहासिक महत्त्व छ।

३.  चौथो महाधिवेशनले कमरेड मदन भण्डारीलाई सर्वसम्मत रूपमा महासचिव निर्वाचित गरेको थियो। त्यसो त २०३० को दशकको उत्तराद्र्धदेखि नै वैचारिक नेताको रूपमा कमरेड मदन भण्डारीको पार्टीमा गहिरो छाप पर्न सुरु भइसकेको थियो। नेपाली समाजको प्रधान अन्तरविरोध के हो ? नेपाली क्रान्तिको मौलिक कार्यक्रम कस्तो हुनुपर्छ र यसका आम तथा विशिष्ट पक्षहरूबीचको अन्तरसम्बन्ध के हो ? राजनीतिक स्वतन्त्रता र पार्टी स्वतन्त्रताका अर्थ, महत्त्व र सीमाहरू के हुन् ? जनमत संग्रहको घोषणालाई कसरी हेर्ने र यससम्बन्धी कस्तो नीति अवलम्बन गर्ने ? संघर्षका मुख्य स्वरूप र संगठनका मुख्य चरित्र कस्तो हुनुपर्छ ? कम्युनिस्ट पार्टीले प्रजातन्त्र र मानवअधिकारसम्बन्धी कस्तो दृष्टिकोण लिनुपर्छ र यसको अगुवाइ कसरी गर्नुपर्छ ? आन्दोलनको मञ्चका रूपमा पञ्चायती निर्वाचन र निकायहरूको उपयोग गर्न सकिन्छ÷सकिन्न ? जस्ता अनेकौं गम्भीर वैचारिक–राजनीतिक प्रश्नहरूमा उहाँले पार्टीलाई सही मार्गदर्शन गरिरहनुभएको थियो। त्यसैले महाधिवेशनबाट महासचिवका रूपमा उहाँको चयन स्वाभाविक, सही र दूरदर्शी निर्णय थियो। मदन भण्डारीजस्ता मेधावी, नवीन विचारक र लोकप्रिय नेतालाई महासचिव चयन गर्ने चौथो राष्ट्रिय महाधिवेशनको निर्णयको विशेष महत्त्व छ।

४.  महाधिवेशनले निरंकुश राजतन्त्र र पञ्चायती तानाशाहीका विरुद्ध ‘जनवाद, जनजीविका र राष्ट्रियताका न्यूनतम् साझा सवालहरूमा एकजुट हुन र राष्ट्रव्यापी रूपमा संयुक्त जनआन्दोलनको उभार सिर्जना गर्न’ देशमा विद्यमान सबै वामपन्थी तथा गैरवामपन्थी शक्तिहरूलाई आह्वान गर्‍यो। त्यस नीति र आह्वानलाई व्यवहारमा सार्थक तुल्याउनु सहज थिएन, तर पार्टीले त्यस सम्बन्धमा ठोस पहल पनि गर्‍यो। 

महाधिवेशनबाट पारित संयुक्त जनआन्दोलनको यसै कार्यदिशाका आधारमा लगत्तै संयुक्त वाममोर्चाको गठन भयो, नेपाली कांग्रेससँग सहकार्य र संयुक्त मोर्चाको निर्णय भयो र २०४६ साल फागुन ७ गतेबाट सुरु भएको ऐतिहासिक जनआन्दोलनले ५१ दिन लामो कठोर र बलिदानी संघर्षपश्चात् राजतन्त्रको निरंकुशता र पञ्चायती तानाशाहीको अन्त्य गर्यो। यसरी महाधिवेशनले कमरेड पुष्पलालले दशकौं अगाडि प्रस्ताव गर्नु भएको तर नेपाली कांग्रेसका गलत सोचका कारण कार्यान्वयन हुन नसकेको संयुक्त जनआन्दोलनको कार्यदिशालाई मूर्तरूप दिने र कार्यान्वयन गर्ने ऐतिहासिक अभिभारा सम्पन्न गर्‍यो। ३० वर्ष लामो पञ्चायती तानाशाहीको अन्त्य गर्न संयुक्त जनआन्दोलनको जग बसाल्ने र पार्टीलाई संयुक्त आन्दोलनको वैचारिक नेताको रूपमा स्थापित गर्ने ऐतिहासिक मञ्चका रूपमा चौथो राष्ट्रिय महाधिवेशनको युगीन महत्त्व छ।

