तिब्बती सीमानाको सामागाउँमा पेमा देजोलिङ गुम्बा निर्माण
गोरखा : तिब्बती सिमानाको सामागाउँमा पेमा देजोलिङ गुम्बा निर्माण गरिएको छ। पेमा देजोलिङ फाउण्डेशन ताइवान र पेमा देजोलिङ फाउण्डेशन मलेसियाको आर्थिक सहयोगमा तिब्बतको सिमानामा रहेको गोरखाको अन्तिम गाउँ सामागाउँमा गुम्बा निर्माण गरिएको हो।
चुमनुब्री गाउँपालिका-१ सामागाउँमा करिब १० वर्ष लगाएर गुम्बा निर्माण गरिएको हो। सो गुम्बाको लामा गुरु धिल्को छेच्जेको औतारीले एक धार्मिक समारोहको आयोजना गरी उद्घाटन गरेको फाउण्डेशन नेपालका उपाध्यक्ष खेम्पो कर्मा उर्गेनले जानकारी दिए।
पेमा देजोलिङ फाउण्डेशनको सहयोगमा गुम्बा निर्माण भएकाले फाउण्डेशनकै नामबाट गुम्बाको नामाकरण गरिएको उपाध्यक्ष खेम्पो उर्गेनको भनाइ छ।
२०६९ सालदेखि निर्माणको थालनी भएको सो गुम्बा निर्माणको काम २०७९ कात्तिकमा सम्पन्न भएको उनले बताए। उपाध्यक्ष खेम्पो उर्गेनका अनुसार भुकम्प र कोरोनाका कारण बीचमा ३ वर्ष जति गुम्बा निर्माणको काम रोकिएको थियो। ‘भुकम्प अघिदेखि नै काम सुरु भएको हो, भुकम्पपछि एक/डेढ वर्ष जति काम रोकियो’ उनले भने, ‘पछि फेरि कोरोना महामारीको कारण पनि एक/डेढ वर्ष नै काम रोकिएर ढिला भएको हो।’
सो गुम्बा वृद्धवृद्धा तथा धर्मगुरु लामाहरूलाई ध्यान गर्नका लागि निर्माण गरिएको फाउण्डेशनका उपाध्यक्ष उर्गेनले जानकारी दिए। गुम्बामा बस्न आउने वृद्धा तथा धर्म गुरुहरूका लागि बसोबासको समेत व्यवस्थाको तयारी गरिएको उनले बताए।
अर्को वर्षदेखि यहाँ वृद्धवृद्धालाई बसोबासको व्यवस्थासहित सञ्चालनमा आउने फाउण्डेशनले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !