मुठिदानले फेरिँदै जनमुखी विद्यालयको मुहार

मुठिदानले फेरिँदै जनमुखी विद्यालयको मुहार

बर्दिवास : विद्यालयका बालबालिकालाई खाजा त खुवाइन्थ्यो तर, कागजको पातमा। गाउँमै खाजा पकाएर विद्यालयमा ल्याइन्थ्यो। कारण विद्यालयमा खाजा पकाउने न भाँडाकुँडा थियो न त खुवाउने प्लेट, चम्चा र पानी खाने गिलास नै। खेल खेले सानो मैदान थियो तर, खेल सामग्रीको अभाव उस्तै। विद्यालय परिसर उराठ लाग्दो थियो। 

यस्तै समस्याको चाङले थिचिएको महोत्तरीको बर्दिबास नगरपालिका-९ पशुपतिनगरस्थित जनमुखी आधारभूत विद्यालय। जहाँ न सरकारको नजर पुगेको थियो  न त गाउँले नै गम्भीर भएका थिए। यस्तै समस्याको पहाडसँग लड्दै-भिड्दै २७ वर्ष आफ्नो काँखमा राखेर बालबालिकालाई शिक्षा दिएको मधेसको यो विद्यालयका बालबालिकाहरू स्कूलमा खुशी भएर खाजा खान्छन्, रमाइरमाई खेल्छन् अनि कक्षा कोठामा पढ्न थालेका छन्।

अभियानमार्फत विद्यालयको रूपान्तरण

मुठ्ठीदान अभियानबाट विद्यालयको शैक्षिक तथा भौतिक समस्या धमाधम समाधान भइरहेको छ। युवाहरूले यस्तो अभियान चलाएका हुन्। गुमनाम रहँदै आएको जनमुखी आधारभूत विद्यालयले चर्चा बटुलेको छ। विद्यालय रूपान्तरणका लागि युवा अभियन्ताहरूले अभियान नै चलाएका छन्। दाताहरूले विद्यालयमा नगद , जिन्सी तथा प्राविधिक सहयोग गरिरहेका छन्। शैक्षिक सामग्री, खेलकुद सामग्री, खाजा पकाउने ग्याँससेट, भाँडाकुडा, निर्माण सामग्री लगायतका सरसमान एकपछि अर्को गरी विद्यालयले प्राप्त गरिरहेका छन्।

‘अब स्कूल त राम्रो बन्दै गयो। हाम्रो विद्यालयमा नयाँ चौतारा बन्यो। हामी त्यहाँ बसेर घाममा बसेर खेल्छौं। स्कूलमा खेल खेल्ने फुटबल, भलिबल, ब्याडमिन्टन ल्याइएको छ ,’ कक्षा चारमा पढ्ने बालिका रुवी मण्डल भन्छिन्, ‘ खेल्दा थाकेपछि चौताराको छाँयामा आराम गछौं।’ अब कागजको प्लेटमा खाजा खाने दिन गएको खुशी सुनाउँदै उनले भनिन्, ‘ अब त स्कूल आउ, आउ लाग्छ। हामी बिहानदेखि बेलुकासम्म स्कूलमै खेल्दै पढ्दै रमाउँछौं। अहिले बिरुवाहरू रोपिँदै छ। गार्डेन बन्दै छ। हामीलाई सहयोग गर्न धेरै मान्छेहरू आइराख्नुभएको छ।’