५.  चौथो राष्ट्रिय महाधिवेशनले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालले आफ्नो जीवनकालमा पार्टी र क्रान्तिलाई अघि बढाउन दिनु भएका सकारात्मक योगदानहरूको उच्च मूल्यांकन गर्‍यो र उहाँप्रति हार्दिक सम्मान प्रकट गर्‍यो। नेपाली कम्युनिस्ट आन्दोलनमा विभाजन आएसँगै इतिहासलाई निषेध गर्ने, त्यसको अवमूल्यन गर्ने र पार्टीका संस्थापकसहित अन्य नेताहरूलाई कतिपय विषयमा असहमति भएकै आधारमा अपमान, निन्दा र विरोध गर्नेजस्ता अपसंस्कृतिहरू पनि देखा परेका थिए। 

यस्तै अपसंस्कृति, संक्रीर्णता र गुटगत मान्यताको सिकार कमरेड पुष्पलाललाई पनि बनाइएको थियो। उहाँलाई लाञ्छित गर्ने र उहाँका योगदानहरूलाई अस्वीकार गर्ने प्रवृत्ति विभिन्न समूहमा देखा परेको थियो। महाधिवेशनले यस्ता प्रवृत्तिहरूलाई अस्वीकार गर्दै नेपाली कम्युनिस्ट आन्दोलनमा पुष्पलालका योगदानहरूलाई पुनस्र्थापित गर्ने अत्यन्त महत्त्वपूर्ण निर्णय गरेको थियो।

६.  महाधिवेशनले कमरेड माओत्सेतुङले दिनु भएका योगदानहरू र चिनियाँ क्रान्तिका अनुभवहरूबाट सिक्ने तर मार्गदर्शक सिद्धान्तका रूपमा भने माओत्सेतुङ विचारधारालाई कायम नराख्ने निर्णय गर्यो। यो निर्णय नेपाली क्रान्तिलाई आफ्नै यथार्थ धरातलमा उभ्याउने, आन्दोलनलाई कुनै पनि विदेशी अनुभवहरूको यान्त्रिक अन्धानुकरण र नक्कलबाट मुक्त गर्ने, माक्र्सवादको सिर्जनात्मक प्रयोगबाट क्रान्ति तथा समाजवाद निर्माणको आफ्नै मौलिक बाटो अन्वेषण गर्ने सन्दर्भमा अत्यन्त महत्त्वको निर्णय थियो।

७.  अत्यन्त कठिन र प्रतिकूल परिस्थितिका माझ, भूमिगत रूपमा आयोजना गरिएको भए पनि महाधिवेशनमा जनवाद र पार्टीको आन्तरिक लोकतन्त्रको उच्चतम् अभ्यास गरिएको थियो। सबै प्रतिनिधिहरूका लागि यो आफ्नो जीवनको पहिलो राष्ट्रिय महाधिवेशन थियो, पहिलो अनुभव थियो। तर सबै प्रतिनिधि जीवन्त बहसमा सहभागी हुनुभयो। अनेकौं प्रश्नमा बहसमात्रै भएनन्, मार्गदर्शक सिद्धान्त, मूल कार्यनीतिक नारा तथा विभिन्न राजनीतिक शक्तिहरूका वर्गचरित्र सम्बन्धमा मतदान समेत भयो। आफ्ना मतहरू मतदानका क्रममा पराजित भए पनि विचार प्रस्तोता कमरेडहरूले अनुशासन, पार्टी गोपनीयता र महाधिवेशनका निर्णयहरूप्रतिको प्रतिबद्धता उदाहरणीय रहेको थियो।

