उदयपुरको रौतापोखरीमा हाट बजार
![उदयपुरको रौतापोखरीमा हाट बजार](https://annapurnapost.prixacdn.net/media/albums/rauta-hatbazar-3_m1FcfH2dzt_fKHooYJFSm.jpg)
उदयपुर : ग्रामिण भेगका कृषिजन्य वस्तुको बजारीकरणका लागि उदयपुरको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र रौतापोखरीमा हाट बजार व्यवस्थापन गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइ कार्यालय उदयपुरको सहयोगमा मिर्मिरे कृषक समूहले रौतामाई गाउँपालिका ६ वडा कार्यालय नजिक कृषि बजार तथा संकलन केन्द्र निर्माण गरेसँगै बजार व्यवस्थापन सुरु गरिएको हो ।
नवनिर्मित टहराको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेतले उद्घाटन गरेसँगै वडा कार्यालयको समन्वयमा बजार व्यवस्थापनका सुरू गरिएको समूहका अध्यक्ष दिपिन्द्र बस्नेतले बताए । परियोजना कार्यालयको १२ लाख ५० हजार, उपभोक्ता सहभागिता २ लाख २१ हजार ४४३ रुपैयाँको लागतमा संकलन केन्द्र निर्माण गरिएको उनले बताए ।
संकलन केन्द्रमा स्थानीय उत्पादित सुन्तला, नासपाती, काक्रा, अलैँची, तोरी, कोदो, फापर, मकै, जुनेलो स्कुस, फर्सी र स्कुसको मुन्टा, तामा, रायोको साग, टमटर, खुसार्नीलगायतका कृषिजन्य वस्तुहरू राखिने उनले बताए ।
बस्नेतले भने,‘गाउँघरमा कृषिजन्य वस्तु उत्पादन धेरै छ,तर बजारको अभाव हुँदा पशुचौपायलाई खुवाएर पनि बारीमै सड्ने गरेको छ ।' उनले उत्पादित वस्तु सबै बिक्री हुने भए प्रति घर वार्षिक दश लाखभन्दा बढि आम्दानी गर्न सकिने बताए ।
वडाध्यक्ष पृथ्वीबहादुर राईले भने,'कृषिजन्य वस्तु उत्पादनका लागि पालिकाका आठवटा मध्ये हावापानी, माटोको हिसाबले सबैभन्दा उपयुक्त वडा रहेको बताए । उनले सुन्तला जोन क्षेत्र आफ्नै वडामा रहेको र तरकारी उत्पादनमा कसैले प्रतिसपर्धा गर्न नसक्ने ठोकुवा गरे ।
‘बजार कहाँ लगाउने भन्ने केहि समस्या थियो त्यो अब टरेको छ,'उनले भने, ‘प्रत्येक दिन संकलन केन्द्र खोल्छौ र सामान बिक्री गर्छौं यसको अलावा बुधबार र शनिबार विशेषगरी हाटबजार लगाउँछौं । दिनभर बिक्री गर्ने बिक्री नभएका वस्तु घर नलैजाने गरी संकलन केन्द्रमा नै सुरक्षितसाथ राख्ने व्यवस्था मिलाइएको समूहका सचिव तिलकबहादुर कार्कीले बताए ।
हाटबजार धार्मिक तथा पर्यटकीय महत्व रहेको रौतापोखरी, पालिकाको केन्द्र तथा अन्य वडा र खोटाङ्ग विभिन्न ठाउँबाट आउजाउ गर्ने मुख्य सडकमै रहेको छ । सचिब कार्कीले अर्गानिक तरकारी तथा फलफूलका लागि एकछिन गाडी रोकेर खरिद गरी लैजाने गरेको बताए ।
स्थानीय ललन विकले संकलन केन्द्र स्थापना र हाटबजार व्यवस्थापनले किसानलाई ठूलो राहत पुगेको बताए । उनले भने,‘उत्पादनमा समस्या छैन्,बिक्रीका लागि समस्या थियो, अब त्यो पनि समाधान भएको छ, त्यसैले वडाबासी किसानको अवको मिसन उत्पादन नै हो ।'
स्थानीय कुमार विकले बजार अभावकै कारण किसानले लाखौंको कृषिजन्य वस्तु कुहिएर त्यसै खेर गएको बताए । ‘बिक्रीका लागि सदरमुकाम ल्याउने पर्ने बाध्यता थियो,' उनले भने, ‘महंगो गाडी भाँडा र समयको हिसावले दुई दिन लाग्ने भएकाले थोरै ल्याउने कुरा भएन, धेरै ल्याउँदा विग्रनै डर त्यसैले अधिकांश किसानको बारीमै कुहिन्थ्यो ।'
कृषि संकलन केन्द्रको उद्घाटन गर्दै प्रमुख प्रशासकीय अधिकृ बस्नेतले अर्गानिक उत्पादन भएकाले बजारीकरणका लागि गाउँपालिका सहकार्य गर्न तयार रहेको बताए । उनले भने, ‘प्रकृति र संस्कृतिको अनुपम क्षेत्र रहेकाले हावापानी, रहनसहन अनुसार कृषि उत्पादनमा लाग्नुस तपाईंहरुको पछाडि गाउँपालिका छ ।'
कृषि उत्पादनमा प्रत्यक्षरुपमा सहयोग गर्दै आएको हुरेण्डेकका अध्यक्ष शंकरबहादुर थापाले रौताका किसानले उत्पादन गरेका कृषिजन्य बस्तुको बजारीकरणका लागि समस्या नभएको बताए । उनले भने, ‘अधिकांशको रोजाइ अर्गानिक छ, त्यो चिज यहाँ छ, गाडी नपाउँदा समस्या थियो अब गाडी, हाटबजार दुबै छन्, त्यसैले बक्रीमा समस्या हुन्न ।'
उनले कृषिलाई आधुनिकीकरण गर्दै उत्पादनमा जोड दिनेगरी नयाँ कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)