नेप्से परिसूचकः १८१८ नै ‘तल्लो’ बिन्दु

उत्साहित सेयर बजार

नेप्से परिसूचकः १८१८ नै ‘तल्लो’ बिन्दु
सांकेतिक तस्बिर।

काठमाडौं : मौद्रिक नीति जारी भएको दिन अर्थात् गत साउन ७ यता निरन्तर ओरालो यात्रामा देखिएको नेप्से परिसूचक भदौ ३१ गतेसम्म २६२.२५ अंकले घटिसकेको थियो। आर्थिक वर्षको पहिलो त्रैमासिक पुँजी बजारको ‘उर्बर अवधि’ मानिन्छ। तर, यही बीचमा नेप्से कहीँ कतै सुध्रिने संकेत नदेखाउँदा लगानीकर्ता आजित भइसकेका थिए। बैंकलगायत केही कम्पनीले लाभांश घोषणा गर्दासमेत सेयरको मूल्य नबढ्नाले आजित भएका लगानीकर्ता माझ निराशा व्यापक थियो। बेला–बेलामा बढ्ने प्रयास पनि गथ्र्यो, तर भोलिपल्टै करेक्सन आएर जहाँको तहीँ आइपुग्थ्यो।

मौद्रिक नीतिमार्फत ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार घटाउँदा ६३ अंकले बढेर वर्षकै उच्च बिन्दु २२२७.१७ मा पुगेको सेयर बजारमा त्यसयता निरन्तर वितृष्णा देखियो। त्यसयता साउन २४, भदौ ६, २५ र २७ गतेमात्र बजारमा उल्लेख्य सुधार आएको थियो। तै पनि दोस्रो दिनसम्म उत्साहले निरन्तरता पाउन सकेको थिएन। सेयर धितो कर्जामा ‘१२ करोडको सीमा नहटेसम्म बजार बढ्दैन’ भन्ने भाष्य भित्रभित्रै सिर्जना भइरहेको थियो। दुई वर्षअघि नेप्सेले ऐतिहासिक ३१९८ अंकसम्म यात्रा तय गरेको अवधि पहिलो त्रैमास नै थियो। २०७७ भदौ २ गते यताको अवधिलाई जानकारले ‘बियरिस’ यात्रा भनेका छन्।

असोज महिना लागेसँगै बजारमा एकाएक उत्साह छायो। तीन कारोबार दिनमा नेप्से कुल ६५ अंकले उकालो लागेको छ। कारोबार रकममा पनि सुधार आउन थालेको छ। बिहीबार सवा ३ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ। राम्रा फन्डामेन्टल भएका र लाभांश घोषणा गरेका कम्पनीको मूल्य सस्तोमा पाउन थालेपछि नयाँ लगानीकर्ताले सेयर किन्न थालेका छन्।

बजारमा के उत्साह थियो ?

बैंकको ब्याजदर घट्ने संकेत मिलिसकेको थियो। जोखिम भार घटेपछि ५० लाखभन्दा साना सेयर धितो कर्जा विस्तारै बढ्न थालेको थियो। तर, यस्तो कर्जामा २ वर्षअघि लगाइएको १२ करोडको सीमा पूर्णरूपमा हट्न सकेको थिएन। लगानीकर्ताका लागि ‘१२ करोड’ नै किलकिले बनेको छ। 

यसैबीचमा सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच वान–टु–वान वार्ता भयो। र, सँगै बाहिरियो अर्थमन्त्रीले १२ करोडको सीमा हटाउन निर्देशन दिएको र गभर्नर पनि लचिलो भएको ‘शुभ खबर’। अहिले बैंकमा लगानीयोग्य रकम पर्याप्त छ। चौतर्फी दबाबका बीच राष्ट्र बैंक पनि लचिलो बन्न तयार भएको छ। 

लगानीकर्ता सक्रिया हुन थालेपछि कारोबार रकम बढ्नु उज्ज्वल भविष्यको संकेत पनि हो। नीतिगत कारणले बजारमा अल्झन आएकामा विस्तारै फकुवा हुँदै जाने विश्वास सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल गर्छन्। ‘लगानीकर्ताले लगानीयोग्य रकमको अभावले प्यानिक बनाएको थियो,’ उनले भने, ‘अब सहज हुन थालेको छ, १२ करोडको सीमा हट्दै छ, ठूला कर्जामा जोखिम भार पनि घट्नेछ।’ यिनै आधारमा सेयर बजारले उकालो यात्रा तय गर्नेमा फुल्लेल विश्वस्त छन्।

अर्थमन्त्री र राष्ट्र बैंकबीचको नियमित छलफलबाट बजारले फरक संकेत पाएको छ। बिहीबार नै बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले पनि २ साताभित्र वित्तीय क्षेत्र सुधारको कार्ययोजना तयार पार्ने निर्णय गरिसकेको छ।

सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल सेयर बजारमा केही दिनयता आएको बढोत्तरीले लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह भएको बताउँछन्। ‘नकारात्मक मात्र कुराको भरमा नकारात्मक नै प्रस्तुति दिने क्रमले पार पाएको छ। सम्बोधन हुन बाँकी भए पनि १२ करोडको क्याप हट्छ, ब्याजदर पनि घट्छ भन्ने विश्वास हाम्रो छ,’ उनले भने। उनका अनुसार पहिलो त्रैमास सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गर्ने अवधि हो। २ वर्षअघि नेप्से यही त्रैमासमै ऐतिहासिक उच्च बिन्दुमा पुगेको थियो। त्यसयता घटेको बजारले १८१८ को तल्लो बिन्दु छोएर फर्किसकेको मेरो विश्लेषण छ। सेयर बजारको उकालो यात्रा तय गरिरहेको छ।

नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल १२ को सीमा हटाउनुपर्ने बताउँछन्।  भन्छन्, ‘अहिले आएर अर्थमन्त्रीले पनि जसरी हुन्छ १२ को सीमा हटाउनु भन्ने किसिमको निर्देशन गभर्नरलाई दिनुभएको समाचारसँगै लगानीकर्तामा उत्साह छाएको छ। 

ब्याजदर घट्छ, १२ करोडको सीमा हट्छ, राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा गर्दा केही लचिलो बन्छ भन्ने विश्वासका साथ बजार बढिरहेको छ।’

४४ अंकले बढ्दा सवा ३ अर्बको कारोबार

साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ४४ अंकले बढेको छ। सोमबार ४.२६ र मंगलबार १६.२४ बढेको नेप्से बिहीबार ४४.३४ अंकले बढेको हो। नेप्से बढेसँगै बजारमा सवा ३ अर्बको कारोबार भएको छ।

नेप्से २०२९.७८ बिन्दुमा पुग्दा २७८ स्क्रिप्टको १ करोड १२ लाख ६४ हजार कित्ता सेयर ३ अर्ब २९ करोड ३९ लाख रुपैयाँमा खरिदबिक्री भएका छन्। बजारमा ४ कम्पनीको सेयर मूल्यमा सर्किट लाग्दा थप ७ कम्पनी सर्किट लेभलमा कारोबार भए। कारोबार रकम र संख्याका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार हुँदा सेयर संख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्षस्थानमा रह्यो।

कारोबारमा आएका १३ वटै समूहको उपसूचक बढेका छन्। जसमध्ये हाइड्रोपावर उपसमूहको सर्वाधिक ५.३१ प्रतिशतले उकालो लागेको छ। फाइनान्स समूहको ४.३८ प्रतिशत र डेभलपमेन्ट बैंकको ३.७७ प्रतिशतले बढेको छ। बिहीबार २१७ कम्पनीको मूल्य बढ्दा ११ को मूल्य घटे भने २ कम्पनीको मूल्य भने स्थिर रहे।

‘अर्थतन्त्र खत्तम छ भन्ने नकारात्मक सर्कुलर भयो’

