उत्तरी गोरखाबाट चीन जोड्ने दुवै नाका खुल्यो, स्थानीय खुशी

उत्तरी गोरखाबाट चीन जोड्ने दुवै नाका खुल्यो, स्थानीय खुशी
तिब्बतको सीमानामा रहेको रुइला नाका ।
सुन्नुहोस्

गोरखा : चार वर्षदेखि बन्द रहेको उत्तरी गोरखाबाट चीन जोड्ने दुवै नाका खुलेको छ । २०७६ सालको पुसदेखि बन्द रहेको चुमनुब्री गाउँपालिका १ को रुइला नाका र वडा नं. ७ को ङुइला नाका गत मंगलबारबाट खुलेको हो ।

‘प्रवेश परिचयपत्र लिएर आऊ भनेको छ । अब जिल्ला प्रशासन कार्यालयबाट परिचयपत्र बनाएर जाने तयारी भइरहेको छ’, वडा नं. १ का अध्यक्ष कर्मा छेवाङ लामाले भने, ‘कार्ड हुनेको नवीकरण गर्नुपर्नेछ । कार्ड नहुनेको नयाँ कार्ड बनाउनु पर्नेछ ।’ दुई दिनअघि नाका खुले पनि स्थानीयबासी आवतजावत गर्न भने नपाएको उनले बताए । ‘गाउँलेको कार्ड बनाउन भनेर हामी सदरमुकाम आएर बसेका छौँ’, उनले भने ।

'पहिले त नागरिकता देखाएपछि चिनियाँ अधिकारीले आवतजावत गर्न दिन्थ्यो, तर यसपटक नागरिकताले मात्र हुँदैन भनेर प्रवेश परिचय पत्र पनि माग्यो । चार वर्षदेखि कसैको पनि परिचयपत्र नवीकरण भएको छैन । त्यसले गर्दा स्थानीयबासी आवतजावत गर्न पाएका छैनन्’, वडा नं. २ का अध्यक्ष मिङ्ग्यूर दोर्जे लामाले भने, ‘हामी दुईवटा वडाका अध्यक्षहरु परिचयपत्र छिटोभन्दा छिटो नवीकरण गरिमाग्न जिल्ला प्रशासन कार्यालयमा आएका छौँ । 

यहाँ जिल्ला प्रशासन कार्यालयले पनि गृहमन्त्रालयबाट लिखित आदेश आएपछि मात्र प्रक्रिया अघि बढाउन मिल्छ भन्यो ।’ परिचयपत्रका कारण तिब्बती बजारमा सामान किन्न जान ढिलो भएको उनले बताए ।

गत मंगलबारबाट नाका खुल्छ भन्ने खबर चिनियाँ अधिकारीबाट पाएपछि ल्ही र स्योका २७ जना स्थानीयबासी सामान किनमेल गर्न चिनियाँ बजारतर्फ गएका थिए । तर चिनियाँ अधिकारीले प्रवेश परिचयपत्र अनिवार्य चाहिन्छ भनेर खबर गरेपछि ल्ही र स्योका बासिन्दाहरु साम्दोमा अलपत्र परेका छन् । ‘हाम्रो गाउँका मान्छे चाइनाको बजार जाने भनेर घोडा लिएर, भारी बोकेर गएको ३ दिन भयो । उनीहरु ३ दिनदेखि साम्दोमै अलपत्र परेर बसिरहेका छन्’, मिङ्ग्युर दोर्जेले भने, ‘कार्ड बनाएर पठाउन पनि सकिएन । फिर्ता बोलाउन पनि सकिएन । अझै कार्ड कहिलेसम्म नबन्ने हो, त्यतिञ्जेलसम्म गाउँलेहरु साम्दोमा आफू के खाने, घोँडालाई के खुवाउने ? बिचल्ली भयो ।’ नाका खुल्यो भनेपछि खुशीले गद्गद् भएका गाउँले परिचयपत्र बनाउन नसकेर सास्ती पाउँदा दुखी भएको उनको भनाइ छ । ‘हामी दुर्गमका जनता जसो गर्दा पनि दुख मात्र पाउँछौँ’, उनले गुनासो गरे ।

नाका खुलेपछि छेकम्पारका बासिन्दा पनि खुशी भएका छन् । लामो समयपछि नाका खुल्दा स्थानीयबासी खुशी भएका उनले बताए । ‘गहुँ, जौ भित्र्याएर पनि सकियो । अब नाका खुलेको समाचार सुनेर गाउँले खुशी भएका छन्’, उनले भने, ‘परिचयपत्र लिएर आउनु भनेको छ । अब कसैको नयाँ परिचयपत्र बनाउनु पर्नेछ, कसैको नवीकरण गर्नुपर्ने छ । परिचयपत्र बनेपछि सामान किन्न जाने तयारीमा छौँ ।’

कोभिडको कारण देखाउँदै चीन सरकारले नेपालसँगका सबै नाका बन्द गरेको थियो । कोभिड महामारी साम्य भएको लामो समयपछि नाका खुल्ला गरेको हो । 

चिनियाँ सरकारले नाका खोल्ने निर्णय गरे पनि नेपालको गृहमन्त्रालयले बन्द गरेको परिचय पत्र बनाउने काम खुल्ला गरेको छैन । ‘सीमा वारपार गर्ने परिचय पत्र बनाउन र नवीकरण गर्न गृहमन्त्रालयले नै बन्द गरेको हो । हाम्रो तजबिजले बनाउन मिल्दैन’, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले भने, ‘गृहबाट आदेश आउनेबित्तिकै यहाँ रोकिन्न ।’

तिब्बती नाका बन्द हुँदा चुमनुब्री गाउँपालिकाका बासिन्दा दैनिक उपभोग्य सामग्री महंगो भाडा तिरेर आरुघाट, आर्खेतबाट खच्चडमार्फत ढुवानी गरेर लैजान बाध्य थिए । तल्लो बजारबाट सामान ओसार्न तीन दिनभन्दा धेरै लाग्ने उनीहरुको भनाइ छ ।

नाका खुल्यो भने गाउँभन्दा १६ किलोमिटर नजिक रहेको रुइला नाकामा सामान किन्न पाउँछन् । आफ्नै याक, चौँरी, घोँडामार्फत ढुवानी गरेर सामान ल्याउन पाउँदा सस्तोमा सामान उपभोग गर्न पाउने स्थानीयबासीको भनाइ छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.