अवैध बाटोबाट युरोपको प्रलोभन, अपहरणदेखि मृत्युका घटनासम्म
काठमाडौं : मोरङको लेटाङका २६ वर्षीय निषेश मगर सन् २०१७ को नोभेम्बरमा भिजिट भिसामा टर्की पुगे। तीन महिनासम्म काम नपाएपछि उनले इटाली जाने तयारी गरे। त्यसै क्रममा उनले इजरायलमा रहेकी आमा मधु लिम्बूलाई फोन गर्दै ६ हजार अमेरिकी डलर पठाइदिन आग्रह गरे। आमाले मोरङ उर्लाबारीका राजकुमार लिम्बूको नाममा करिब ७ लाख रुपैयाँ जम्मा गरिदिइन्। पैसा पठाएको केही दिनपछि निषेशले आमालाई अन्तिम फोन गरे। ‘आमा, म पानीजहाज चढेँ, उता पुगेपछि फोन गर्छु। बाई।’
त्यो नै मधुका लागि छोराको अन्तिम आवाज बन्यो। त्यसयता निषेश बेपत्ता छन्। उनी कहाँ पुगे, जीवित छन् वा छैनन् भन्ने कुनै जानकारी छैन। नौ वर्ष बितिसक्दा पनि परिवारले उनको प्रतीक्षा छाडेको छैन।
ग्रिसको सीमामा हराएका दिव्यदेव
नेपालबाट भारत हुँदै टर्की पुगेका दिव्यदेव अवस्थी पनि सन् २०२१ देखि बेपत्ता छन्। टर्कीबाट ग्रिस जाने क्रममा ग्रिस प्रहरीले उनलाई पक्राउ गरेको थियो। पछि अन्य तीन नेपालीसँगै टर्कीको सीमा क्षेत्रमा लगेर छाडिएको बताइन्छ।
त्यो क्षेत्रमा भारी हिमपात भइरहेको थियो। हिँड्दाहिँड्दै दिव्यदेव समूहबाट छुटे। त्यसपछि उनको कुनै अत्तोपत्तो लागेन। न उनी भेटिए, न शव नै। हिमपातमा पुरिएर मृत्यु भएको आशंका गरिए पनि पुष्टि हुन सकेको छैन।
यही जेठ २२ गते झापाका मदन अधिकारी टर्कीमा सुतेकै अवस्थामा मृत भेटिए। उनी टर्कीस्थित एक सुशी उत्पादन कम्पनीमा कार्यरत थिए र श्रम स्वीकृति लिएर गएका थिए। टर्कीमा नेपालीको मृत्युका अन्य घटनाहरू पनि थुप्रै छन्। सन् २०१८ मा अवैध रूपमा टर्की पुगेका याङ लामा हृदयघातका कारण निधन भए। उनको शव नेपाल ल्याउन सहयोग अभियान चलाउनु परेको थियो। सन् २०१९ मा जानु शेर्पाको इस्तानबुलमा सडक दुर्घटनामा मृत्यु भयो। सन् २०२२ मा घरेलु कामका लागि टर्की पुगेकी संगीता राईले आफू बस्दै आएको कोठामै झुन्डिएर आत्महत्या गरिन्। सन् २०२३ मा होटलमा कार्यरत मानकुमारी तामाङको हृदयघातका कारण मृत्यु भयो। उनको शव नेपाल पठाउन पनि निकै कठिनाइ भएको थियो।
ग्रिस जाने क्रममा ४ नेपालीको मृत्यु
सन् २०२२ मा टर्कीबाट ग्रिस जाने क्रममा भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु भयो। मृत्यु हुनेमा कैलालीका लक्ष्मण सापकोटा र दोलखाका राजु लामा थिए, जो श्रम स्वीकृति लिएर टर्की पुगेका थिए। रसुवाकी रमिला घले र तनहुँका ओम थापामगर भने विभिन्न देश हुँदै अवैध बाटोबाट युरोप जाने क्रममा थिए। उनीहरूको शव नेपाल पठाउन टर्कीस्थित नेपाली समुदायले आर्थिक सहयोग जुटाएको थियो।
अपहरण गरेर फिरौती असुल्ने गिरोह