८.  २०१७ सालमा राजा महेन्द्रले पार्टीहरूमाथि प्रतिबन्ध लगाउँदै निर्दलीय र निरंकुश शासनसत्ता थोपरेपछि देशभित्र पार्टी गतिविधिहरू आयोजना गर्न कति कठिनाइ थियो भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ। सयौं नेताहरू गिरफ्तार भएर बन्दीजीवन बिताउन बाध्य भएको, दर्जनौं नेताहरू निर्वासित भएको, सयौं–सय नेता– कार्यकर्ताहरूले कष्टकर भूमिगत जीवन जिउन बाध्य भएको र पार्टी संगठन त परको कुरा, जनसंगठनहरू, सामुदायिक संगठनहरू र सरोकारवाला संगठनका गतिविधिहरूमा समेत कडाइका साथ रोक लगाइएको त्यो कालखण्ड असाध्यै प्रतिकूल कालखण्ड थियो। जेल सार्ने निहुँमा राजनीतिक बन्दीहरूको हत्या गरिनु, बाटोमा जम्काभेट भएका राजनीतिक नेताहरूलाई त्रूmरतापूर्वक मारिनु र शान्तिपूर्ण आन्दोलनमा समेत बर्बर दमन गरिनु आमघटना जस्तै थिए। त्यसैले विभाजित कम्युनिस्ट आन्दोलनका कुनै पनि समूह र अन्य राजनीतिक पार्टीहरूले समेत देशभित्र यस तहको राजनीतिक मञ्चको आयोजना गर्ने परिकल्पना नै नगरेको त्यस प्रतिकूल अवस्थामा नेकपा (माले)ले जनताको आश्रय, संरक्षण र मायाका बीच जुन ऐतिहासिक महाधिवेशन आयोजना गर्‍यो, त्यो आफैंमा अद्वितीय र पार्टी तथा जनताबीचको अन्योन्याश्रित सम्बन्धको अनुपम नमुना थियो। श्रमजीवी जनता नै पार्टीका मुख्य आधार हुन्, तिनीहरू नै पार्टीको ऊर्जाका स्रोत हुन् र हरेक संकटबाट पार्टीलाई संरक्षण गर्ने सामथ्र्य उनीहरूमा छ भन्ने कुरा त्यस भेगका श्रमजीवी जनताहरूले प्रदर्शित गरेका छन्। जनताबाट प्रदर्शित त्यस माया, सुरक्षा र आश्रय आज पनि हाम्रा लागि प्रेरणाको स्रोत रहेको छ।

चौथो महाधिवेशन सम्पन्न भएको आज ३४ वर्ष व्यतित भएको छ। मुलुकको राजनीतिमा पनि ठूला परिवर्तनहरू भएका छन्। मुलुक त्यतिबेला विद्यमान पञ्चायती तानाशाही र राजतन्त्रलाई समाप्त पार्दै लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ। जनताका प्रतिनिधिले बनाएको संविधानबाट सञ्चालित छ। जनताका अधिकारहरू संविधानमा संरक्षित छन्। त्यतिबेलाको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी आज देशकै मुख्य राष्ट्रिय शक्तिका रूपमा स्थापित भएको छ। जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न बाँकी नै छ। राष्ट्रियतालाई सुदृढ गर्ने हाम्रो अभियान जारी नै छ।

पछिल्ला समय राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सिएका छन्। समाज र राजनीतिमा देखा परेका विकृति, विसंगति, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण एवं अस्थिरताले हाम्रो आन्दोलनमाथि नयाँ चुनौती थपिदिएको छ। यतिबेला जनताले भोग्नु परिरहेका कष्टहरूप्रति पार्टी गम्भीर छ र स्थितिमा परिवर्तन ल्याउन पनि गम्भीरताका साथ प्रयत्नशील छ। 

यस्तो स्थितिमा बसेको केन्द्रीय सचिवालयको यो बैठक चौथो राष्ट्रिय महाधिवेशनका ऐतिहासिक योगदानको उच्च मूल्यांकनसहित स्मरण गर्दछ, महाधिवेशनबाट महासचिवमा निर्वाचित कमरेड मदन भण्डारीका योगदानहरूप्रति गर्व गर्दछ र जनता तथा पार्टीबीचको घनिष्ट सम्बन्धलाई अझ प्रगाढ बनाउने संकल्प गर्दछ। यस ऐतिहासिक स्थललाई मुक्तिकामी जनता र प्रगतिशील शक्तिहरूको भावना र संकल्पलाई पे्ररित गर्ने पर्यटकीय गन्तव्य बनाउन यहाँका जनतासँग मिलेर, उहाँहरूकै चाहनाअनुरूप विभिन्न पूर्वाधारका कामहरूलाई अगाडि बढाउने प्रण गर्दछ।

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.