७२ वर्षअघि बन्दीपुरबाट बोकेर ल्याएको त्यो स्कुल
गोरखा :अरु गाउँजस्तै गोरखाको गाईखुर पनि दैनन्दिन खण्डहर बनिरहेको छ। पालुङटार नगरपालिका ६ नाङ्गेडाँडादेखि बेतेनी मैदानसम्म २० वर्षअघि दुईसय घरधुरी थिए, जनसंख्या १२ सय जति। त्यही सेरोफेरोमा अहिले पुगनपुग ८० घरधुरी छन्, जनसंख्या करिब डेढसय।
गोरखाकै जेठोमध्यको यहाँको हाइस्कुल पनि विद्यार्थीविहिन बन्दैछ। २० वर्षअघिसम्म ८ सयको हाराहारीका विद्यार्थी पढ्ने यहाँ अहिले मुस्किलले डेढसय विद्यार्थी पढ्छन्। ‘डाँडाको बस्ती हो। थपिनेवाला छैन, अझ घट्नेवाला छ’, प्रधानाध्यापक राजन भट्टराई भन्छन्।
प्रजातन्त्रको आगमनसँगै गोरखामा धमाधम विद्यालयहरू खुले। सबैभन्दा पहिले २००७ फागुन १० गते गोरखा नगरपालिका ८ कट्टेलडाँडामा सूर्योदय आधारभूत स्कुल स्थापना भयो। सोही महिनामा तान्द्राङमा संस्कृत मावि खुल्यो। चैत महिनामा भीमोदय मावि। त्यसपछि सदरमुकामको शक्ति मावि २००९ कात्तिक १० स्थापना भयो। गाईखुरको लक्ष्मी मावि २००९ फागुन महिनामा स्थापना भएको विभिन्न आलेखमा भेटिन्छन्।
लक्ष्मी माविको इतिहास अलिक फरक छ। लक्ष्मी मावि पहिले पश्चिम ३ नम्बर तनहुँ, बन्दीपुरमा लक्ष्मी आधारस्कुलका रुपमा सञ्चालित थियो। शिक्षाका क्षेत्रमा बन्दीपुर नेपालमै अगाडि थियो, जहाँ १९५८ सालमा देव शमसेरका पालादेखि बन्दीपुर भाषा पाठशाला सञ्चालनमा थियो। भारतमा अंग्रेज सरकारले सञ्चालन गरेको आधारभुत विद्यालयको देखासिकीमा राणा प्रधानमन्त्री पद्म शमसेरले पनि नेपालका विभिन्न ठाउँमा आधारभुत विद्यालय खोलेका थिए। त्यही क्रममा बन्दीपुरमा २००४ सालमा आधारभुत विद्यालय खुलेको थियो। यहाँ संस्कृत, नेपाली, व्याकरणलगायतका विषयमा पढाइ हुन्थे। तान बुन्ने, चर्खा कात्ने जस्ता व्यवसायिक शिक्षा पनि हुन्थे।
जब मुलुकमा प्रजातन्त्र आयो, तब २००७ सालदेखि यहाँका व्यापारी, व्यवसायी अभिभावकहरूले आफ्ना सन्तानहरूलाई अंग्रेजी, विज्ञान, गणित, भूगोल, इतिहास पढाउने आधुनिक विद्यालयको माग गरे। आधारभुत विद्यालय चाहिँदैन, आधुनिक स्कुल चाहिन्छ भन्ने माग भयो। सरकारसम्म सजिलै पहुँच भएका उनीहरूले २००८ सालमा भानु मिडिल स्कुल सञ्चालन गर्ने स्वीकृति लिएर आए। त्यहाँ सञ्चालित लक्ष्मी आधारभुत विद्यालय हटाउने निर्णय भयो।
त्यसपछि तत्कालीन प्रधानाध्यापक यमप्रसाद कोइराला लक्ष्मी आधारभुत विद्यालयलाई अब कहाँ सञ्चालन गर्ने भनेर विकल्प माग्न शिक्षा मन्त्रालय पुगे। लक्ष्मी माविको स्वर्ण महोत्सव स्मारिकामा प्रकाशित उनै कोइरालाको आलेखका अनुसार तनहुँमा कहीँ पनि आधारभुत विद्यालय सञ्चालन गर्न तयार भएनन्, त्यसैले उनले आफ्नो गृहगाउँ पश्चिम २ नम्बर गोरखा, गाईखुरमा स्थानान्तरण गर्ने शिक्षामन्त्री, शिक्षा सचिवसँग प्रस्ताव गरे। ‘शिक्षा सचिवबाट आफैं अन्यत्र कतै सारेर सञ्चालन गर्न सकिन्छ भने लैजाने भनी आदेश आएपछि मैले गोखा जिल्लाको आफ्नै गाईखुरमा लगेर सञ्चालन गर्न सक्छु भनी उत्तर दिएँ,’ आलेखमा कोइरालाले भनेका छन्, ‘त्यसो भए विद्यालय गाउँमा लगी सञ्चालन गर्न चाहिने जग्गा उपलब्ध गराउन सकिनँ भने म आफ्नै घरबारीमा विद्यालय भवन बनाउन दिउँला भनेर घरबारी धितो राख्नुपर्छ भनेर सर्त करार गर्नुभयो। त्यसपछि मैले आफ्नो जग्गा राखी कबुलियतपत्र लेखी सचिवलाई दिएँ र विद्यालय गाईखुरमा सार्ने आदेश शिक्षा मन्त्रालयबाट लिएँ।’
