बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य चुलिदैँ : मारमा उपभोक्ता
गुल्मी : मालिका गाउँपालिका-७ घमिरकी सावित्रा लम्साल विगत ५ वर्षदेखि गुल्मीको सदरमुकाम तम्घास बजारमा डेरा लिएर बस्दै आएकी छिन्। उनीसँग डेरामा भाई पनि बस्छन्। उनी बिहान क्याम्पस जान्छिन्।
क्याम्पसबाट फर्केर बजार जाने, उपभोग्य वस्तु किनमेल गर्ने, पकाउने, खुवाउने र भाइ स्कुल लैजाने र ल्याउनेमै उनको दैनिकी बित्छ। उनका भाइले सदरमुकाम स्थित एक सरकारी विद्यालयमा पढ्छन्। लम्सालका बुबाआमा गाउँमै कृषि कर्म गर्छन्। गाउँघरमा मेलापात गरेर उनीहरूलाई बजार राख्ने,पढाउने र घरखर्च चलाउँदै आएका छन्।
बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएपछि आफू बजारमा सामान किनमेल गर्न पहिले भन्दा कम जाने गरेको उनी बताउँछिन्। उनि भन्छिन्, 'आजभोलि बजारमा मूल्य बढेर केही किनिसक्नु छैन त्यसैले पहिले जस्तो बजार जान्न। बजारमा खाने तेल दाल, खाद्यान्न मात्रै तरकारी र फलफूलको भाउ समेत बढेको छ त्यसैले केही किनिसक्नु छैन', उनले भनिन्।
उनी जस्तै इश्मा गाउँपालिका-१ हस्तिचौरकी विनिता थापा केही वर्षदेखि तम्घास डेरा लिएर बस्दै आएकी छन्। उनका श्रीमान् परदेश छन्। उनले बजारमा बसेर निजी विद्यालयमा छोरी पढाउँछिन्। बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएपछि छोरी पढाइ र दैनिकी चलाउन हम्मेहम्ने भएको उनको भनाइछ। थापा भन्छिन्, 'छोरीको पढाइ र घरखर्च धान्न श्रीमान् परदेश हुनुहुन्छ तर बजारमा सबैथोकको मूल्य बढेपछि खर्च धान्नै गाह्रो भएको छ। देशको अर्थतन्त्र दिनप्रतिदिन खस्किदैँ गएको खबर सुन्छु त्यसैले बजारमा सामानको भाउले आकाश छोएको होला', उनले भनिन्।
बजारमा महंगीको पीडा खेप्ने सावित्रा र विनिता त उदाहरण पात्र मात्रै हुन्। उनीहरू जस्तै गाउँदेखि सहरसम्म दैनिक उपभोग गर्ने वस्तुको मूल्यवृद्धिले सर्वसाधारणलाई अर्को समस्या निम्ताएको छ। प्रत्यक्ष वा अप्रत्यक्ष रुपमै मूल्यवृद्धिको मार खेप्न आम सर्वसाधारण बाध्य छन्।
पछिल्लो समय दैनिक उपभोग गर्ने वस्तुको मूल्य आकाशिदै गएपछि दैनिक ज्याला मजदुरी गरेर दैनिकी चलाउने अवस्था अझ कमजोर बन्दै गएको छ। तम्घास बजार लगायत आसपासका क्षेत्रमा दैनिक भान्सामा प्रयोग हुने खानेतेल दाल,खाद्यान्न मात्रै तरकारी र फलफूलको भाउ बढेपछि उपभोक्ताले गुनासो गर्ने गरेका छन्।
केही दिनयता तम्घास बजारमा टमाटर प्रतिकेजी ९० रुपैयाँ, गोलभेडा प्रतिकेजी ९० रुपैयाँ, जीरा प्रतिकिलो १ हजार ४ सय, प्याज ९० रुपैयाँ, सोस्ता प्रतिकेजी १ सय २० रुपैयाँमा बिक्री भइरहेको छ।
छिमेकी मुलुक भारतमा टमाटर निर्यात भएपछि बजारमा मूल्य बढेको थियो। तर,अहिले भारतबाट नेपालमा आयात हुन थालेपछि केही कम भएको तरकारी तथा फलफूल व्यवसायी कृष्ण पन्थीले बताए।
उपभोक्ताको माग अनुसारको कृषकले तरकारी र फलफूलको उत्पादन बढाउन नसक्दा बजारमा दैनिक उपभोग्य वस्तुको भाउ दिनहुँ बढ्दै गएको व्यावसायी पन्थी बताउँछन्।
भारतले निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाउँदै व्यापारीले पहिल्यै आयात गरिसकेको दैनिक उपभोग्य सामानको मूल्य बढाएको उपभोक्ताको आरोप छ। तरकारी, फलफूल मात्रै नभई खाद्यान्नमा समेत मूल्यवृद्धि भएको छ।
२० किलो प्रतिबोरा चामलमा तीन सय रुपैयाँसम्म बढेको छ। तर, पनि सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न सकेको छैन। लामो मेहनतबाट कृषकले कृषि उपज उत्पादन गर्ने तर बजारमा व्यापारीले उचित मूल्य नदिँदा कृषक समेत मारेमा छन्।