हालै नेपाल रेडक्रस सोसाइटी उपशाखा बर्दिबासले विद्यालयलाई शैक्षिक सामग्री, दिवाखाजको लागि प्लेट चम्चा, भाडावर्तन, खेलकुदका सामग्री- क्यारेमवोर्ड, फुटबल दिएका छन्।  गार्डेनमा रोपन  फलफूलको विरुवा उपलब्ध गराएका छन्।  उपशाखाका सभापति सुदिप कार्की भन्छन्, ‘अभियानकर्मीहरूले विद्यालयको अवस्था बारे जानकारी गराए। हामीले रेडक्रस संस्था लगायत विभिन्न सहयोगिहरूबाट झण्डै एक लाख बराबरको सहयोग संकलन गरेर सामग्री हस्तारन्तरण गर्‍यौं।’ विद्यालयलाई निरन्तर सहयोग गर्ने उनले जनाए। रेडक्रसको ६१ औं स्थापना दिवसमा स्कूलमा आँखा जाँच तथा दन्त परीक्षण शिविर सञ्चालन गरिएको थियो।

रेडक्रसबाट प्राप्त सहयोगले विद्यालयको शैक्षिक क्रियाकलापमा  सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक धर्वेन्द्र महतोले बताए। ‘विद्यालय एका एक यसरी रूपान्तरण हुन्छ भनेर हामीले सोचेका थिएनौं।  जब पत्रकार राजकरण महतोले एक महिना अगाडि आफैले २२ हजार २२२ रूपैयाँ दिएर विद्यालय रूपान्तरण अभियानमा घोषणा गर्नुभयो। त्यसपछि विद्यालयलाई सहयोग गर्ने दाताहरूको भिड लाग्न थालेको छ।’ यो अभियानमा देशको जेठो विद्यायल राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीको पनि अभिभावकीय सहयोग पाएको उनले बताए। विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलले स्कूललाई घडी सहयोग गरेर विद्यालय रूपान्तरणका लागि सरोकारवालालाई समयको बोध गराएको उनले बताए। 

केही महिना पहिले विद्यालयमा स्थानीय युवा रामेकवाल महतोको नेतृत्वमा विद्यालय व्यवस्थान समिति बन्यो। शिक्षक संजित कुमार महतोको पदस्थापन भयो। अनि उनीहरूले विद्यालय विकासका लागि अन्नपूर्णकर्मी राजकरण महतोलाई विद्यालयमा बोलाएर समस्या सुनाए। उनले विद्यालयको भौतिक, शैक्षिक समस्या समाधान गर्न साउन ३१ गते चौताराको शिल्यान्यास गर्दै ‘विद्यालय रूपान्तरण अभियान’ घोषणा गरे। अभियान घोषणपछि उनको पहलमा दाताहरूलाई विद्यालय विकासमा सहयोग गरिरहेका हुन्।

अभियानअन्तर्गत विद्यालयमा चौतारा, वाल उद्यान, गार्डेन, कक्षा कोठा निर्माण, भौतिक संरचनाको मर्मत सम्भार लगायतका काम गर्ने योजना बनाइएको छ। मुठ्ठी दान अभियान चलाएर विद्यालयको विकासका लागि स्थानीयस्तरबाट सहयोग जुटाइँदैछ। विद्यालयलाई बालमैत्री, प्रकृतिमैत्री तथा गुणस्तर शिक्षामा जोड दिनु अभियानको मुख्य मर्म रहेको छ। 

विद्यालय विकासका लागि पाँच करोड 

नमूना विद्यालय बनाउने अठोट छ। योजनाबद्ध काम थालिएको छ। अभियानअन्तर्गत सिभिल इन्जिनियर  मनोज महतोले विद्यालयमा आवश्यक भौतिक पूर्वधारका तयारीका लागि नक्सा डिजाइन तयार गरेर सहयोग गरिरहेका छन्। 

अर्का सामाजिक अभियन्ता निल बहादुर लुम्रेले शैक्षिक तथा भौतिक पूर्वाधार निर्माणका लागि प्रस्तावनाहरू तयार गरेका छन्। विद्यालयको सौन्दर्यीकरण, भौतिक पूर्वाधार तथा शैक्षिक सुधारका लागि झण्डै ५ करोड लाग्ने अनुमान रहेको इन्जिनियर महतो बताउँछन्।  उनका अनुसार अहिले विद्यालयमा गार्डेनको भौतिक संरचना तयार भइरहेको छ।  

विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि भवन निर्माण, शिक्षक व्यवस्थापन, शैक्षिक सामग्रीहरूका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग उपलब्धका लागि विद्यालयले एक समारोहका बीच बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

विद्यालयका प्रधानाध्याक धवेन्द्र महतोका अनुसार, विद्यालय विकास योजना अनुसार विद्यालय विस्तारका लागि तुरुन्तै जग्गा ३ कठ्ठा जग्गा किन्नु पर्ने आवश्यकता छ।  पठ्नपाठनका लागि ९ वटा कक्षा कोठा थप्नु पर्ने भएको छ।  उनले भने, ‘विद्यालयका रहेको ६ वटा कोठाको पुरानो भएर एक झर पानी परेर चुहिररहेको छ। तुरुन्तै जस्तापाता फेर्नु पर्ने अति आवश्यक छ। ’आधुनिक प्रविधिसहितको बालविकास कक्षा निर्माण तत्कालै गर्नु पर्ने उनले जनाए।

खाजा पकाउन र खुवाउनका लागि तुरुन्तै चमेना गृह विद्यालयलाई आवश्यक रहेको छ। बच्चाहरूलाई  आधुनिक शिक्षाका लागि  कम्प्युटर ल्याब निर्माण गर्नु पर्ने छ। प्रशासनिक कामका १ थान ल्यापटप र प्रोजेक्टर चाहिएको प्रधानाध्यापक महतोले बताए।

योजना अनुसार पठनपाठनका लागि तत्काल २० थान डेक्सबेन्च चाहिएको छ। बालउद्यानको सामग्री, लाइब्रेरी, अफिस व्यवस्थापन, खानेपानी फिल्टर, ६ थान कक्षा टेबल र स्मार्ट बोर्ड चाहिएको छ। शैक्षिक सुधारका लागि  २ जना शिक्षक र १ जना सुरक्षा गार्ड आवश्यक छ।

null

सरकार र दाताहरूको सहयोगमा हालै विद्यालयको गेट तथा रंगरोगन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेकवाल महतोले जनाए।  उनले भने, ‘सहयोग संकलन गरेर कक्षा कोठामा बालबालिका बस्ने वातावरण निर्माणका लागि रंगरोगन, शिक्षा सम्बन्धी आदर्श नारा उल्लेखित पेन्टिङ, पंखा जडान, शैक्षिक चित्रहरू बनाइएको छ। विद्यालयको प्रागणमा चौतारा निर्माण भइसकेको बताउँदै उनले भने, ‘मुलगेट निर्माण लगायतका कामका लागि बर्दिबास नगरपालिकाले अढाई लाख सहयोग गरेको थियो।’

‘विद्यालय मार्फत समाज एकता’

जनमुखी विद्यालयलाई आधारभूत तह(०-८)सम्मको नमूना स्कूलका रूपमा विकास गर्न शैक्षिक योजना बनाएर काम थालिएको शिक्षक संजित कुमार महतो बताउँछन्। उनले भने, ‘गुणस्तरिय शिक्षाका लागि हाम्रो विद्यालयमा अभिभावकले बच्चा भर्ना गर्ने पर्ने वातावरण तयार गर्छौं। त्यस अनुरूपको योजना बनाएका छौं।’

२०५३ सालमा यो विद्यालयको स्थापना भएको थियो।  तत्कालीन पशुपतिनगर गाविसका अध्यक्ष  नमुनि महतोले दुई कठ्ठा जग्गा दान गरेपछि फुसको छाप्रोबाट विद्यालय सुरु भएको थियो।

‘गाउँका दाताबाट काठ ,बाँस, टाली लगायतका सामग्री संकलन गरेर विद्यालयको लागि फुसको घर निर्माणपश्चात विद्यालयमा पठन–पाठन सुरुवात भएको थियो,’ दाता नथुनि महतोले भने, ‘ विद्यालयका तत्कालीन प्रधानाध्यापक हिरालाल महतोले बिना तलब विद्यालयमा योगदान पुर्‍याए। तर, सोचे जस्तो विद्यालयको विकास हुन सकेको थिए। अब लाग्छ यो विद्यालय प्रगतिको बाटोमा अघि बढेको छ।’