उनलाई त्यतिबेला आड भरोसा दिनेहरूमा उनका अभिभावक हिराप्रसाद कोइराला, गाउँका मुखिया देवीप्रसाद श्रेष्ठ, ओमदत्त पन्त, खुतराज त्रिपाठी थिए। त्यस्तै बखतमान श्रेष्ठ, रणबहादुर आले, श्यामराज पन्त, नन्दप्रसाद अधिकारी, प्रेमराज देवकोटाको साथ र सहयोगमा बन्दीपुरको लक्ष्मी आधारभुत विद्यालय उठाएर गाईखुर ल्याइयो। सोही स्मारिकामा प्रकाशित राजनीतिक व्यक्तित्व, पूर्वमन्त्री वाचस्पति देवकोटाको आलेखका अनुसार गाईखुरका बासिन्दा अत्यन्त साहसी, आँटिला, जोशिला थिए।

बन्दीपुरका बासिन्दाले आधारभुत विद्यालय हटाउने निर्णय गरेपछि गाईखुरका सर्वसाधारण जनताको ठूलो सहभागितामा बन्दीपुरको आधारभुत विद्यालय नै बोकेर गाईखुरमा ल्याएर खडा गरियो। त्यतिबेला मान्छेको मुखबाट सुनिने गथ्र्यो कि, ठुटेबजार जात्रा, च्याङ्ली जात्रा, चेपेघाट जात्रा जहाँ होस्, गाईखुरका जात्रुहरू लडाइँ एवम् भिडन्त गर्न सक्ने हुँदा उनीहरूसँग जोकोही तर्सन्थे। गाईखुरेलाई कोही पनि हेप्न सक्दैनथे। त्यही बल र शक्तिले बन्दीपुरबाट आधारभुत विद्यालय नै बोकेर गाईखुर ल्याउने जुन काम गरे, साँच्चै नै आफ्नो शक्ति र बलको सही सदुपयोग गरेर देखाए। गाईखुरेको त्यो पुरुषार्थ देखेर सरकार पनि झुक्यो र लक्ष्मी आधारभूत स्कुललाई स्वीकृति दियो।
त्यतिबेला स्कुलै बोकेर ल्याउनेमध्यका एक बाबुलाल श्रेष्ठ भन्छन्, ‘त्यहाँको तान, चर्खा, कतुवा, ट्वाइलेट जाँदा लैजाने ढलोटको लोटा पनि छोडिएन। अहिले लक्ष्मी माविमा बजाउने घण्टी पनि त्यहीँबाट ल्याएको हो। त्यतिबेला मस्र्याङ्दी तर्न कतै पनि पुल थिएन। सबै डेस्कबेञ्च, टेबुल, कागजपत्र सबै डुङ्गाबाट देउलीघाट तारेर ल्याएको हो। हामीले स्कुल उठाएर ल्याएको देखेर सबैजना दंग परेका थिए। स्कुल बोक्नेलाई घटुवारेले पैसा पनि लिएनन्।’
बन्दीपुरबाट बोकेर ल्याएको लक्ष्मी आधारभुत विद्यालय त्यतिबेला बेतेनीमैदानमा छाप्रो बनाएर सञ्चालन आरम्भ गरियो। त्यसपछि गाईखुरका मल्ल परिबारले गाउँको माझमा रहेको जग्गा विद्यालय स्थापना गर्न दान गरे। पूर्व प्रधानाध्यापक रुद्रनाथ खनालका अनुसार विद्यालयमा अध्ययन गर्ने विद्यार्थी, शिक्षक, गाउँले सबैले श्रमदान गरेर विद्यालय भवन बनाएका हुन्। त्यतिबेला सदरमुकामबाहेक गोरखाको पश्चिमी क्षेत्र कतैपनि विद्यालय थिएन। उच्च कुलीन घरानाको आँगन, पिँढीमा संस्कृतका शिक्षक राखेर धुलौटो र सिलोटमा उनीहरूका खलकका छोराछोरीहरूलाई अक्षर चिनाउँथे। रुद्री र चण्डी कण्ठस्थ बनाउँथे।
यही परिवेशमा गाईखुरमा आधारभुत विद्यालय खुलेपछि आसपासका डाँडाकाँडा, गाउँटोलबाट पढ्न आए। स्कुल बोकेर ल्याउनेमध्यका एक प्रेमराज कोइरालाका अनुसार त्यतिबेला यमप्रसाद कोइराला प्रधानाध्यापक थिए। सिद्धिविलास देवकोटा, रामचन्द्र पण्डित, अग्निधर देवकोटा, गोपिनाथ पोखरेल, टीकाराम पौडेल शिक्षक थिए। बखतमान श्रेष्ठ र खड्गबहादुर रोका पियन थिए। व्यवस्थापन समितिको अध्यक्ष ओमदत्त पन्त थिए। ‘स्कुल त ल्याइयो। अब शिक्षकलाई तलब दिनु प¥यो। विद्यार्थी पनि चाहियो। त्यही भएर हामी टाढाटाढासम्म देउसी भैलो खेलेर खर्च पनि जोहो गथ्र्यौं, विद्यार्थी पनि बटुल्थ्यौं’, देवकोटाले भने। २०१४ सालमा सो विद्यालयले मिडिल स्कुल र २०१८ सालमा हाइस्कुलको स्वीकृति पायो। सो विद्यालयबाट पहिलो पटक प्रवेशिका परीक्षा उतीर्ण गर्ने बलराम पन्त पछि राजा वीरेन्द्रका निजी पाइलट बने। यहाँका विद्यार्थी तथा प्रधानाध्यापक हितराज पाण्डे स्थानीय विकास मन्त्री बने।
प्रतिक्रिया दिनुहोस !