यार्सागुम्बा टिप्न गर्भवती पनि भाज्यो लेकमा
गोरखा : चुमनुब्री—७ लारकी एक गर्भवती महिला भाज्यो लेकमा यार्सागुम्बा संकलन गर्दागर्दै सुत्केरी हुने दिन नजिकियो। उनी लेकबाट ६ घण्टा पैदल हिँडेर छेकम्पार बर्थिङ सेन्टरमा झरिन्। केही दिनमा सुत्केरी भइन्। अहिले घरमा स्वास्थ्य लाभ गरिरहेकी छिन्।
त्यसको केही दिनपछि अरू दुई गर्भवती महिला पनि यार्सागुम्बा संकलन गर्न गएको लेकबाट गर्भ परीक्षण गर्न स्वास्थ्यचौकी आए। परीक्षण गराएर फेरि लेकमै फर्किए।यतिबेला चुमनुब्री—७ का विभिन्न गाउँबस्तीबाट गाउँलेहरू यार्सागुम्बा संकलन गर्न तिब्बती सिमाना आसपासका लेकमा पुगेका छन्। समुद्री सतहबाट चार हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा गाउँबाट एकदिनको बाटो पैदल हिँडेर गर्भवतीसमेत लेकलेकमा पुगेका वडाध्यक्ष टासी दोर्जे बताउँछन्।
समुद्री सतहदेखि ४,०६५ मिटर उचाइमा रहेको भाज्यो लेक पुग्न गाउँबाट ६ घण्टाभन्दा धेरै पैदल हिँड्नुपर्छ। त्यहाँ अहिले चुमनुब्री—७ को ङाक्यु, लेरु, लामागाउँ, लार, फुर्पे र नीले गाउँका बासिन्दा अस्थायी शिविर बनाएर बसोबास गर्छन्।
समुद्री सतहबाट ४,१६५ मिटर उचाइमा अवस्थित छेक्या लेकमा छेकम्पार, झोङ र बुर्जी गाउँका बासिन्दाहरू त्रिपाल टाँगेर अस्थायी बसोबास गर्छन्। त्यसैगरी, चार हजार मिटरभन्दा अग्लो फुचुन लेकमा छुले गाउँका ४५ घरधुरीको अस्थायी बसोवास छ। वडा नं. ७ का सबै गाउँका ८ सय १२ घरधुरीका बासिन्दाहरू अहिले यिनै लेकमा यार्सागुम्बा संकलन गर्न व्यस्त छन्। आबालवृद्ध, वनिता सबै बिहान ८ बजे शिविरबाट निस्कने, दिनभर यार्सागुम्बा संकलन गर्ने र साँझ ६ बजे बल्ल शिविर भित्रिन्छन्।
‘गर्भवती महिलाहरू पनि जोखिम मलेर लेकलेकमा यार्सागुम्बा संकलन गर्न गएका छन्’, उनी भन्छन्, ‘पहिलेपहिले त किरा टिप्दाटिप्दै लेकमै सुत्केरी हुन्थे। अहिले भने अलिअलि चेतना आएको छ। सुत्केरी हुने दिन नजिकिएपछि गाउँ फर्किन्छन् र बर्थिङ सेन्टरमा सुत्केरी हुन्छन्।’ कतिपय कलिला सुत्केरीहरू पनि किरा टिप्न लेकमै रहेको उनको भनाइ छ।
चुमनुब्री वडा नं. १ र ७ का सबै गाउँबस्ती सुनसान प्रायः छ। वडा नं. ७ का बासिन्दा वैशाख लाग्नेबित्तिकै लेकतिर गएका हुन् भने वडा नं. १ का बासिन्दा वैशाखको अन्तिम साताबाट। ‘गाउँ त चकमन्नै छ’, वडा नं. ७ का अध्यक्ष टासी दोर्जे भन्छन्, ‘धेरैजसोको घरमा ढोकै लागेको छ। कसैको एकदम बुढाबाआमा मात्र घरमा छन्। कसैले चाहिँ रोङ्वा (तल्लो भेगका)लाई मासिक तलब दिएर घर कुरुवा राखेका छन्।’ फिलिम, पाङसिङतिरका महिलालाई मासिक २० हजार रुपैयाँ तलब दिएर दुई महिनाका लागि घर कुरुवा राख्ने गरेको उनले जानकारी दिए। ‘कसैले रोङ्वा महिलालाई मासिक तलब दिएर लेककै क्याम्पमा काखको बालबच्चाका हेरालु बनाएर राखेका हुन्छन्’, उनले भने, ‘रोङ्वाहरू किरा टिप्न पाउँदैनन्। बालबच्चाको धरालो बस्ने र खाना बनाइदिने काम गर्छन्।’
गाउँलेहरू बिहान सबेर क्याम्पबाट निस्केर साँझ अबेर क्याम्पमा छिर्छन्। ‘बिहान खाना खाइवरी ८ बजे किरा टिप्न जाँदा रहेछन्। साँझ ६ बजेपछि मात्र क्याम्पमा आइपुग्ने रहेछन्’, हालसालै भाज्यु, छेक्या र फुचुन लेकको अवलोकन भ्रमण गरेर फर्केका मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का कर्मचारी सुवास नेपाल भन्छन्, ‘उनीहरू बैसाखको पहिलो हप्तातिर लेक गएका हुन्। अब असारको पहिलो हप्तातिर मात्र फर्किने तरखर गर्दैछन्।’ गाउँलेहरूले दुई महिनासम्म संकलन गरेको यार्सागुम्बाको कमाइले वर्षदिन गुजारा चलाउने उनको भनाइ छ।
यार्सागुम्बा पाइने चुमनुब्री—१ का लेकहरू पनि अहिले स्थानीय बासिन्दाले खचाखच छ। यार्सागुम्बा संकलन गर्न गाउँलेहरू तिब्बतको सीमास्तम्भ रहेका लेकहरूमा पुगेका स्थानीय मिङ्मा छिरिङ बताउँछन्। उनीहरू अहिले पिलर नं. ३४,. ३५ र ३६ को वरिपरि पुगेका उनको भनाइ छ। उनका अनुसार यस वर्ष विगत वर्षको जत्तिको धेरै यार्सागुम्बा पाइएको छैन। जे जति संकलित यार्सागुम्बा सीमा नाका खुलेपछि तिब्बतको बजारतिर बिक्री गर्न लैजाने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !