तत्कालै लाभांश हेर्ने, छैन प्रविधि

तत्कालै लाभांश हेर्ने, छैन प्रविधि
सुन्नुहोस्

काठमाडौं : नेप्सेमा सूचीकृत कम्पनीले गत वर्ष गरेको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव सुरु गरिसकेका छन्। आर्थिक वर्ष २०७९/०८० को लागि केही म्युचुअल फन्ड, वाणिज्य बैंक र मर्चेन्ट बैंकर गरेर करिब डेढ दर्जनले लाभांश घोषणा गरेको देखिन्छ। यद्यपि यसको बाँडफाँड भने कम्पनीको वार्षिक साधारणसभा (एजीएम)ले स्वीकृत गरेपछि मात्रै हुनेछ। 

यसरी घोषणा गरेको लाभांशमा सेयरधनीले कति पाउँछन् भनेर तत्कालै हेर्न पाउने व्यवस्था नहुँदा आफ्नै सम्पत्ति जानकारीको अधिकारबाट वञ्चित भएका छन्। किनभने हालसम्म लगानीकर्ताले विभिन्न बैंक तथा वित्तीय संस्था, जलस्रोत, होटल, सिमेन्ट कम्पनीलगायतमा गरेको लगानीबापतको लाभांश कति पाइयो भनेर घोषणा गरेलगत्तै अझै छिट्टै विवरण उपलब्ध हुने व्यवस्था छैन। लाभांश घोषणा गरेको ४–५ महिनापछि मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएपछि मात्रै सीडीएससीले जारी गरेको मेरो सेयरमा गएपछि मात्रै सेयरधनीले लाभांश विवरण थाहा पाउने अवस्था छ। 
तर कम्पनीका बिक्री प्रबन्धक रहेका क्यापिटलले लगानीकर्ताले पाउनुपर्ने लाभांशको विवरणको सम्बन्धमा तत्कालै थाहा पाउने खालको प्रविधि प्रयोग नगर्दा पनि ढिलाइ भएको छ। 

अहिलेसम्म कुनै पनि प्रविधिको प्रयोग नगर्दा लाभांशको विवरण सहजै उपलब्ध नभएकाले यसमा सहजीकरण गर्न सरोकारवालाले जोड दिएका छन्। सञ्चालनमा रहेका कुनै पनि क्यापिटलले लगानीकर्ताले पाउनुपर्ने लाभांशको विवरणको सम्बन्धमा हालसम्म कुनै पनि प्रविधिको प्रयोग नगर्दा छिटो सूचना पाउनबाट वञ्चित भएको भन्दै नेपाल धितोपत्र बोर्ड (सेवोन) मा समेत गुनासो परेको छ। उक्त समस्याले लगानीकर्ताले लगानी गरेको ठाउँबाट प्राप्त लाभांशको विवरण तथा सम्बन्धित जानकारी सहजै उपलब्ध नभएकोले सहज तरिकाले अनलाइन हेर्न मिल्ने व्यवस्था हुनुपर्ने माग छ। 

यसकारण यस्तो प्रविधि आवश्यक भएको भन्दै राख्नका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन)मा समेत निवेदन पुगेको छ। तर सोही विषयलाई लिएर थोरै निवेदनभन्दा अझै लगानीकर्ताबाट यस्तो गुनासो आयो भने सेवोनले यसलाई निर्देशन दिने पक्षमा छ। सेयर लगानी गरेका लगानीकर्ताले आफ्नो लगानीबारे पारदर्शी प्रणाली चाहियो। भनेको बेला हेर्न पाइयोस् भन्ने गुनासो आएमा सेवोनले जोड दिने बताएको छ। नेपाल धितोपत्र बोर्ड (सेवोन) का कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ भने उक्त गुनासो बोर्डमा आए पनि यसबारे निर्णय नभई सकेको बताउँछन्। ‘ऐन, नियम हेरेर यसबारे निर्णय गर्न मिल्ने वा नमिल्नेबारे निक्र्यौल गर्न आवश्यक हुन्छ,’ उनले जानकारी दिए। 

  •     सेयरधनीले लाभांस तत्काल हेर्न पाउने व्यवस्था छैन
  •     मर्चेन्ट ब्याज लोभमा प्रविधि प्रयोग गर्न चाहँदैनन् 

अहिले लाभांश (डेभिडेन्ट) वितरण गरेको करिब ४–५ महिनामा मात्रै सेयरधनीलाई थाहा हुन्छ। तर यस्तो सूचना लगानीकर्ताले लत्काल पाउन सक्ने प्रविधि मर्चेन्टले नराख्दा आम लगानीकर्ताले तत्कालै आफ्नो लगानीबापतको लाभांशको विवरण जानकारीमा ढिलाइ भएको सरोकारवाला बताउँछन्।