२०८० भदौमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपालीलाई टर्की पु¥याएर अपहरण गर्ने गिरोहका चार सदस्य पक्राउ गरेको थियो। फिरौतीस्वरूप २१ लाख ७५ हजार रुपैयाँ असुलेको आरोपमा शिवराज कुँवर, रामेश्वर अर्याल, प्रकाश बेल्बासे र दिलबहादुर थापा पक्राउ परेका थिए।
प्रहरीका अनुसार उक्त समूहले टर्कीमा रहेका एक पाकिस्तानी नागरिकसँग मिलेर तीन नेपालीलाई बन्धक बनाएको थियो। मोरङकी एक युवती तथा काभ्रे र उदयपुरका दुई युवालाई घरभित्र थुनेर कुटपिट गरिएको थियो। उनीहरूलाई यातना दिँदै परिवारसँग फिरौती मागिएको थियो।
‘टर्की नेपालीका लागि ट्रान्जिट जालो बनेको छ’
गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीका संस्थापक अध्यक्ष उज्ज्वलकुमार घिसिङका अनुसार पछिल्ला वर्षहरूमा गैरकानुनी रूपमा टर्की पुग्ने नेपालीको संख्या उल्लेख्य बढेको छ। ‘दलाल र मानव तस्करको फन्दामा परेर आएका नेपालीहरू अपहरण, ठगी, शारीरिक हिंसा, काम र ज्यालामा ठगीजस्ता समस्या भोगिरहेका छन्,’ उनी भन्छन।
सन् २०१७ देखि टर्कीमै व्यवसाय गर्दै आएका घिसिङका अनुसार हाल टर्कीमा करिब नौ हजार नेपाली छन्। तीमध्ये करिब ६० प्रतिशतसँग वैध भिसा वा कागजातसमेत छैन। उनका अनुसार दलालहरूले सर्विया, रोमानिया, इटालीलगायत युरोपेली मुलुक पुर्याउने प्रलोभन देखाएर नेपालीलाई विभिन्न देश घुमाउँदै अन्ततः टर्की पुर्याउँछन् र त्यहाँ पुगेर थप रकम माग्ने गर्छन्।
उद्धार गर्ने सरकारी संयन्त्र छैननघिसिङका अनुसार टर्कीमा समस्या परेका नेपालीलाई तत्काल सहयोग गर्ने कुनै आधिकारिक नेपाली कन्सुलर सेवा उपलब्ध छैन। ‘कोही नेपाली बिरामी परे, पक्राउ परे वा मृत्यु भयो भने सहयोग गर्ने जिम्मा स्थानीय नेपाली समुदायमाथि नै आउँछ,’ उनी भन्छन्। टर्कीमा रहेका नेपाली व्यवसायी र सामाजिक अभियन्ताहरूले दैनिकजसो समस्यामा परेका नेपालीको उद्धार, कागजात व्यवस्थापन, ट्राभल डकुमेन्ट बनाउने, बिरामीको उपचार तथा शव नेपाल पठाउने काम गर्दै आएका छन्। ‘नेपाल सरकारले श्रम स्वीकृति लिएर विदेश गएका नागरिकको सुरक्षा सुनिश्चित गर्नुपर्छ,’ घिसिङ भन्छन्, ‘विदेशबाट आउने रेमिट्यान्सको हिसाबमात्रै गरेर पुग्दैन, श्रमिकको संरक्षण पनि राज्यको दायित्व हो।’उनले टर्कीमा नेपाली कन्सुलर सेवा स्थापना गर्नुपर्ने आवश्यकता औंल्याउँदै विदेशमा रहेका नेपालीका समस्याप्रति सरकार गम्भीर हुनुपर्ने बताए।
टर्की हुँदै युरोप जाने सपना बोकेर निस्किएका नेपालीमध्ये कतिपय बेपत्ता भएका छन्, कतिपय अपहरणमा परेका छन् भने कतिपयको ज्यान गएको छ। पछिल्ला वर्षहरूमा देखिएका यी घटनाले मानव तस्करीको जालो अझै सक्रिय रहेको र त्यसको सबैभन्दा ठूलो मार नेपाली युवाले भोगिरहेको देखाएको छ।
प्रतिक्रिया दिनुहोस !