दलित ज्ञानको उत्खनन्

दलित ज्ञानको उत्खनन्

जित्नेहरूले आफ्नो बिजित इतिहास लेखाए। कमजोरहरूले कथा लेख्न सकेनन्, जानेनन्। कैयौं कथा अमान्छे र अन्यायको पक्षमा बने।

सधैं उपेक्षा र उत्पीडनमा बाँच्नु परेको र पढ्ने लेख्ने, सचेत हुने मौकाबाट पर धकेलिनु परेको र अन्याय सहेर नै बस्नु परेकाले दलितहरूको समग्र विकास निकै पछाडि परेको छ। जसमा तत्कालीन सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक व्यवस्था कारण बनेको पाइन्छ। त्यसैले उनीहरूको इतिहास पनि हराएको, मेटिएको र नलेखिएको हो। इतिहास नहुने कुरा नै हुँदैन। सबै मान्छे एकै हुन्। सृष्टिद्वार र रचनागर्भ एकै हुने मान्छेलाई किन फरकफरक कोटी र दर्जामा राखियो ? जन्मले मान्छे सबै एकै हुन् भन्ने इतिहास पढाउन लेखाउन परम्परागत इतिहासको भञ्जन आवश्यक छ।

वर्तमान भन्नु नै इतिहास टेकेर आएको मार्ग हो तसर्थ इतिहास नहुने कुरा हुँदैन। फरक यति हो इतिहास शक्तिशालीको लेखिन्छ। शक्तिहीनको इतिहास दबाइन्छ। लेखियो भने पनि अपूर्ण वा बंग्याएर लेखिन्छ। अपमान गर्न लेखिन्छ। यो संसारभर चलेको प्रभुत्वशाली वर्गले अपनाएको समान सिद्धान्त र मापदण्ड हो।

गरिबका इतिहास, श्रमजीवीका इतिहास श्रम, पसिना र कलाले लेखिएको हुन्छ। जागरुक समाज सचेत समाजमा शक्तिशालीले मात्र होइन, शक्तिहीनले पनि आफ्नो इतिहास आफ्नै तवरबाट लेखेर राखेको हुन्छ। आफ्नो पीडा र व्यथालाई लिपिबद्ध गरेको हुन्छ। मूल इतिहासको वैपरीत्य इतिहास भेटिन्छ। इतिहास छोपिएकाहरूले आफूमाथि आफ्नो समुदायमाथि भएको षड्यन्त्र र अनेक अन्याय अत्याचारलाई लेखेर राखेको हुन्छ।

कथित मूल इतिहास जस्तो दमदार नभए पनि पीडक वर्गले बुताले भ्याएको लेखेको हुन्छ। त्यो समुदायको ज्ञान र श्रुति परम्परामा आधारित हुन्छ। आफ्नो समुदायको सदस्यलाई भनेर छोडिएको हुन्छ। ‘शूद्रलाई धन एकत्र गर्न सुविधा दिनु हुन्न अन्यथा ब्राह्मणलाई दुःख हुनेछ’ (मनु, १०।१२९)। शूद्रले वेद पढेको कसैले सुन्यो भने उसलाई पिँधेको सिसा र लाहा हाल्नुपर्छ, शूद्रले वेदमन्त्रको उच्चारण ग र्‍यो भने उसको जिब्रो काट्नु पर्छ। शूद्रले वेदमन्त्र कण्ठ ग र्‍यो भने उसको शरीरलाई टुक्रा पार्नुपर्छ’ (गौतम धर्मसूत्र, २।३।४)। आफूमाथि इतिहासमा भएको बर्बर यातना दलित समुदायका पुराना पुस्तामा जीवन्त पाइन्छ। मनुस्मृति र गौतम धर्मसूत्रमा शूद्रलाई दिने दण्डको प्रावधानबाट इतिहासमा अछूत भनेर कस्तो बर्बर यातना दिइन्थ्यो र कति कुरामा बन्देज थियो। तत्कालीन धार्मिक कानुनको अध्ययनबाट दलित इतिहासको कस्तो कालखण्ड गुजारेर आज यहाँ आइपुगेका हुन्।