‘वित्तीय प्रणालीका संस्थाले लाभांशलाई रोकेर ब्याज खाने भाँडोको रूपमा प्रयोग गरेका छन्। मर्चेन्ट कम्पनीले प्रविधिमा लगानी गरेर लाभांश घोषणा गरेपछि तुरुन्तै प्रणालीमा देखाउन सकिन्छ तर कम्पनीहरूले यस्तो प्रविधिमा लगानी गरेकै छैनन्,’ सम्बद्ध सोतले भन्यो, ‘यसको सफ्टवेयर छ। जस्लाई आईटी कम्पनीले सेयर वेवमा डेभिडेन्ट मोडलमा ल्याएको छ। यसलाई प्रोफेसनल सेयर म्यानेजमेन्ट सिस्टम अर्थात् सर्टफर्ममा सेयर प्लस डेभिडेन्ट मोडल भनिन्छ। यसको सिस्टमअन्तर्गत लाभांश घोषणा गर्नासाथ मर्चेन्ट क्यापिटल कम्पनीमा सेयरधनीले बीओआईडी (लाभग्राही सञ्चालक पहिचान नम्बर), कम्पनीको सर्ट कोड, डेभिडेन्ट कति हो र कति लटमा आउँछ त्यो देखाउँछ।  तर यो सिस्टम राख्न मर्चेन्टले लगानी गर्नुपर्छ तर गरेका छैनन्।’

यद्यपि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएपछि मात्रै सीडीएससीले जारी गरेको मेरो सेयरमा गएर लाभांश घोषणा गरेको ४–५ महिनापछि मात्रै सेयरधनीले थाहा हुन्छ। तर मर्चेन्ट कम्पनीबाट लगानीकर्ताले तत्कालै थाहा पाउने र प्रणालीमा आउने प्रविधि राख्न सम्भव छ। तर बैंक तथा मर्चेन्टहरूले यस अवधिको ब्याज खानलाई यस्तो प्रविधिमा लगानी नगरेको सरोकारवाला बताउँछन्। यस्तो सिस्टम कम्पनीले  निश्चित मूल्यमा किन्नुपर्ने हुन्छ। तर कमिसनको खेलले गर्दा मर्चेन्टहरूले यस्तो प्रविधि प्रयोग नगरेको स्रोतको दाबी छ।

डेभिडेन्ट कनेक्ट आईपीएसबाट पठाउँदा पैसा काट्ने भएकाले मर्चेन्टको आ–आफ्नै बैंकमा ब्याज खान पाउने गरी उक्त लाभांशबापतको रकम राख्ने प्रवृत्ति पनि भएको सरोकारवाला औंल्याउँछन्। ‘बैंकले पनि आम्दानी बढाइदिएको भन्दै मर्चेन्टलाई थमथम्याउने काम गरेको देखिन्छ।’ तर यो प्रणाली परिवर्तन गरेर तत्कालै सेयरधनीले हेर्न पाउने र उनीहरूको खातामा जम्मा हुने व्यवस्था मिलाउने प्रविधि प्रयोग गर्न पटकपटक भनेको तर नटेरेको एक कम्पनीका प्रतिनिधि बताउँछन्। उनी भन्छन्, ‘सेयरधनीले मेरो लाभांश कहिले आउँदै छ, कति आउँछ भन्ने जिज्ञासालाई मर्चेन्टले प्रविधि प्रयोग गरे भने तत्काल हेर्न पाउँछन्। तर अहिले यो अधिकारबाट वञ्चित छन्। वास्तवमा डेभिडेन्ट पठाउने काम बैंकको होइन मर्चेन्टको हो। मर्चेन्ट आफ्नो जिम्मेवारीबाट पन्छिएको छ।’

यता मर्चेन्ट बैंकर्स एसोसियसन अफ नेपालका महासचिव रमेन्द्र रायमाझी भने क्यापिटलले तत्कालै लाभांश हेर्न मिल्ने खालको प्रविधि प्रयोग नगरे पनि छिट्टै हेर्न सक्ने सुविधा आएकाले प्रविधिमा लगानी जरुरी नभएको बताउँछन्। उनी भन्छन्, ‘पहिला रजिस्ट्रार हुने बेला एउटाले मात्रै हेर्ने अवस्था थियो तर अहिले आरटस्ए भएपछि सम्बन्धित डीपीआईडीमा लगानीकर्ताको खाता हुन्छ। मर्चेन्टले प्रबन्धक भएर काम गरिरहँदा सबै त्यही क्यापिटलको डिम्याट होल्डर नहुने भएकाले लाभांश घोषणा गर्नासाथ अनलाइनबाट हेर्न सम्भव हुन्थ्यो तर सबै प्रबन्धक मर्चेन्टको डिम्याट होल्डर नहुने भएकाले पनि सम्भव हँुदैन। यद्यपि तत्कालै हेर्न सक्ने प्रविधि भए पनि मर्चेन्टले यसलाई प्रयोगमा ल्याउन व्यावहारिक छैन।’

तर सीडीएससीको ‘मेरो सेयर’बाट पनि छिट्टै सम्बन्धित सेयरधनीले हेर्न पाउने भएकाले उक्त प्रविधि प्रयोग नगर्दा पनि खासै प्रभाव नपर्ने उनको तर्क छ। सम्बन्धित सेयरधनीले दिएको डिम्याट खातामा भएको विवरण छ भने कम्पनीले लाभांश घोषणा गरेको २–५ दिनमै जम्मा हुन्छ। तर बैंक खाता विवरण नमिलेकोमा भने ढिलाइ हुने गरेको उनले स्विकारे। यसर्थ यसमा सेयरधनी नै उत्तरदायी हुनुपर्छ। त्यही भएर मर्चेन्टहरूले सेयरधनीलाई आफ्नो खाता अध्यावधिक गराउनु भनेर नोटिस राखिदिने गरेको छ। खाता अध्यावधिक नगरे सम्बन्धितको खातामा जान समस्या हुने हो नत्र भने जान्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.