चिकित्सक आन्दोलित : उपचार सेवा ठप्प, बिरामीको बिचल्ली
चितवन : उपचारका लागि अस्पताल पुगेका बिरामी आइतबार निराश हुँदै घर फर्किए । अस्पतालमा जचाउन पुगेका बिरामी टिकट काउण्टर पुग्दै फर्किए । न चिकित्सक भेट्न पाए न उपाचर नै गराउन पाए । दैनिक दुई हजार बिरामी आउने भरतपुर अस्पतालको ओपीडी कक्ष सुनसान थियो ।
हेटौडामा चिकित्सक कुटनेलाई कारबाहीको माग गर्दै देशभरका चिकित्सक ओपीडी सेवा बन्द गरेर आन्दोलित बनेका छन्। ज्यानको सुरक्षा नभएको भन्दै उनीहरू सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिएका हुन्। । चिकित्सकको आन्दोलनका कारण बिरामी मारमा परेका छन्।
आन्दोलनरत चिकित्सकहरूले हातमा कालोपट्टी र ब्यानरसहित विरोध गरे ।
आन्दोलन कुनै रहर नभएर बाध्यता भएको चिकित्सकको भनाइ छ । शारीरिक र मानसिक रुपमा त्रसित भएको दु:खेसो गर्दै उनीहरूले सुरक्षाको माग गरेका छन् । नेपाल चिकित्सक संघ चितवन सचिव डा. सूर्यप्रसाद सापकोटाले चिकित्सकको ज्यान जोखिममा परेको भन्दै सुरक्षाको लागि आन्दोलनमा उत्रिएको बताए ।
‘कहाँ कतिबेला चिकित्सकले कुटाइ खान्छ भन्ने भएन । डरैडरमा कसरी बिरामी जचाउन सकिन्छ र ? यो हाम्रो रहर होइन बाध्यता हो ,’ उनले भने । कुटपिटमा संलग्न भएकालाई पक्राउ नगरेकोमा उनीहरूको आपत्ति छ । चितवनमा भरतपुर अस्पताल,वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ,दुई मेडिकल कलेजसहित अन्य साना अस्पतालमा ओपीडी सेवा बन्द हुँदा बरामीहरू घर फर्किन बाध्य भए ।