वि.सं. २०६४ सालमा विद्यालय व्यवस्थापन समिति गठन भई अध्यक्षमा संजय महतो आएपछि तत्कालिन शिक्षा कार्यालयबाट ट्रष्टको भवनहरू निर्माण गरेर कक्षा ५ सम्म कक्षा सञ्चालन हुँदै आएको थियो। 

null

किसान, मजदुर, भूमिहीन सुकुम्बासी, गरिब र दलितका समुदायका १३१ जना बालबालिका विद्यालयमा पढिरहेका छन्। शिक्षा पाउने नैसर्गिक अधिकारलाई सुनिश्चित गर्न समुदायको अगुवाइमा स्थापन भएको सो विद्यालयमा ८० प्रतिशत भन्दा बढी गरिबी रेखामुनि रहेका समुदायका बच्चाहरू पढ्छन्। कुशवाहा, मुसहर, चमार, यादव, मण्डल, ठाकुर, सुडी समुदायका बालबालिकाहरू मुख्य रूपमा विद्यालयमा पढ्दै आएका छन्।

अभियन्ता महतोका अनुसार विभिन्न जाती, धर्म, पार्टीमा समाज विभक्त छन्। सबैलाई जोड्ने मध्यमार्गीमार्ग विद्यालय रूपान्तरण अभियान हो। साहित्यकार, पत्रकार, समाजका अगुवाहरूलाई समाजले विश्वास गर्छन्। त्यसैले आफ्नो पत्रकारिता पेशाबाट माथि उठेर गाउँको विद्यालय रूपान्तरण र समाजलाई एकताबद्ध बनाउनका लागि अभियान चलाएको हो।

‘विद्यालय विकासका लागि बजेट दिन्छौं’ 

प्रोफेसर सन्त सत्यनारायण आलोकले अभिभावकले  सन्तानलाई जग्गाजमिन र ऋण लिएर पनि पढाउनुपर्ने बताए।  ‘एउटा बच्चामा देशको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, पत्रकार, वकिल, डाक्टर, कलाकार लगायतको पदहरूको सम्भावना हुन्छ,’ उनले भने, ‘त्यसै बच्चाको विकासका र उन्नती प्रगतिका लागि अरूभन्दा अभिभावक बढी गम्भीर र सरकार चनाखो हुनुपर्छ।’ पछिल्लो समय बच्चाहरू कूलतमा फस्दै गएकोले अभिभावकहरू गम्भीर हुनुपर्ने जोड दिए।

बर्दिबास नगरपालिका मेयर प्रह्लाद कुमार क्षेत्री र प्रदेश सभा सदस्य सारदा थापाले विद्यालय विकासमा स्थानीयहरू जुट्नु सुखद पक्ष रहेको बताए। 

विद्यालय विकासमा लागि आवश्यक सहयोगहरू आवश्यकतामा आधारमा उपलब्ध गराउने मेयर क्षेत्रीले प्रतिबद्धता जनाएका छन्। ‘पहुँचका आधारमा होइन आँखाले देखेको र भोगेको समस्याका आधारमा विद्यालय विकासका लागि बजेट दिन्छौं ,’ मेयर क्षेत्रीले भने, ‘सीमित स्रोत साधनबाट जनताको जनसमर्थन र दानबाट असीमित काम गर्न विद्यालयले बनाएको योजनामा हामी सहयोग गर्छौं।’ प्रदेश सभा सदस्य थापाले विद्यालयलाई नमूना बनाउनका आवश्यक सहयोगका लागि पहल गरिने आश्वासन दिएकी छन्। 

nullnullnullnullnullnullnull​​​​​​​


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.