म्यानमारसँग बराबरी
६३औं मिनेटमा म्यानमारका फ्यो विनले हातले बल छोएपछि नेपालले पेनाल्टी पाएको थियो। जसलाई अन्जनले सदुपयोग गर्न सकेनन्। उनको प्रहार म्यानमारका गोलरक्षक जिन फ्योले बचाएका थिए।
काठमाडौं (अन्नपूर्ण) : नेपाल र म्यानमारबीचको पहिलो फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ। शुक्रबार म्यानमारको घरेलु मैदान थुउन्ना रंगशालामा भएको खेलमा अन्जन विष्टले पेनाल्टीको सुनौलो अवसर गुमाउँदा नेपाल गोलरहित बराबरीमा रोकिएको हो।
६३औं मिनेटमा म्यानमारका फ्यो विनले हातले बल छोएपछि नेपालले पेनाल्टी पाएको थियो। जसलाई अन्जनले सदुपयोग गर्न सकेनन्। उनको प्रहार म्यानमारका गोलरक्षक जिन फ्योले बचाएका थिए।
पेनाल्टीमा चुकेसँगै अन्जनले नेपालका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गर्ने मौकासमेत गुमाएका छन्। यो कीर्तिमान हरि खड्का र निराजन रायमाझीको नाममा छ। दुवैले १३ गोल गरेका छन्। अन्जनले अहिलेसम्म १२ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्।
म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालका दुई खेलाडीले डेब्यु गरेका थिए। नेपाली टोलीका मुख्य प्रशिक्षक अल्बर्टो एनेसले जिलेस्पीजंग कार्कीलाई पहिलो रोजाइमै मैदान पठाएका थिए। अर्का फरवार्ड हिसुब थपलियालाई भने दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गराएका थिए। ८४ औं मिनेटमा हिसुबले अन्जन विष्टलाई प्रतिस्थापन गरेका थिए। जिलेस्पीजंग विभागीय टोली त्रिभुवन आर्मी र हिसुब जावलाखेलबाट व्यवासायिक फुटबल खेल्दै आएका छन्।
अर्को महिना हुने लाओसविरुद्धको विश्वकप तथा एसिया कप छनोटको तयारीका लागि दुईवटा मैत्रीपूर्ण खेल खेल्न नेपाल म्यानमार पुगेको हो। दोस्रो मैत्रीपूर्ण खेल सोमबार हुनेछ।