चुल्होमा जलिरहेको अवस्थामा भेटिएकी महिलाको मृत्यु
विराटनगर : मोरङको ग्रामथानमा घरभित्रै चुल्होमा जलिरहेको अवस्थामा भेटिएकी महिलाको अस्पताल पुर्याउनसाथ मृत्यु भएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले ग्रामथान गाउँपालिका–४ मोतीपुरकी अन्दाजी ४५ वर्षीया भेडियनदेवी माझीको मृत्यु भएको जानकारी दिए।
प्रहरीका अनुसार भान्सा घरभित्र चुल्होमा खाना पकाइरहेकी उनलाई शनिबार बिहान ७:३० बजेतिर आगोमा परेर जलिरहेको अवस्थामा छोरीले देखेकी थिइन्।
भान्सामै लडिरहेको र आगोले जलिरहेको घाइते अवस्थामा देखेपछि माझीलाई उद्धार गरेर उपचारका लागि विराटनगरको आर्या न्यूरो अस्पताल ल्याइएको थियो। अस्पताल ल्याइ पुर्याउन साथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। परिवारका सदस्यले प्रहरीलाई दिएको जानकारी अनुसार माझीलाई उच्च रक्तचापको समस्या थियो। रक्तचापका कारण भान्सामै ढलेर चुल्होमा परेपछि आगोले जलेको हुनसक्ने प्रहरीको अनुमान छ।
शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी दाहालले बताए।
प्रतिक्रिया दिनुहोस !