दबाइएकाहरूको इतिहास पाउने ठाउँ अर्को साहित्य पनि हो। साहित्यमा पनि प्रकट अप्रकट दमितहरूको इतिहासको प्रतिबिम्ब पाइन्छ। अझै सार्वजनिक धाराको पानी छोएको निहुँमा मारिन्छन्। प्रेम गर्दा र विवाह गर्दा नवराज विकहरू भेरीमा रक्ताम्य मारिन्छन्। अजित मिजार भएर २०७३ देखि अस्पतालको चिसो फ्रिजमा कोचिन्छन् ? आज मरेर पनि अजित मिजारहरूको लासले आफ्नो संस्कारअनुसार अन्त्येष्टि पाइरहेका छैनन्। लासले समेत न्याय नपाउने देशमा छौं हामी। मनु स्मृतिकालीन इतिहास आजको वर्तमानले हिँडेर आएको बाटो हो। त्यो इतिहासको धङ्गधङ्गी आज पनि सेते दमाईको नियति भएर दैलेखमा देखिन्छ। लक्ष्मी परियार भएर काभ्रेमा भेटिन्छ। अंगिरा पासी भएर धनुषामा उब्जिन्छ। दीपा नेपाली, रूपा सुनार र कमल विश्वकर्माको नियति भएर काठमाडौंका घरबेटीको व्यवहारमा प्रकट हुन्छ।

हार्नेहरूको कथा सुनिएन। संसार बदल्नेहरूको कथा लेखिएन। आफ्ना मान्छेको जीवनी लेखे तर आममान्छेको समुदायको मुद्दा बोक्ने मान्छेको बारेमा लेखेनन्। सिर्जनशीलता मार्न पाइन्न र हैकम लाद्न पाइन्न। 

तसर्थ दलित उत्पीडनको स्वरूप बदलिएको छ, आधुनिक संस्करणमा देखिरहन्छ। यी यावत् असहज परिस्थिति बाध्यता र मर्नु न बाँच्नुको दोसाँध र आत्मसम्मानमा क्षतिका बाबजुद पनि दलितहरूले सीप ज्ञान र विज्ञानमा आफ्नो ल्याकत देखाएर आजको युगलाई डोर्या‍एका छन्। आज जति पनि बनेका भौतिक विकास सडक, सिँचाइ, बिजुलीका पूर्वाधार, मन्दिर पाटी पुल सबैमा दलितलगायत श्रमजीवीको नलेखिएको इतिहास छ, कला। सीप र प्रविधिमा दलितको जीवन्त इतिहास पाइन्छ। कथित अछूतहरू माननीय, सम्माननीय र बन्दनीय छन् जसको सीप, श्रम, पसिना, मेहनत र जीवनले समाज धानेको छ। कृषि, उद्योग र श्रमको व्यापार चलेको छ। आङ ढाकिएको छ। अब हामी आरनको इतिहास पढाउँछौं। ढिकी, जाँतो, घट्ट, कोल, मादल र सियो धागोको इतिहास लेखाउँछौं। त्यसका निर्माताको सम्मान गर्छौं।

