प्रधानमन्त्री दाहाल अराजक भइसके : शेखर कोइराला

चितवन : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल अराजक भइसकेको बताएका छन्। कांग्रेसको चितवन सम्मेलनमा शनिबार बोल्दै उनले प्रधानमन्त्री दाहालले जातीय हिंसा भड्काउने हिसाबले अभिव्यक्ति दिँदै हिँडेको बताए।
'प्रधानमन्त्री प्रचण्डजीले टन्न भोट दिनुस्। जातीय आधारमा प्रदेश बनाइदिन्छौं भन्दै हिँड्नुभएको छ। प्रधानमन्त्रीको हैसियतले त्यस्तो बोल्न मिल्छ?,' उनले प्रश्न गरे, 'धरानमा जातीय हिंसा भड्किने खतरा हामीले भर्खरै देख्यौं। प्रधानमन्त्रीले अराजक शैलीमा अभिव्यक्ति दिनु भनेको हिंसालाई प्रश्रय गर्नु हो।'
प्रधानमन्त्री दाहालले धरानमा भएको घटनाबारे विस्तृत बुझ्ने बताए पनि हालसम्म त्यसबारे केही कुरा सार्वजनिक नभएको बताए। उनले काठमाडौंका मेयर बालेन्द्र शाहले सिंहदरवार जलाउने चेतावनी दिनु पनि अराजकताको हद भएको बताए। 'कोसैले सिंहदरवार जलाउँछु भन्नु, पहिचानमा आधारित प्रदेश बनाइदिन्छु भन्नु अराजकता भन्दा कम होइन। यस्ता कुराबाट बेलैमा सचेत हुनुपर्छ,' उनले भने।
प्रधानमन्त्री दाहालले २९औं आदिवासी दिवसका दिन ०८४ को निर्वाचनमा पहिचान पक्षधरलाई बहुमत दिए प्रदेशका नाम संशोधन गर्ने बताएका थिए। ‘२०८४ मा पहिचान पक्षधरलाई टन्न मत हालिदिनुभयो भने सदनैबाट त्यही पारित हुन्छ। अहिलेको घटनाक्रमले एउटा नयाँ चेतना हामी सबैमा पैदा भएको छ। त्यो चेतनाको बलमा पहिचानसहितका प्रदेशको नामकरण गर्न सकिनेछ। त्यसका निम्ति पनि गम्भीर रूपमा विचार गर्न तपाईंहरूसँग अपिल गर्न चाहन्छु,' प्रधानमन्त्री प्रचण्डले भनेका थिए।
त्यस्तै नेता कोइरालाले अब नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बनाउने बेला आएको बताए। संसदीय प्रणालीमा प्रधानमन्त्रीको मुख्य भूमिका हुने भन्दै मन्त्रीले मात्र केही नहुने बताए। ‘हामीसँग ९० सिट छ, ९ जना मन्त्री छन्। कसैलाई लागेको होला मन्त्रीले काम गरेका छन्। कसैलाई लागेको होला केही काम गरेका छैनन्। तर मलाई के लाग्छ भने संसदीय प्रणालीमा प्रधानमन्त्रीबाहेक अरु मन्त्रीको कुनै रोल हुँदैन,' उनले भने।
प्रतिक्रिया दिनुहोस !
