राजनीतिक निष्ठाका सुवास

राजनीतिक निष्ठाका सुवास
फाइल तस्बिर।
सुन्नुहोस्

निधनपछि व्यक्तिका अवगुण र कमजोरी बिर्सेर गुणमात्रै सम्झने नेपाली समाजको चरित्र हो। राजनीतिकर्मी सुवास नेम्बाङका हकमा भने त्यो चरित्रमात्रै प्रकट भएको मान्न सकिन्न। उनी कमजोरीबिनाका मानिस त होइनन्, तर धेरै गुणले युक्त राजनीतिकर्मी अवश्य हुन्।

दलीय राजनीति भएको मुलुकमा एउटा पार्टीको नेता भएर सबै दलका नेता र समर्थक तथा आमजनताको पनि प्रिय हुन सक्नु भनेको दुर्लभ हो। हो, त्यही विरलाकोटी नेता थिए सुवास नेम्बाङ। जसको मंगलबार बिहान भएको अप्रत्याशित निधनबाट राजनीतिक वृत्तमात्रै होइन, देशको सम्पूर्ण सचेत वर्ग मर्माहत भयो। उनी कतिसम्म सर्वप्रिय थिए भन्ने दृष्टान्त उनी चार/चार पटक सभामुख/अध्यक्ष हुनु पर्याप्त हो। २०६३ सालमा पुनस्र्थापित संसद्देखि संविधानसभासम्म गरी कहिले सभामुख त कहिले अध्यक्षको जिम्मेवारी पाउँदा उनी सबै दलबाट स्वीकार्य भएकैले सर्वसम्मत रूपमा चुनिएका थिए। 

तीसको दशकभन्दा अघिदेखि नै राजनीतिमा सक्रिय भएर पनि पढाइलाई समेत निरन्तरता दिएकैले उनी कानुनका प्रखर ज्ञाता बनेका थिए। पञ्चायत विरोधी आन्दोलनका क्रममा जेल जीवन बिताउनु, आफूले अँगालेको कानुन व्यवसाय पेसामार्फत बहुदलका पक्षमा माहोल बनाउन नेतृत्व गर्नुलगायत उनका योगदान छँदै थिए। २०४८ सालमै राष्ट्रियसभा सदस्य भएपछि २०५१ पश्चात् कानुन तथा न्याय मन्त्री बनेर उनले मुलुकमा पहिलोपटक मनमोहन अधिकारी नेतृत्वमा बनेको कम्युनिस्ट सरकारलाई विधिको शासन र लोकतान्त्रिक पद्धतिमा हिँडाउन गतिलो सदस्यको भूमिका खेले। 

२०५६ सालदेखिका सबै निर्वाचनमा गृहजिल्ला इलामको क्षेत्र नम्बर २ बाट सधैं निर्वाचित भएर जनप्रतिनिधि बनेपछि कानुन निर्माणको आफ्नो पहिलो दायित्वमा कहिल्यै चुकेनन्। संविधानसभामार्फत संविधान जारी गर्न अध्यक्षको जिम्मेवारीमा रहेर कुशल नेतृत्व प्रदान गरे। त्यसैको फल आज नेपालसँग संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र धर्म निरपेक्षितासहितको संविधान छ। दलहरूबीच अनेक मतभेद हुँदाहुँदै सबैलाई मिलाएर सहमति जुटाउन अध्यक्षका हैसियतमा नेम्बाङले मियोको भूमिका नखेलेको भए संविधान जारी हुन कठिन थियो। सभामुखका हैसियतमा निर्वाह गर्नुपर्ने तटस्थ र निष्पक्ष भूमिकामा उनले कसैलाई औंला ठड्याउने मौका दिएनन्।

मृदभाषा, शालीन र सौम्य शैलीमा आफ्ना विचार प्रकट गर्ने र सदाबहार हंशमुख चेहेरामा देखिने नेम्बाङले व्यवहारतः प्रकट गरेको असल राजनीतिक संस्कार र कुशल नेतृत्वको अभाव सधैं खट्किरहनेछ। नेपाली राजनीतिमा उनले छर्केर गएको निष्ठा, इमानदारी र सुसंस्कारको सुवास अमिट रहनेछ। शालीनताका प्रतिमूर्ति सुवासलाई हार्दिक श्रद्धाञ्जली।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.