नवौंपटक म्याद थपिँदै,कार्य प्रगति ८५%
गोरखा : मध्यपहाडी लोकमार्गअन्तर्गत गोरखा खण्डको काम कछुवा गतिमा अघि बढेको छ। गोरखाभित्र पर्ने ६३ किलोमिटर सडकमध्ये हालसम्म जम्मा ३० किलोमिटर मात्र कालोपत्र भएको सो लोकमार्गको गोरखास्थित कार्यालयले जनाएको छ। गोरखा खण्डलार्र्ई कार्यालयले चारवटा प्याकेजमा ठेक्का लगाइ काम गरेको छ।
‘आरुघाटबाट ओख्लेसम्मको १३ किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का लगाएको २०७१/०७२ मा हो। आठचोटी म्याद थप भइसक्यो। अब नवौंचोटी म्याद थप्ने तयारी भइरहेको छ’, कार्यालयका सूचना अधिकारी विदुर सुवेदीले भने, ‘कामको प्रगति जम्मा ८५ प्रतिशत भएको छ।’ सो कामको ठेक्का रसुवा, इलाइट, सूर्य जेभी कम्पनीले पारेको हो। काम भने इलाइट कम्पनीले गरिरहेको छ।
त्यस्तै ओख्लेदेखि निवेलसम्मको १६ किलोमिटर लोकमार्ग निर्माणको जिम्मा एमपी, सूर्य, इलाइट जेभी कम्पनीले लिएको हो। आर्थिक वर्ष २०७२/०७३ मा लिएको ठेक्काको आठ वर्ष बितिसक्दा जम्मा ७० प्रतिशत मात्र काम सकिएको सुवेदीले बताए। ‘यो कामको पनि पाँचपटक म्याद थपिसकिएको हो। अब छैठौँपटक थप्ने तयारी छ’, मध्यपहाडी लोकमार्गको गोरखास्थित कार्यालयका सूचना अधिकारी सुवेदीले भने।
तेस्रो खण्ड निवेल, मसानेठाँटी खण्डको काम भने तुलनात्मक रूपमा राम्रोसँग भइरहेको कार्यालयले जनाएको छ। १२ किलोमिटर सो खण्डको काम आशिष डीएस निर्माण कम्पनीले सम्पन्नको नजिक पुर्याएको सूचना अधिकारी सुवेदीले बताए। एघारकिलो बारपाक सडकखण्ड अन्तर्गत पर्ने सो सडक यसअघि एघारकिलो, छेपेटार, भालुस्वाँरा सडक योजना कार्यालयले ट्र्याक खन्ने काम गरेको थियो। २०७७ सालदेखि स्तरोन्नतिको जिम्मा लिएर अहिले निर्माण सम्पन्न गरेको मध्यपहाडी सडक योजना कार्यालयले जनाएको छ।
सबैभन्दा धेरै अलपत्र मसानेठाँटी–पालुङटार खण्डअन्तर्गत १६ किलोमिटर सडकको छ। यस खण्डको काम अहिलेसम्म जम्मा ३० प्रतिशत मात्र प्रगति भएको सूचना अधिकारी सुवेदीले बताए। उनका अनुसार सो सडक स्तरोन्नतिको काम हिमडुङ प्यासाफिक जेभी कम्पनीले गरेको हो। ‘वन क्षेत्र भएकाले लामो समयदेखि अनिर्णीत अवस्थामा रह्यो। बल्लतल्ल वन गत वर्ष वन क्षेत्रको रुख कटान गर्न मिल्ने पक्षमा फैसला भएपछि अब काम अघि बढ्ने कार्यालयले अपेक्षा गरेको छ।
पालुङ्टारदेखि पाउँदीखण्डअन्तर्गत गोरखाभित्र पर्ने छ किलोमिटर सडक स्तरोन्नति गर्ने काम सम्पन्न भइसकेको उनले बताए। सडक स्तरोन्नति गर्ने काम लामो समयदेखि अलपत्र हुँदा आवतजावतमा निकै कष्टकर भएको स्थानीयबासीको गुनासो छ। ‘हामीले चिन्ने भनेको स्थानीय सरकार हो। स्थानीय सरकारलार्र्ई गुहार गरेको गर्यै छौँ। उनीहरू पनि भनिरहेका छौँ मात्रै भन्छन्’, भीमसेनथापा गाउँपालिका–१ का स्थानीय भीमसेनकाजी बानियाँ भन्छन्, ‘सडक खनेको ठाउँको माटो कमजोर रहेछ। पानी पर्न थालेपछि घरै बगाउला जस्तो छ। न सडक कालोपत्रे भयो, न पहिरो जाने ठाउँहरूमा पक्की पर्खाल लगाए।’
प्रतिक्रिया दिनुहोस !