बिसे नगर्ची र पृथ्वीनारायण शाहलाई देश निर्माताको समकक्षता प्रदान गर्छौं। आरनमा खलाँती फुकिरहेको, श्रममा पसिना निकालिरहेको, कलमा लुगा सिउँदै गरेको, पानीघट्टमा ठेकी कुँद्दै गरेको, बाजा बजाइरहेको, जुत्ता सिलाइरहेको, गिट्टी कुुटिरहेको, हलो जोतिरहेको, भारी बोकिरहेको, घर लिपिरहेको, सफाइ गरिरहेको, घरेलु र परम्परागत ज्ञानबाट मदिरा उत्पादन गरिरहेको, कुमालेको चक्रबाट माटाका भाँडाकुँडा निर्माण गरिरहेको, खर्पनमा सब्जी झुन्ड्याइरहेको व्यक्तिप्रति श्रद्धा प्रकट गर्ने भाष्य निर्माण गर्छौं। हाम्रो सभ्यताको इतिहास लेख्ने मान्छेको रूपमा दलितलगायत अन्य पछि पारिएका जनजाति समुदायको योगदानको कदर गर्ने पाठ्यपुस्तक बनाएर शिक्षालयहरूमा पढाउँछांै। दलित ज्ञान, चेतना, सीप, कलाको अध्ययन, शोध र अनुसन्धानका लागि विश्वविद्यालयहरू अग्रसर बनाउनेछौं। हराएकाहरूको गौरवशाली इतिहास उत्खनन गरेर पढाउँछौं। दलित समुदायलगायत अन्य समुदायले प्रकृति र जीवनसँगको निरन्तर सानिध्यमा रहेर, पौठेजोरी खेलेर, हाड घोटेर साधना गरेर, मेहनतको पसिना बगाएर स्वआर्जन गरेको ज्ञानको संगृहीत निर्मिति हो, दलित ज्ञान, सीप र प्रविधि। जुन सदा गौरव गर्न लायक छ।

मानवता केन्द्रित भएर श्रमको सम्मान गर्दै त्यो समुदाय र वर्गद्वारा सिर्जित सीपलाई पुनर्ताजकीकरण गर्दै पुनस्र्थापित गर्नु जरुरी छ। जित्नेहरूले आफ्नो विजित इतिहास लेखाए। कमजोरहरूले कथा लेख्न सकेनन्, जानेनन्। कति कथा अमान्छे र अन्यायको पक्षमा बने ? हार्नेहरूको कथा सुनिएन ? संसार बदल्नेहरूको कथा लेखिएको छैन। आफ्ना लागि पाठ्यपुस्तक लेखे। आफ्ना मान्छेको जीवनी लेखे तर आममान्छेको समुदायको मुद्दा बोक्ने मान्छेको बारेमा लेखेनन्। सिर्जनशीलता मार्न पाइन्न र हैकम लाद्न पाइन्न। अब सिर्जनशीलहरूको इतिहास लेखिनेछ। हजारौं वर्षदेखि औपचारिक शिक्षा नभए पनि ज्ञान सीप क्षमता र प्रविधि जान्ने कला जान्ने व्यक्ति र समुदायलाई शिक्षित भनिएन। तिनको कर्मको गाथा कोरिएन। कुनै वंश परम्पराको इतिहास लेखियो र लेखाइयो। अब कर्मको इतिहास सुनौला अक्षरमा लेखिनेछ। हामी त्यो गलत थेसिसलाई एन्टी थेसिस लेखेर प्रतिवाद गर्नेछांै।

दलितको कर्मको इतिहास लेख्न बाध्य पार्छांै। सामुदायिक शिक्षा गुणस्तरहीन र अराजनीतिको चपेटामा छ। दुई थरी शिक्षा नीति बनाउने र त्यस्तै जनशक्ति निकाल्ने अनि समताको कुरा गर्न मिल्छ ? पाइलापाइलामा छुवाछूत संस्थागत बन्न दिने अनि समता र मर्यादाको हकको कुरा गर्न उचित छ ? अब कतै कुनामा चेपिएर बसेको दलित ज्ञानको पनि विमर्श हुनेछ। हामी सबै इतिहास झुट भन्दैनौं तर झुट इतिहास च्यातेर सत्य न्याय र निष्ठाको इतिहास लेख्न रच्न र निर्माण गर्न आजको पुस्तालाई आह्वान गछांैं। परम्परागत इतिहासको भजन भनेको नवइतिहास निर्मितिको प्रस्थानबिन्दु पनि हो। इतिहास निर्माता र सभ्यताको विकासको सबै निर्माणको कार्य गर्नेहरू अब पनि अपमानित भएर बस्न सक्दैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.