अख्तियारको कर्मचारी हौँ भन्दै ठगी गर्ने दुईजना पक्राउ
ढल्केवर(धनुषा): अख्तियारको कर्मचारी हौँ भन्दै ठगी गर्ने दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका-३ बस्ने ३७ वर्षीय अनिल सिंह र सोही ठाउँका ३२ वर्षीय राहुल सिंह रहेको प्रहरीले जनाएको छ।
साउन ११ गतेदेखि भदौ १५ गतेसम्ममा जनकपुरधाम नगरभित्रका विभिन्न ७ वटा पसलहरूमा 'हामी अख्तियारको कर्मचारी हौं, पसलका कागजातहरू देखाउनुस्, पसलको खानतलासी गर्छौं, तपाईंको पसल सिल गर्छौँ', भन्दै धाक धम्की दिई नगद रुपैयाँ असुल गर्ने तथा ठगी गर्ने उनीहरूलाई खोजतलास गरी सोमवार जनकपुरधाम उपमहानगरपालिका-७ भ्रमपुरा चोकस्थितबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
उनीहरूलाई बिआर ३० एबी ८८०४ नम्बरको भारतीय मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गौतमले बताए।
पक्राउ परेका उनीहरूलाई ठगी कसूर शीर्षक मुद्दामा ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।