जिल्ला अस्पताल मुगुमा बिमावापतको सेवा बन्द
मुगु : जिल्ला अस्पतालमा बिमावापतको सेवा बन्द भएको छ। जनशक्ति अभाव र इन्टरनेटको कारण देखाएर अस्पतालले सेवा बन्द गरेको हो। बिमावापतको सेवाका लागि अस्पतालबाट डाक्टर मिना काफ्ले र एचए प्रेम पाण्डेले तालिम लिएका थिए। डा काफ्ले अध्ययनको सिलसिलामा बाहिर गएकी छन्।
बहिरंग सेवामा हेर्नुपर्ने र सेवा दिएवापतको रकम भुक्तानी गर्न स्वास्थ्य बिमा बोर्ड पठाउनुपर्ने आवश्यक काजपत्र पठाउन इन्टरनेटको कारणले समयमै पठाउन नसकिने भएकाले सेवा रोक्नु परेको प्रमुख डाक्टर कमल ढुंगानाले बताए।
जिल्लाका ७ हजार २३८ जनाले बिमा गरेका छन्। अस्पतालमा दैनिक १० देखि २० जनासम्म सेवाग्राही आउने गरेका छन्।
अस्पतालले बिमा गरेका बिरामीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत लगायतका स्वास्थ्य संस्थामा पठाउने गरिएको छ। हालसम्म ३ सय जनाभन्दा बढीलाई जिल्ला बाहिरका अस्पतालमा रिफर गरिएको छ।
जुम्ला वा सुर्खेत पुग्न धैरै खर्च लाग्ने भएकाले त्यहाँ जान सम्भव नभएको छाँयानाथ रारा नगरपालिका-११ का सौरे कुमाईले बताए। सोही सेवाका लागि मुगु कार्मारोङ गाँउपालिका-४ का पेमा ठिल्ने लामाको पत्नि जिल्ला अस्पतालमा पुगेकी भए पनि आफ्नी श्रीमतीले स्वास्थ्य बिमाको सेवा नपाएको लामाले गुनासो गरे।