दूध र मासुबाटै एन्टिबायोटिक
मानिसको मृत्यु कालगतिले हुनु सामान्य हो । रोगव्याधि र दुर्घटनाले हुनुचाहिँ असामान्य मान्नुपर्छ ।
मानिसको मृत्यु कालगतिले हुनु सामान्य हो । रोगव्याधि र दुर्घटनाले हुनुचाहिँ असामान्य मान्नुपर्छ । त्यसमाथि अचेल मानव शरीर औषधोपचारले पनि निको नहुने अवस्थामा पुग्दैछ । त्यसको कारण प्रतिजैविक औषधि अर्थात् एन्टिबायोटिकको प्रयोग हो । सामान्य सञ्चो नहुँदा पनि धेरै डोजको एन्टिबायोटिक सेवन वा प्रयोग गर्दै अरू बेला सामान्य औषधिले पनि काम नगर्ने हुँदै गइरहेको छ । त्यस्तो अवस्थालाई एन्टिबायोटिक्स रेसिस्टेन्स भनिन्छ । पछिल्लो समय मानिसको मृत्युको मुख्य कारण असाध्य रोगहरूमात्रै नभई एन्टिबायोटिक्स रेजिस्टेन्स पनि हुन थालेको विश्व स्वास्थ्य संगठनकै भनाइ छ । औषधिहरूको जथाभावी सेवनबाट मात्रै मानव शरीरमा एन्टिबायोटिक्स प्रवेश गर्दैन । अर्काे माध्यम खाना हो ।
दूध र मासुजस्ता खाद्यपदार्थबाट समेत मानव शरीरमा एन्टिबायोटिक्स प्रवेश भइरहेको छ । व्यावसायिक रूपमा कुखुरापालन गर्दा कुखुरालाई रोगबाट बचाउन र रोग नलागोस् भनेर एन्टिबायोटिक्स दिने गरिन्छ । अर्काेतिर दानामै समेत एन्टिबायोटिक्स हुन्छ र त्यो कुखुरा वा गाईभैंसीलाई खुवाउँदा तिनको शरीरमा जान्छ । अनि फेरि मासु र दूध हुँदै मानव शरीरमा आउँछ । दूध र मासुकै परीक्षणबाट तिनमा एन्टिबायोटिक्सको अवशेष भेटिएको छ । अर्काेतिर एन्टिबायोटिक्सको आयातको बढ्दो मात्राले पनि यसको प्रयोग दर्शाउँछ । सन् २०२० मा ७ हजार २ सय किलो एमोक्सिसिलिन नामको एन्टिबायोटिक नेपाल आयात भएको थियो, जब कि पाँच वर्षअघि त्यसको आधामात्रै आयात हुन्थ्यो । कुखुरा, गाई, बंगुरहुँदै अचेल बाख्रापालनमा पनि एन्टिबायोटिक्स प्रयोग हुन थालेको राष्ट्रिय पशु स्वास्थ्य अनुसन्धान केन्द्रकै विज्ञहरू बताउँछन् ।
जलवायु परिवर्तनका कारण पशुपन्छीको स्वास्थ्यमा पनि नकारात्मक असर पर्दै गएको छ र तिनको स्वास्थ्योपचारमा एन्टिबायोटिक्सको प्रयोग वृद्धि भएको छ । खासमा थुनेलोको उपचार गर्न एन्टिबायोटिक्स प्रयोग गरिएको गाईको दूध केही दिन खानु हुँदैन । एन्टिबायोटिक्स दिइएका कुखुरा पनि दुई साताजस्तो पछि मात्रै मासुका लागि प्रयोग गरिनुपर्छ । तर नेपालका डेरीहरूमा दूधमा एन्टिबायोटिक्सको अवशेष जाँच्ने विधि प्रयोग गरिन्न । जुन गरिनुपर्छ । मासु तथा दूध हरेकमा एन्टिबायोटिक्सको अवशेष शून्य रहेको सुनिश्चितता गर्ने विधि बसाल्न राज्यले नियमन कडा गर्नुपर्छ । त्यस्तो विधि बसाल्नुपर्छ । उपभोक्ता सचेत हुनुपर्ने त छँदैछ । तर जथाभावी भइरहन दिने हो भने यसले ढिलोचाँडो भयावह सिर्जना गर्ने नै छ ।