नेताहरूमा खोइ नैतिक शक्ति ?
अहिलेको सत्ता गठबन्धन भ्रष्टाचारका कुनै पनि काण्डमा शीर्ष नेताहरूलाई नछुने वा अनुसन्धान नगर्ने मनशायमा छ।
मुलुकले जोबाट आशा गरेको थियो, ती नै भ्रष्ट र राजनीतिक संस्कारविहीन देखिए। त्यसको बाइप्रोडक्टका रूपमा केही नयाँ दल र व्यक्ति देखा परे। तर, नयाँ दल र केही युवा नेताको जग छैन। दुई चार जनाका अभिव्यक्ति हेर्दा लाग्छ, कुनै पनि सिद्धान्त वा नैतिक मूल्य मान्यता छैन।
लोकरिझ्याइँको पछि दौड्दा धरातल छोड्न थालेको देखिन्छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले सामाजिक सञ्जालमा अराजक स्टाटस लेखे। होसमा हुने व्यक्तिले त्यस्तो स्टाटस लेख्दैन। त्यसैकारण भोलिपल्टै साह स्वयंले स्टाटस मेटे। साहको स्तर कस्तो रहेछ ? छर्लङ भयो। राजनीतिक संस्कार र संस्कृतिको ठूलो अर्थ हुन्छ। त्यो देखिएन।
धरानका मेयर हर्कराज राई साम्पाङबाट पनि आवेगयुक्त स्वरहरू सुनिन थालेका छन्। जातीय एवं धार्मिक अतिवादको भासमा मुलुकलाई धकेल्ने प्रयास भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रवृत्ति अस्थायी हो। किनभने यो पार्टीको संगठन छैन। माओवादी छोडेर नेपाल समाजवादी पार्टीका अध्यक्ष बनेका डा. बाबुराम भट्टराई बुद्धिजीवीलाई झुक्याउने, अल्मलाउने कामका सैद्धान्तिक भाष्यकार हुन्।
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा डा. भट्टराई र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको संलग्न भएको प्रस्ट छ। दुवै जना पूर्वप्रधानमन्त्री भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दियो। सर्वोच्च अदालतले नेपाल र भट्टराईमाथि पनि अनुसन्धान गर्नु भनेर आदेश दिएको हो। तर, सरकारले नै उन्मुक्ति दियो।
नक्कली भुटानी शरणार्थी, सुन प्रकरण र ललिता निवास जग्गा हिनामिना प्रकरण जस्ता ठूला काण्डमा माओवादीकै शीर्ष नेताको संलग्नता देखियो। यी काण्डहरूले गर्दा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्रीतर्फ पनि सुई तेर्सिएको छ। अन्य ठूला घोटाला काण्डहरूमा पनि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम मुछिएको छ। अहिलेको सत्ता गठबन्धन भ्रष्टाचारका कुनै पनि काण्डमा शीर्ष नेताहरूलाई नछुने वा अनुसन्धान नगर्ने मनशायमा छ। विपक्षी दल नै नभए जस्तो स्थिति छ। किनभने, शीर्ष नेतालाई कारबाही गर्न नहुने सहमति छ।
कुनै पनि पार्टीको शीर्ष नेतालाई बयानसमेत लिइँदैन भन्ने दृष्टान्त नेपाल, डा. भट्टराई, आरजु देउवा हुन्। बयान लिँदैमा दोषी भइहाल्ने होइन नि ! तर, बयान नै लिइएन। द्वन्द्वकालीन मुद्दामा बन्दुक बोकेका कुनै पनि कमरेडलाई छुनु हुँदैन भन्ने मानसिकता माओवादीका शीर्ष नेताहरूमा छ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव गौरहत्या घटना छानबिनबाट झस्किएका छन्।
गौर हत्या काण्डमा २७ जनाको एकै चिहान बनाइयो। यसमा यादवले उन्मक्ति पाउँदैनन्। यो फाइल खुल्नुपर्छ। संसद्मा भ्रष्टाचारविरुद्ध स्वर उठ्न छोड्यो। नयाँ र पुराना भइसकेका नेताहरूमा नैतिक शक्ति छैन। लोकतन्त्रको चिरहरण मात्र होइन प्राण हरण गर्ने प्रक्रिया सुरु भएको छ। लोकतन्त्रको प्राण हरण हुँदा राष्ट्रकै स्पन्दन (ढुकढुकी) नरोकियोस्। लोकतन्त्रको प्राण हरण भयो र राष्ट्रको स्पन्दन रोकियो भने दोषभागी ठूला दलहरू नै हुने छन्।
- (मानव अधिकार शान्ति समाजका संस्थापक सभापति पहाडी अधिकारकर्मी हुन् )