सम्बन्ध विच्छेद गर्ने पुरुष बढ्दै

सम्बन्ध विच्छेद गर्ने पुरुष बढ्दै
सुन्नुहोस्

मुलुकी देवानी संहिता २०७४ ले पुरुषलाई पनि सम्बन्ध विच्छेद गर्न सक्ने अधिकार दिएपछि पुरुषहरूको संख्या बढिरहेको हो।

धनगढी : कैलालीको गोदावरी नगरपालिका–१ का भरत नागरीका अढाइ वर्षकी छोरी र डेढ वर्षका छोरा छन्। २५ वर्षको उमेरमै दुई छोराछोरी पाइसकेका उनले २४ वर्षकी श्रीमती सीमा नेपालीसँग सम्बन्ध विच्छेदका लागि गत असार १७ गते कैलाली जिल्ला अदालतमा मुद्दा हाले।

‘श्रीमतीले टिकटक र फेसबुकमा कुराकानी गरिरहने, आफूसँग निहुँ खोजिरहने र भनेको नमान्ने भएकाले सम्बन्ध विच्छेद गरिपाउँ’, उनले कैलाली जिल्ला अदालतमा दर्ता गरेको मुद्दामा उल्लेख गरेका छन्। 

कैलालीकै बर्दगोरिया गाउँपालिका–१ का २९ वर्षका टीकाराम बुढाले पनि २७ वर्षिया श्रीमती मनीषासँग सम्बन्ध विच्छेद गरिपाउँ भनि २०८० जेठमा कैलाली जिल्ला अदालतमा मुद्दा हाले। २०६९ मंसिर २४ गते प्रेम विवाह गरेका उनका पनि १० वर्षका छोरा र ७ वर्षकी छोरी छन्। ‘कामका सिलसिलमामा म विदेश गएँ। एकपटक कतार र एकपटक साउदी अरब गएँ। श्रीमती मलाई नसोधिकन दुई/तीन दिनसम्म गायब भइदिने गर्छे। सम्झाउँदा पनि मानिनन्। परपुरुषसँग लागेकाले सम्बन्ध विच्छेद गरिपाउँ’, जिल्ला अदालतमा दर्ता गरेको मुद्दामा उनले भनेका छन्।

कैलालीको घोडाघोडी नगरपालिका–२ का ३० वर्षका तपेन्द्र विष्टले पनि श्रीमती सरीता रावलसँग सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत कैलालीमा मुद्दा दर्ता गरेका छन्। 

‘टिकटकमा परपुरुषसँगको भिडियो हाल्ने, परपुरुषलाई कोठामा बोलाउने, घर परिवारका सदस्यले भनेको नमान्ने भएकाले सम्बन्ध विच्छेद गरी पाउँ’, विष्टले दर्ता गरेको मुद्दामा उल्लेख छ। 

विष्टका ४ वर्षकी छोरी छन्। २०७४ सालमा विवाह गरेका विष्टले २०७६ सालमा आफू वैदेशिक रोजगारीमा गएपछि श्रीमतीले यस्तो गरेको मुद्दामा उल्लेख गरेका छन्। 

मुलुकी देवानी संहिता २०७४ ले पुरुषलाई पनि सम्बन्ध विच्छेद गर्न सक्ने अधिकार दिएपछि पुरुषहरूको संख्या बढिरहेको हो। मुलुकी देवानी संहिता २०७४ सालमा आए पनि यो ऐन २०७६ सालदेखि लागु भएको हो।

जिल्ला अदालत कैलालीले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा ५१ जना पुरुषले सम्बन्ध विच्छेदका लागि निवेदन दिएकोमा गत आर्थक वर्ष अथवा आव २०७९/८० मा त्यो संख्या झण्डै ५ गुणाले बढेर २२७ भएको छ। 

‘आव २०७९/८० मा २२७ जना पुरुषले मात्रै सम्बन्ध विच्छेदका लागि मुद्दा दिएका छन्। महिलाको संख्या अझै धेरै छ। आव २०७९/८० मा ४७६ महिलाले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराएका छन्’, जिल्ला अदालत कैलालीका निमित्त श्रेस्तेदार नेत्रबहादुर माझीले भने।

आर्थिक वर्ष २०७६/७७ मा ५१ जना पुरुष र १५३ जना महिला, आर्थिक वर्ष २०७७/७८ मा ५२ जना पुरुष र १५३ जना महिला, आर्थिक वर्ष ७८/७९ मा १८० जना पुरुष र ४३० जना महिला र आर्थिक वर्ष २०७९/८० मा २२७ जना पुरुष र ४७६ जना महिलाले जिल्ला अदालत कैलालीमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन्।

मुलुकी देवानी संहिता २०७४ मा पतिको मञ्जुरी नलिइ लगातार तीन वर्ष वा सो भन्दा बढी समयदेखि अलग बसेमा, पत्नीले पतिलाई खानलाउन नदिएमा वा घरबाट निकाला गरेमा, पत्नीले पतिको अंगभंग हुने वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने कार्य गरेमा र पत्नीले परपुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पुरुषले पनि सम्बन्ध विच्छेद गर्न सक्ने प्रावधान राखिएको छ। 

सम्बन्ध विच्छेदका घटना बढीरहेकोप्रति कैलाली जिल्ला अदालतका न्यायाधीश विष्णु दत्त अवस्थी भन्छन्, ‘यो तथ्यांक बढनु भनेको सामाजिक विग्रह उत्पन्न हुनु हो।’ उनले परिवार–परिवार मिलेर समाज बन्ने भएकाले सम्बन्ध विच्छेदका घटना बढ्नु हाम्रो नेपाली समाजका लागि त्यति राम्रो नभएको बताए। जिल्ला अदालतको तथ्यांक विश्लेषण गर्ने हो भने पुरुषले दर्ता गराएका सम्बन्ध विच्छेदका मुद्दामा श्रीमती परपुरुषसँग लागेका कारणहरू बढी छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.