लुम्बिनीबाट सार्न थालियो कर्णालीका प्रहरी संरचना

लुम्बिनीबाट सार्न थालियो कर्णालीका प्रहरी संरचना
लुम्बिनीको बाँकेस्थित नेपालगञ्जमा रहेको कर्णाली प्रदेश प्रहरी मातहतको तालिम केन्द्र।
सुन्नुहोस्

सुर्खेत : संघीयतापछि पनि कर्णालीमा आउन नसकेका प्रहरीका संरचनाहरू स्थानान्तरण गर्न सुरु गरिएको छ। लुम्बिनीमा रहेका प्रहरीका संरचनालाई कर्णालीमै सार्ने प्रक्रिया अगाडि बढेको हो। लामो समयपछि संघीय सरकारले जग्गाको स्वीकृति दिएपछि कर्णाली सरकारले लुम्बिनीमा रहेका प्रहरीका संरचनाहरू सार्न सुरु गरेको हो।

संघीयताभन्दा अगाडि साविक मध्यपश्चिमको सदरमुकाम सुर्खेत थियो। तर त्यसबेला सुर्खेतमा हुनुपर्ने अधिकांश प्रहरीका संरचना भने नेपालगञ्जमा थिए। देश संघीयतामा गएपछि पनि कर्णालीमा हुनुपर्ने कतिपय प्रहरीका संरचनाहरू लुम्बिनीको नेपालगञ्जमै छन्। जग्गा र भौतिक संरचनाको अभावमा ती संरचनाहरू कर्णालीमा ल्याउन नसकिएको प्रदेश सरकारले बताउँदै आएको थियो। तर संघीयता कार्यान्वयनको लामो समयपछि प्रदेश सरकारले आफ्नो मातहत रहेका प्रहरीका संरचनाहरू लुम्बिनीबाट कर्णालीमा सार्न सुरु गरेको हो।

लुम्बिनीमा रहेका प्रहरीका ४ वटा संरचनामध्ये प्रहरी विशेष सुरक्षा गण सार्नका लागि प्रदेश सरकारले १ करोड ९१ लाख २९ हजार ८४६ रुपैयाँ बजेट स्वीकृत गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले लुम्बिनीमा रहेका प्रहरीका संरचनाहरु कर्णालीमा सार्न बजेट नै विनियोजन गरिएको बताए। उनका अनुसार हालः लुम्बिनीको नेपालगञ्जमा रहेको कर्णाली प्रदेशको प्रहरी विशेष सुरक्षा गण स्थानान्तरणको प्रक्रिया अगाडी बढेको हो। कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गतका प्रहरी विशेष सुरक्षा गण, प्रहरी तालिम केन्द्र, दंगा नियन्त्रण प्रहरी गण र केनाई (कुकुर) शाखा लुम्बिनीमै छन्। 

संघीय सरकारले आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेपछि नेपालगञ्मा रहेका प्रहरीका संरचना सार्न सुरु गरिएको प्रदेश सरकारले जनाएको छ। प्रहरी विशेष सुरक्षा गणका लागि सुर्खेतको गुर्भाकोट नगरपालिका-१३ र १४ मा जग्गा प्राप्त भइसकेको छ। उक्त जग्गामा प्रहरी सुरक्षा गण सार्नका लागि बजेट पनि स्वीकृत गरिएको मन्त्री जिसीले बताए। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयबाट खर्च व्यहोर्ने गरी बजेट विनियोजन गर्न स्वीकृत दिइएको हो।

पहिलो चरणमा नेपालगञ्जमा रहेका कर्णालीका चार वटा प्रहरी संरचनामध्ये कर्णाली प्रदेशको प्रहरी विशेष सुरक्षा गण सारिनेछ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख डिआईजी भीमप्रसाद ढकालले संघीय सरकारले जग्गा उपलब्ध गराएपछि प्रहरी संरचनाहरु सार्न थालिएको बताए। जग्गा र बजेटको सुनिश्चितता भएसँगै विशेष सुरक्षा गणलाई सुर्खेत सार्ने तयारीमा आफूहरु जुटेको डिआईजी ढकालको भनाइ छ। त्यस्तै कुकुर शाखा र प्रहरी स्कुल वीरेन्द्रनगर-५ चिसापानीमा रहेको जग्गामा सार्न लागिएको छ। यसका लागि जग्गा स्वीकृत भइसकेकाले आवश्यक बजेट माग भइसकेको डिआईजी ढकालले जानकारी दिए। 

उनले भने, ‘प्रहरी स्कुल सञ्चालनका लागि चुनौती भइरहेको छ, दुई विगाह जग्गामा स्कुलको भवन निर्माण हुनेछ। एक विगाहमा संघीय प्रहरी कार्यालय र बाँकी रहेको आठ कठ्ठा जग्गामा केनाइ (कुकुर) शाखाको भवन निर्माण गर्न बजेट मागेका छौं।’ विशेष दंगा नियन्त्रण गणका स्थापना गर्नका लागि रुकुमपश्चिम र सुर्खेतको बावियाचौरमा जग्गा स्वीकृतका लागि सबै प्रक्रिया पूरा गरेर फाइल गृह मन्त्रालयमा पठाइएको छ। उक्त जग्गा स्वीकृत भएमा रुकुमपश्चिममा दंगा नियन्त्रण गणको मिनी तालिम केन्द्र र बावियाचौरमा मुख्य गण राख्ने योजना छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.