बन्द भयो गोरखाको पहिलो विद्यालय

बन्द भयो गोरखाको पहिलो विद्यालय
हालै बन्द भएको गोरखाको सबैभन्दा पहिलो विद्यालय सूर्योदय प्रावि । तस्बिर : शिव उप्रेती।
सुन्नुहोस्

गोरखा : गोरखाको सबैभन्दा जेठो विद्यालय बन्द भएको छ । जिल्लामै सबैभन्दा पहिले खुलेको गोरखा नगरपालिका ८ कट्टेलडाँडाको सूर्योदय प्राथमिक विद्यालय हालै बन्द भएको हो ।

गत जेठदेखि विद्यालय बन्द भएको पूर्व प्रधानाध्यापक राजेन्द्र अर्यालले जानकारी दिए । सो विद्यालय २००७ साल फागुन १० गते स्थापना भएको थियो ।

गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरको घरआँगनमै रहेको विद्यालय बन्द भएको हो । सो विद्यालय निर्माणका लागि मेयर परिबारले नै जग्गादान गरेका थिए । राजनीतिक जीवन सुरु गर्नुअघि उनले सो विद्यालयमा स्थायी शिक्षकका रुपमा सेवा पनि गरेका थिए । ‘जिल्लाकै पहिलो विद्यालय बन्द भएको छ । यो अत्यन्तै दुखको कुरा हो’, मेयर रानामगरले भने, ‘सदरमुकाम नजिककैको स्कूल हो । विद्यार्थीहरु सबै बोर्डिङतिर गएको हुँदा विद्यालय बन्द हुन पुगेको हो । यसलाई पुन सञ्चालनका लागि के गर्न सकिएला भन्ने सोचमा छु ।’ मण्टेश्वरीका रुपमा सञ्चालन गर्ने कि भन्ने सोच बनाएको उनको भनाइ छ ।

कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको प्रेरणामा सो विद्यालय खुलेको स्थानीयबासीको भनाइ छ । ‘गोरखामा कम्युनिस्ट पार्टीको स्थापना नै सबैभन्दा पहिले कट्टेलडाँडामा भएको थियो’, स्थानीय बाबुराम अर्यालले भने, ‘पुष्पलालले कट्टेलडाँडालाई नै हेडक्वाटर बनाएर यहाँदेखि बन्दीपुरसम्म कार्यक्षेत्र बनाएर राजनीतिक गतिविधि गर्नुहुन्थ्यो । पार्टीहरु त्यतिबेला प्रतिवन्धित थिए । त्यसैले उहाँ दिनभर नचिनिने गरी सामान्य किसानहरुसंग घुलमिल गरी मेलापात तथा घरको काममा सामेल हुनुहुन्थ्यो । रातसाँझतिर यहाँ राजनीतिक प्रशिक्षण गर्ने, पार्टीको गतिविधि गर्ने गर्नुहुन्थ्यो । त्यतिबेला उहाँकै सल्लाह, सुझाव र प्रेरणाले यो विद्यालय खुलेको हो ।’ इतिहास बोकेको विद्यालय बन्द हुनु दुखद भएको भन्दै उनले यसलाई पुन जगाउनु पर्ने तर्क गरे ।

‘इतिहास बोकेको विद्यालय बन्द भएपछि अहिले हामी सबै स्थानीयबासीलाई चिन्तित बनाएको छ’, उनले भने, ‘यसलाई पुन: जगाउनु पर्छ भन्ने सबै अभिभावकको मनमा छ । तर कसरी जगाउन सकिएला भन्ने उपाय भने पत्ता लागेको छैन ।’ आर्थिक रुपमा जति गरिब भए पनि अभिभावकहरु सन्तानलाई राम्रो शिक्षादीक्षा दिएर भविष्य बनाउनुपर्छ भन्ने हेतुले छोराछोरी बोर्डिङस्कूलतिर पठाएकाले विद्यालय रित्तिएको उनको भनाइ छ । 