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा समस्या रहेको तर ती समस्या विस्तारै कम हुँदै गएको बताएका छन्। महतले भने, ‘समस्या सम्बोधनका लागि सरकारले फेसिलेट गर्ने काममा कमी हुन दिने छैन। सरकारले अप्ठ्यारा हटाउँदै जानेछ, कतिपय हटिसकेका छन् घटिसकेका छन्।’

अर्थतन्त्रमा स्रोत आइरेको तर चलायमान नभएको भन्दै उनले थपे, ‘हातमा परेको पैसा कहाँ के गर्ने भन्ने असुरक्षाका कुरा व्यापक प्रवाह भइरहेको छ। खत्तम छ अर्थतन्त्र, अहिले खर्च गर्न ठीक समय होइन, लगानी नगरौं, बैंकहरूले लगानी नगरुन, पैसा थुपारुन, राखुन् भन्ने जुन नकारात्मक सर्कुलर छ, त्यसलाई हामीले अन्त्य गर्नुपर्छ।’

‘सेयर बजारको चुनौती मिलेर व्यवस्थापन गरौं’

अर्थ मन्त्रालयको सचिवमा डा. कृष्णहरी पुष्कर नियुक्त भएका छन्। नवनियुक्त सचिव पुष्करले बिहीबार अर्थसचिवको कार्यभार सम्हाले। सोक्रममा उनले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्रबाट अधिकतम प्रयास आवश्यक रहेको बताए। पुष्करका अनुसार अहिले आर्थिक स्थायित्व कायम गर्ने, राजस्व घाटा कम गर्ने, सार्वजनिक ऋणको व्यवस्थापन लगायतका विषय चुनौतीपूर्ण छन्। पुँजीबजारका बारेमा उनले भने, ‘पुँजीबजारका विषयमा सबै सरोकारवाला मिलेर चुनौती व्यवस्थापन गर्नुपर्ने अवस्था छ।’

आफूलाई अर्थतन्त्रको विषम परिस्थितिमा धेरै चुनौतीका अगाडि सरकारले अर्थ सचिवको जिम्मेवारी दिएको भन्दै उनले यो निकै संवेदनशीलताका साथ मनन गरेको बताए।

दुई साताभित्र वित्तीय क्षेत्र सुधार कार्ययोजना

वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई साताभित्र पेस गर्न सम्बन्धित नियामक निकायलाई निर्देशन दिएको छ। समितिको बैठकले विभिन्न प्रकारका कानुनी व्यवस्था सुधारका लागि पहल गर्ने निर्णय गरेको हो।

समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन र नेपाल धितोपत्र बोर्डसम्बन्धी ऐन संशोधनको प्रक्रियालाई शीघ्रता दिने निर्णय गरेको छ। त्यस्तै, डिजिटल बैंक स्थापना गर्नेसम्बन्धी विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन गर्ने निर्णय भएको छ। सहुलियतपूर्ण कर्जा कार्यक्रमको प्रभावकारिताका सम्बन्धमा अध्ययन प्रतिवेदनलाई आधार मानी पुनरावलोकन गर्ने, विप्रेषणलाई औपचारिक माध्यमबाट भिœयाउन प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने तथा रेमिट्यान्स बन्ड जारी गर्न कानुनी व्यवस्था र कार्ययोजना तयार पार्ने निर्णय भएको छ। वित्तीय मध्यस्थता लागत कम गर्ने सम्बन्धमा गर्नुपर्ने सुधारको विषयमा सम्बन्धित निकायले नीति एवं कार्यविधि तर्जुमा प्रक्रिया तत्काल अगाडि बढाउने निर्णय पनि समितिले गरेको छ। त्यसैगरी, वित्तीय क्षेत्र, पुँजी बजार र बिमा क्षेत्रको गतिविधि एवं नियमनलाई थप प्रभावकारी बनाउने र समन्वयात्मक तरिकाले काम गर्ने निर्णय भएको अर्थ मन्त्रालयको भनाइ छ। नियामकको क्षमता अभिवृद्धि गर्ने कामलाई सम्बन्धित संस्थाले तदारुकताका साथ अगाडि बढाउने निर्णय भएको पनि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.