यस शैक्षिकसत्रमा नयाँ भर्ना सुन्य भयो । पुराना विद्यार्थीहरु पनि कोही सरस्वती मावि आहाले र वल्डक्यापिटल बोर्डिङस्कूल गएकाले सो विद्यालय बन्द भएको स्थानीय अभिभावक सुस्मिता रानाले बताइन् । 

आमडाँडामा स्थापना हुनुअघि सो विद्यालय लाहुरेमारे चौतारामा स्याउलाको छाप्रो बनाएर स्थापना गरिएको स्थानीय ९५ बर्षका मुक्तिनाथ अर्यालले बताए । त्यतिबेलाका संस्थापक शिक्षक पण्डित द्रोणाचार्य कट्टेल हुन् । करिब पाँच, छ बर्ष पढाएर उनको निधन भएपछि गंगादत्ता र मुक्तिनाथ कट्टेलले पढाउन सुरु गरे । 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलका पिता कुलप्रसाद कट्टेल सो विद्यालयका प्रथम सरकारी मान्यताप्राप्त शिक्षक हुन् । उनलाई सरकारले ७५ रुपैयाँ मासिक तलबमा नियुक्त गरेको त्यतिबेला समितिमा रहेर काम गरेका मुक्तिनाथ अर्याल बताउँछन् ।

राजनीतिक चेतका कारण यहाँ विद्यालय स्थापनाको लहर चलेको पूर्व प्रअ राजेन्द्र अर्यालको भनाइ छ । ‘यताका मान्छे प्रगतिशील कवि केवलपुरे किसानका कविता असाध्यै रुचाउँथे । स्कुल खोलेर पढ्न पाइयो भने, केवलपुरे किसानका सबै कविता पढ्न सकिन्छ भनेर स्कुल खोलेका हुन् भनेर हाम्रो अग्रजहरुले भन्नुहुन्थ्यो’, उनले भने, ‘अहिले समय बदलियो । यो स्कूलकै आँगनबाट दुईवटा स्कूलका बस कुद्छन् । टाइसुट लगाएका बालबालिका गाडीमा ठूलो स्कूल गएको देख्दा यहाँ बालबच्चा पढाउने अरु अभिभावक पनि लोभिएर आफ्ना छोराछोरीलाई उनीहरुसंग मिसाइदिए । यो रित्तियो ।’ नगर शिक्षा कार्यालयले यहाँ कार्यरत दुवैजना शिक्षकलाई सरस्वती मावि आहालेमा र एकजना इसिडी सहयोगी कायकर्तालाई नवज्योति मावि डण्डीडाँडामा व्यवस्थापन गरेको छ ।

२००७ सालमा गोरखामा तीनवटा विद्यालय स्थापना भएका थिए । सबैभन्दा पहिले कट्टेलडाँडाका सूर्योदय स्कूल । यो २००७ सालको फागुन १० गते स्थापना भएको हो । त्यसपछि भीमसेनथापा गाउँपालिका ३ तान्द्राङस्थित संस्कृत मावि । यो २००७ साल फागुन १७ गते स्थापना भएको प्रधानाध्यापक श्यामप्रसाद लामिछानेले जानकारी दिए । त्यसपछि आरुघाट गाउँपालिकाको आरुघाट बजारस्थित भीमोदय मावि २००७ साल चैत २४ गते स्थापना भएको त्यहाँका प्रधानाध्यापक मनप्रसाद बञ्जराले जानकारी दिए ।

२००७ सालमा खुलेका यी तीनवटै विद्यालयलाई २०६८ सालमा शिक्षा विभागले सम्मान गरेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सुवास आचार्यले बताए ।

सूर्योदय प्राविको क्षेत्रभित्र करिब दुईसय घरधुरी छ। २० बर्षअघिसम्म यो विद्यालयमा १८० जनाभन्दा धेरै विद्यार्थी हुन्थे । तर अहिले घरधुरी साविकै भए पनि विद्यार्थी संख्या सुन्य भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.